सर्वोच्चमा १५ गतेबाट गोलाप्रथा

काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेबाट गोलाप्रथाबाट इजलास गठन र पेशी तोक्ने व्यवस्था लागू हुने भएको छ । बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी बुधबारदेखि लागू गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देबेन्द्र ढकालले जानकारी दिए । यसअघि मंगलबार न्यायाधीशहरुले नै बुधबार फुलकोर्ट बोलाउने र १५ गतेबाट गोलाप्रथा मार्फत पेशी तोक्ने सहमति गरेका थिए । उक्त सहमति फुलकोर्टबाट पारित भएको हो ।

फुलकोर्ट बैठकमा प्रधानन्यायाधीशलाई भने सहभागी गराइएन । उनले न्यायाधीशहरुले गरेका निर्णयमा पछि हस्ताक्षर गरेका हुन् । यसअघि पेशीसम्बन्धी निर्देशिका र सर्वोच्च अदालत नियमावली संशोधन गर्ने निर्णय गर्दा पनि राणालाई सहभागी गराइएको थिएन । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले सर्वोच्च अदालतमा देखिएको बेथिति अन्त्यका लागि गोलाप्रथा तत्काल लागू गर्न सुझाव दिएको थियो । स्वचालित प्रणालि लागू गर्न सुझाव दिए पनि त्यसका लागि समय लाग्ने भएपछि तत्काल गोलाप्रथा सुरु गरिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरुले इजलास नै बहिस्कार गरेका थिए । अहिले पनि सबैखालका मुद्दामा भने सुनुवाइ भएको छैन । गोलाप्रथाबाट पेशी तोक्न थालेपछि मात्रै सबै मुद्दा हेर्ने न्यायाधीशहरुको सहमति छ । यतिबेलासम्म बन्दिप्रत्यक्षीकरण, मुद्दा फिर्ता, फैसला तथा आदेश संशोधन, निवेदन फिर्ता लगायतका रिट निवेदनमा मात्रै सुनुवाइ भइरहेको छ ।

प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा आफूखुशी गरेको र न्यायालयको बदनाम गरेको भन्दै न्यायाधीशहरुले नै उनलाई बहिस्कार गरेका हुन् ।
सहकर्मी न्यायाधीशले नै बहिस्कार गरेपछि राणा झण्डै दुई सातादेखि इजलासमा बस्न सकेका छैनन् । त्यसअघि एकल इजलासबाट मुद्दाको सुनुवाइ गरेका प्रधानन्यायाधीश अरु इजलास फर्किएपछि आफ्नो बेन्च राखेका छैनन् । न्यायाधीशहरुले गोलाप्रथा सुरु भएपनि प्रधानन्यायाधीश राणासँग बेन्च शेयर नगर्ने अडान भने कामय राखेका छन् । कानुन व्यवसायीले भने राणाको राजीनामा माग गर्दै आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रिया