बहसमा मानवतावाद

काठमाडौं । अन्तर्राष्ट्रिय दर्शन दिवसको अवसर पारेर ‘वर्तमान सन्दर्भमा मानवतावादको महत्व’ विषयक विचार–गोष्ठी तथा कृति विमर्श कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल हिमवत् खण्डमा रहेको र यसको गरिमालाई विश्वका विद्वानले राम्ररी बुझेर लेखे पनि व्याख्याचाहिँ भारतीय दर्शन भनेर गरिने गरेको जिकिर गरे । उनले भने, ‘हाम्रो दर्शनसम्बधी पहिचान विश्वलाई चिनाउनका लागि हामी आफैँले केही नगरी हुन्न । अरुले त एसिया र दक्षिण एसियामात्र भनिदिन्छ । हाम्रा आदिवासी पुर्खाहरूले प्रतिपादन गरेका, प्रवद्र्धन गरेका दर्शन नेपाल राष्ट्रसँग जोडिएका छन् ।’ उनले नेपाली दर्शनहरूको अध्ययन, अनुसन्धान, संरक्षण र प्रवद्र्धनका लागि प्रज्ञा–प्रतिष्ठानले दर्शनशास्त्र विभाग नै खडा गरेर काम गरिरहेको जनाए । कुलपति उप्रेतीले भने, ‘नेपालका दर्शनहरू के–के हुन् ? तिनको खोज–अन्वेषण र प्रवद्र्धनका निम्ति दर्शनशास्त्र विभागले निरन्तर कार्य गरिरहेको छ । यसमा विभिन्न विद्वान संलग्न हुनुहुन्छ । नेपाली दर्शनको उद्गमस्थल नेपालमा नेपाली दर्शनको खोजी गर्ने धेरै महत्वपूर्ण काम यस विभागबाट भइरहेको छ । यी कार्य नेपालकै गौरव हुन् ।’ उनले नेपाल मानवतावादी दर्शनको उद्गमस्थल भएको उल्लेख गर्दै वर्तमान सन्दर्भमा मानवतावादी दर्शनको महत्वमाथि केन्द्रित रहेर कार्यक्रम आयोजना गरिएको विचार व्यक्त गरे ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका सदस्य सचिव तथा दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले सन् २००२ बाट युनेस्कोले अन्तर्राष्ट्रिय दर्शन दिवस मनाउने घोषणा गरेको र संयुक्त राष्ट्रसंघको महासभाले २००५ मा निर्णय गरेपछि यो दिवस मनाउन थालिएको जनाए । उनले भने, ‘विश्वमा दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान गरेका दार्शनिकको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय दर्शन दिवस मनाउने परम्परा बसालिएको हो ।’ सदस्य सचिव उपाध्यायले अहिलेको समाज धनको प्रभाव र धनको अभावमा रहेको उल्लेख गर्दै युद्ध, आन्तरिक द्वन्द्व, रङ विभेद र जाति विभेद कायमै रहेकाले मानवतावादी दर्शनको महत्व अझ धेरै रहेको विचार व्यक्त गरे । उनले भने, ‘अहिलेको विश्वमा मानवतावादी दर्शनको विशिष्ट महत्व रहेको छ ।’

‘वर्तमान सन्दर्भमा मानवतावादी दर्शनको महत्व’ विषयमा प्रज्ञा–प्रतिष्ठानका मानार्थ प्राज्ञ तथा दर्शनशास्त्री प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रले प्रवचन दिएका थिए । सो अवसरमा उनले भने, ‘आजको युग न साम्यवाद हो, न समाजवाद । यो मानवतावादको युग हो ।’ उनले आफूले कान्तिपुर दैनिकमा निर्वाचनसम्बन्धी लेख लेख्न थालको सुनाउँदै आफ्नो विचारलाई सही बनाउन दर्शनले मद्दत गर्ने जिकिर गरे । मिश्रले थपे, ‘दर्शनशास्त्रको विषयले बेरोजगारी बढाउँछ भन्थे तर आफ्नो विचार दिन लेख दिन थालेँ । आफ्नो विचारलाई सही बनाऊँ । व्यक्तिको अभिष्टको पूर्ति गर्न मलाई दबाब थियो । पाकिस्तानकी बालिका मलालाले चुनौती दिइन्, समाजको परिवर्तनका लागि । युरोपकी महिलो जो आज हराइरहेको छ कि विश्व वातावरण खतरामा छ भनिरहिन् । यो मानवको विकासका लागि उसले अवसर पाउनुपर्छ । आफ्नो भाग्यरेखा कोर्ने, जीवनको अस्तित्व बचाउने वातावरण चाहियो । डेमोक्रेसी चाहियो । मानवतावादको मोटिभेसन करुणा हो । क्षमता छ तर अवसर पाएको छैन । अमूर्तिकरण सिद्धान्त होइन ।’

उनले मुलुकलाई आकार दिनका लागि मानवतावाद चाहिने बताउँदै भने, ‘मूर्तिकारले जब मूर्ति बनाउँछ र आकार दिन्छ । भानुभक्त आचार्य, कालिदासलाई आकार दिने, पूर्णता दिने नै मानवतावाद हो । हामीले ज्ञानविज्ञानको आधारमा सोच्नुपर्छ । हामी पनि बाँच्नुपर्छ र प्रकृतिलाई बचाउनु पर्छ । मानिसमा साहस, ज्ञान र धैर्य जोडिन्छ । मानवलाई पूर्णरुपमा सशक्तिकरण गर्ने काम मानवतावादले गर्ने हो ।’

कार्यक्रममा प्रतिष्ठानका सामाजिक शास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तले वर्तमान परिप्रेक्षमा मानवतावादको विशेष महत्व रहेको उल्लेख गरे । उनले हाम्रा पितापुर्खाको विरासत थाम्नै मुस्किल भइरहेको उल्लेख गर्दै हाम्रा ग्रन्थहरूमा पनि मानवतावादका बिजहरू पाइने बताए । पूर्व मेचीदेखि कालीसम्म हाम्रो हो, तर दर्शनको सीमा फराकिलो छ । हाम्रा चिजमा अरुले अधिकार जमाएका छन् । हाम्रो अध्ययन, अनुसन्धान कम भएकाले अरुको हात लम्किएको छ तर, अब त्यसो गर्न दिनुहुन्न ।’

कार्यक्रममा कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित तथा गोपीरमण उपाध्यायद्वारा लिखित ‘वैदिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलनात्मक अध्ययन’, समीर सिंहद्वारा लिखित ‘सांख्य दर्शन र माक्र्सवाद’ तथा प्रा. जगत्प्रसाद उपाध्याय र विष्णु प्रभातद्वारा सम्पादित ‘दर्शनावली’ भाग–८ का साथै प्राज्ञ परिषद् सदस्य प्रा.डा. उषा ठाकुरद्वारा लिखित तथा डा. रामभक्त ठाकुरद्वारा प्रकाशित ‘नेपाली साहित्य सर्वेक्षण र समीक्षा’ नामक पुस्तकको विमोचनसमेत गरे । विमोचित पुस्तकमाथि विष्णु प्रभात र त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख वेदराज ज्ञवालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्राज्ञ सभासदस्य शशी लुमुम्बूले गरेका थिए ।

प्रतिक्रिया