डेमोक्रेटिक एग्रिकल्चरिष्ट एसोसियसनमा नयाँ कार्यसमिति

काठमाडौं । डेमोक्रेटिक एग्रिकल्चरिष्ट एसोसियसन नेपाल (डान)को चौथो साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाका अध्यक्ष डा. सूर्यप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले कौशलकुमार पौडेललाई सभापति चयन गर्दै २५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाएको छ । कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

डानको प्रथम उपसभापतिमा यादव पद्धयोती, द्वितीय उपसभापतिमा डा. कृष्णप्रसाद तिम्सिना र महासचिवमा मनीता थापा निर्वाचित भएका छन् भने सचिवमा डा. चन्द्र ढकाल र रोशन अधिकारी रहेका छन् । कोषाध्यक्षमा सोमाकुमारी राना तथा सदस्यहरूमा सुदीपकुमार दाहाल, रामहरि तिमिल्सिना, डा. अमित तिमिल्सिना, डा. सरोज चौधरी, सन्तोष खनाल र सरोज रेग्मी रहेका छन् ।

प्रदेश संयोजकको रूपमा प्रदेश नम्बर–१ बाट डा. सञ्जयकुमार यादव, प्रदेश नम्बर–२ बाट डा. शिवनाथ महतो, वाग्मती प्रदेशबाट झलकनाथ कँडेल, गण्डकी प्रदेशबाट कुलप्रसाद तिवारी, लुम्बिनी प्रदेशबाट नवराज भण्डारी, कर्णाली प्रदेशबाट रविन धिताल र सुदूरपश्चिम प्रदेशबाट गोविन्दराज जोशी निर्विरोध निर्वाचित भएका छन् ।

डेमोक्रेटिक एग्रिकल्चरिष्ट एसोसिएसन नेपाल (डान) लोकतन्त्रमा आस्था राख्ने कृषिविज्ञहरूको संगठन हो । यस संस्था विशेषतः कृषि विज्ञान, पशु विज्ञान, खाद्य प्रविधि र ग्रामीण विकाससँग सम्बन्धित अध्ययन, अनुसन्धान, अभ्यास र अनुभवमा आधारित प्राज्ञिक तथा नीतिगत बहस एवं संवाद गरी सशक्त र विश्वसनीय पोलिसी थिंक ट्यांकको रूपमा क्रियाशील छ । डानले कृषि क्षेत्रमा क्रियाशील लोकतान्त्रिक विज्ञहरूलाई गोलबद्ध गरी नेपालको राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

कृषि क्षेत्रलाई उत्पादनशील, व्यावसायिक, सम्मानजनक तथा रोजगारमूलक बनाई गरिबी निवारण, खाद्य तथा पोषण सुरक्षा, स्वरोजगार प्रवर्द्धन तथा औद्योगिक विकासका माध्यमबाट दिगो एवं बृहत्तर आर्थिक विकासको राष्ट्रिय लक्ष्य हासिल गर्न कृषि विकासका प्रयासहरूलाई अझ बढी प्रभावकारी एवं समयसापेक्ष बनाउँदै आम नेपाली कृषक तथा उद्यमीहरूको हित प्रवर्द्धनमा टेवा दिई देशको समग्र विकासमा थप योगदान पुर्‍याउने अठोट हित कार्य गरिरहेको डानले जनाएको छ ।

प्रतिक्रिया