एसियन पारामा ४ खेलाडीले भाग लिने

काठमाडौं । एसियन युथ पारा गेम्समा नेपालबाट दुई खेलका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। बहराइनमा आयोजना हुन लागेको एसियन युथ पारा गेम्समा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो । नेपालबाट पारा तेक्वान्दो र पारा ब्याडमिन्टनका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पारा तेक्वोन्दोबाट पलेशा गोवर्द्धन श्रेष्ठ, सिर्जना घिसिङ र विशाल गर्वुजाले प्रतिस्पर्धा गर्नेछन् । यता, पारा ब्याडमिन्टनबाट प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।

एसियन युथ पारा गेम्स २ देखि ८ डिसेम्बरसम्म बहराइनको मानामा शहरमा आयोजना हुँदैछ । बहराइन जाने ४ खेलाडीसहित ६ सदस्यीय टोलीलाई शुक्रबार युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष नन्दकुमार राईलगायतले बिदाइ गरे । पारा तेक्वान्दोको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।

पलेशाले के ४४ को ५७ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन्। सिर्जनाले के ४४ को ५२ केजीमुनि तथा विशालले के ४४ को ५८ केजीमुनि खेल्नेछन् । ब्याडमिन्टनका प्रकाशले एसएल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षक लामासहित सिर्जना र विशाल गर्वुजा आज (शुक्रबार) साँझ तथा टोली नेता नन्दा बस्याल, पलेशा र प्रकाश शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया