इलाम कांग्रेसमा सभापतिका लागि आचार्य र खड्काको प्रतिष्पर्धा

इलाम । नेपाली कांग्रेस इलामको नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन हुँदैछ । चोकबजारमा अधिवेशनको उद्घाटन पश्चात महेन्द्र रत्न बहुमुखी क्याम्पसमा मतदानको कार्यक्रम तय भएको छ । नेतृत्वमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो । सभापतिसहित, उपसभापति, सचिव, सहसचिव र कार्यसमिति सदस्यमा समेत निर्वाचन हुँदैछ । यसपटकको निर्वाचनमा भने एकैपटकमा नतिजा आउने निश्चित भएको छ । सभापति पदमा दुई जनाको मात्र मनोनयन दर्ता भएपछि एकैपटकमा नतिजा आउने निश्चित भएको हो । कांग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ । विगतमा तीन वा सो भन्दा धेरै उम्मेद्वार हुने भएकाले दोस्रो चरणको निर्वाचनमा मात्र नतिजा आउने गरेको थियो । तर यसपटक अन्तिम समयमा वर्तमान सभापति हिमालय कर्माचार्य र पूर्व सभापति पदमा केशव थापाले मनोनयन दर्ता नगरेपछि दुईजनाबीच मात्र प्रतिष्पर्धा हुँदैछ ।

यसपटक सभापति पदका लागि भेषराज आचार्य र डम्बर खड्काबीच प्रतिष्पर्धा हुँदैछ । विगत लामो समयदेखि तामाझामका समापति पदमा उम्मेद्वारी घोषणा गरेर वडादेखि क्षेत्रीय अधिवेशनसम्म नै आआफनो प्यानल बनाएर लागेका कर्माचार्य र थापाले नतिजा आफ्नो पक्षमा नआउने प्रष्ट भएपछि सभापतिबाट पछि हटेका हुन् । तर वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनमा आफ्नो प्यानलको पक्षमा नतिजा निकाल्न सफल आचार्य र दोस्रो स्थानमा नतिजा निकाल्न सफल खड्काबीच प्रतिष्पर्धा हुन लागेको हो ।

आचार्यको प्यानलले बहुमत वडामा, १० मध्ये ५ पालिका, ४ मध्ये ३ प्रदेश निर्वाचन क्षेत्रमा र दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विजयी भएर आफ्नो पडक देखाएका छन् । खड्काको प्यानलबाट २ पालिका र १ प्रदेश निर्वाचन क्षेत्रमा विजयी भए । कर्माचार्यको प्यानलबाट २ पालिका र थापाको प्यानलबाट १ मात्र पालिकामा जित निकाल्न सफल भएका थिए । यसरी हेर्दा जिल्ला सभापतिमा समेत आचार्यको जित हुने अनुमान गर्न सकिन्छ । तर संस्थापन इतरका कर्माचार्य र संस्थापन पक्षाका थापाको समर्थन कसलाई हुन्छ भन्ने कुराले नतिजामा प्रभाव पार्ने निश्चित छ ।

सभापति पदका उम्मेद्वार आचार्य संस्थापन इतरका नेता हुन् भने खड्का संस्थापन पक्षका नेता हुन् । बौद्धिक नेताको छवि बनाएका आचार्य र समाजसेवी नेताको छवि बनाएका खड्कामध्ये कसले बाजी मार्ला भन्ने विषयमा जिल्लाबासीमा चासो बढेको छ । स्वयम् कांग्रेसका नेता कार्यकर्ताहरुले समेत विभिन्न अड्कलबाजी गर्ने गरेका छन् । केन्द्रीय गुटअनुसार कर्माचार्य समूहले आचार्यलाई समर्थन गरे आचार्यको जित हुने धेरैको अनुमान छ । सो समूहले आचार्यलाई नै समर्थन गर्ने वा नगर्ने निश्चित छैन । उता थापा समूहले भने खड्कालाई समर्थन गर्ने पक्का भइसकेको छ । यदि कर्माचार्यले समेत खड्कालाई समर्थन गरे खड्काको जित हुनसक्ने अनुमान छ ।

कर्माचार्य र थापाले आफू सकेसम्म नेतृत्व हत्याउने र नसक्ने अवस्था आए आफूअनुकुल अर्को गुटलाई सुम्पने कार्यशैली देखिएको छ । वर्तमान सभापति र पूर्व सभापतिको यस्तो कार्यशैलीले तल्लो तहका नेता कार्यकर्तालाई निरास बनाएको छ । कर्माचार्य र थापा निकटकाहरुले नै नेताले मुख जोडाउँदैमा सहमती हुने र बङ्ग्याउँदैमा असहमति नहुने प्रतिक्रिया दिन थालेका छन् । अधिवेशनमा अन्य पदाधिकारीमा समेत प्यानलअनुसार नै मनोनयन दर्ता भएको छ । दुई उपसभापति पदका लागि चार जना चुनावी मैदानमा छन् । आचार्यको प्यानलबाट खगेन्द्र देवान र बिष्णुकुमारी लिम्बू दाहाल चुनावी मैदानमा छन् । कर्माचार्य प्यानलबाट केदार थापा र खड्का–थापा प्यानलबाट होमप्रसाद दुलाल चुनावी मैदानमा छन् ।

दुई सचिव पदका लागि चार जना चुनावी मैदानमा छन् । आचार्यको प्यानलबाट पूर्णप्रसाद गौतम र विष्णु हेमकुमार कार्की चुनावी मैदानमा छन् । कर्माचार्य प्यानलबाट वर्तमान सचिव निरोज खड्की र हुकुमलाल थेवे तथा थापा–खड्का प्यानलबाट दीपक त्रिखत्री चुनावी मैदानमा छन् । त्यस्तै २ सहसचिव पदका लागि समेत चार जनाबीच नै प्रतिष्पर्धा हुँदैछ । सहसचिव पदमा आचार्य प्यानलबाट चक्र येक्तेन (अभिषेक), खड्का प्यानलबाट प्रविना राई, कर्माचार्य प्यानलबाट देवेन्द्रकुमार सुवेदी र डालाकुमारी कार्की चुनावी मैदानमा छन् । कार्यसमिति सदस्य पदमा समेत चारै प्यानलबाट मनोनयन दर्ता भएको छ । मतगणना शुक्रबार साँझदेखि हुने र शनिबार विहासम्ममा अन्तिम परिणाम समेत सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया