राप्रपा महाधिवेशन : राजेन्द्र र धवलमा टिकेको आश

काठमाडौं । राप्रपालाई ‘पुस्तानान्तरण गर्छु’ भन्दै पार्टीका एकमात्र सांसद राजेन्द्र लिङ्देन पनि पार्टी अध्यक्षमा उमेदवारी दिने घोषणा नै गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरेरै पार्टी अध्यक्षमा उठ्ने घोषणा गरेका उनले अब पनि राप्रपा अध्यक्षत्रयको हातमा गए प्रजापरिषद् बन्ने बताए । लिङ्देनलाई पार्टीका पूर्वमहामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले साथ दिएका छन् । राणाको प्रस्तावमा लिङ्देन पार्टी अध्यक्षमा उठ्ने पक्का भएको छ । यस्तै, राणा आफूले भने महामन्त्रीमा लड्ने बताएका छन् ।

अध्यक्ष पदमा उमेदवारी घोषणा गर्दै नेता लिङ्देनले पार्टीले एजेन्डा भुलेर स्वार्थलिप्त हुँदा जनताले आफूहरूलाई विश्वास नगरेको बताए । समयले खोजेको नेतृत्वको परिवर्तनले मात्र पार्टीमा ऊर्जा आउने उनको बुझाइ छ । राप्रपा अध्यक्षत्रयको कब्जाले दुब्लो भएकाले ३ प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न नसक्नुले पनि अब नेतृत्व परिवर्तन हुन जरुरी रहेको उनको तर्क छ ।

राप्रपाका संस्थापक नेता केशरबहादुर विष्ट पार्टीमा राजेन्द्र र धवलले नेतृत्व परिवर्तनका लागि गरेको विद्रोहको सम्मान गर्छन् । तर, उनीहरू नयाँ पुस्ताको इमान्दार र प्रभावशाली नेता भएपनि पार्टीको एजेन्डा स्थापित गर्न यी दुईलाई सहज भने नभएको उनको टिप्पणी छ । ‘एजेन्डा सफल गराउने हो भने उहाँहरूले यो संविधान च्यात्न सक्नुपर्छ । तर, उहाँहरू यही संविधान मान्छु भनेर हिँड्नुभएको छ । यो संविधान च्यात्न त कसरी सक्नुहुन्छ र ?,’ उनको भनाइ थियो ।

गणतान्त्रिक व्यवस्थाको जगमा बनेको पार्टी राप्रपाले ‘राजा ल्याउँछु र धर्म निरपेक्ष खारेज गर्छु’ भन्नु उडन्ते कुरा भएको बिष्ट बताउँछन् । ‘यही संविधान मानेपछि कानुनप्रति इमान्दार हुनुपर्छ त्यसकारण उहाँहरूले दायाँबायाँ गर्नुको तुक छैन,’ बिष्टले भने । तर, महामन्त्रीका उम्मेदवार राणा भने राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्रको ब्युँत्याउँदै विश्वको एकमात्र हिन्दुराज्य बनाउने अभियान र संघीयता खारेजी लगायतका महत्वपूर्ण एजेन्डालाई स्थापित गरेरै छाड्ने बताउँछन् ।

हजारौँ संख्यामा युवाहरू सडकमा राजा र हिन्दुराज्यको पक्षमा उभिएको भन्दै उनी त्यसको नेतृत्व आफूहरूले गर्नुपर्ने तर्क गर्छन् । ‘परिवर्तन भोटको माध्यमबाट मात्र गर्न सक्छौँ । हामीसँग अर्को उपाय छैन, नेतृत्व परिवर्तन गर्ने समय यही हो । पछि कराएर सम्भव पनि छैन । त्यसकारण देश र पार्टी बचाउने हो भने अब नेतृत्व परिवर्तन नगरी सुख छैन,’ उनी भन्छन् ।

राप्रपा परित्याग गरेका एक नेता राजेन्द्र र धवललाई पूर्वराजा ज्ञानेन्द्र शाहको बलियो साथ भएकाले पनि उनीहरूले जित्नसक्ने आकलन गर्छन् । पूर्वराजा अध्यक्षत्रयबाट आजित भएकाले पनि त्यसको फाइदा यी दुइलाई पुग्ने उनको विश्लेषण छ । अब पार्टी जोगिन्छ भने नेतृत्व पुस्तानान्तरणले मात्र सम्भव भएको ती नेताको बुझाइ छ । ‘निर्मलनिवासको बलियो साथ उनीहरूलाई छ । किन पनि भने कमल थापाले राजाको विश्वासमा पटक पटक धोका दिएका छन्,’ ती नेताले भने, ‘अब यी दुई पार्टीमा नआउने हो भने हेर्नुहोला राप्रपा अहिलेको भन्दा खत्तम अवस्थामा पुग्छ ।’

प्रतिक्रिया