शिक्षा पद्धतिमाथि झटारो

काठमाडौं । ‘कखरा’ पुस्तकको शीर्षक नै यस्तो भएपछि स्वभाविक रुपमा लाग्छ पुस्तक बच्चाहरुका लागि होला । सिकाइ समूहले हालै बजारमा ल्याएको पुस्तक कखरा अनुमान गरिएजस्तो हलुका रहेनछ । यो त विद्यार्थीको समस्याको पोको रहेछ ! त्यतिमात्रै होइन परिवार, समाज र देशको शिक्षा पद्धतिको कुरुप अनुहार, चित्कार, रोदन, आँशु सँगालेर बनाएको बडेमानको भारी पो रहेछ ! लेखक हरिहर तिम्सिना एउटा आवासीय विद्यालयका शिक्षक भएर पनि होला पुस्तक ‘होस्टेल’ मा बढी केन्द्रित छ । तर उनले यहीँबाटै अभिभावकको पेलान्, विद्यार्थीको मनोदशा, हाम्रो शिक्षा पद्धतिजस्ता कुरालाई छर्लंग देखाउने कोशिस गरेका छन्, आफ्नो उपन्यास ‘कखरा’ मा ।

पुस्तक पढ्दै जाँदा आफ्नै वरपरका कथा पढेजस्तो भान हुन्छ । लेखकले कुनै कुरा आफै भनेका छैनन्, विद्यार्थीको मुखबाट भन्न लगाएका छन् । कथा सलल बगेको छ नदीजस्तै । मुख्य रुपमा शिक्षाको प्रयोजन हुन्छ जीवनलाई बुझ्नु र बुझाईलाई तिखार्नु । तर, हाम्रा अभिभावक भने पाठ्यक्रमभन्दा बाहिरको अध्ययनलाई पढाई नै मान्न तयार छैनन् । यसले गर्दा विद्यार्थी अफ्नो रुचिभन्दा नि अभिभावकका लागि पढिदिन अभिशप्त छन् ।

…एकछिनपछि किताब पढिरहेको ठाउँमा बा आए । सफलको हातमा ‘नीला डलफिनहरूको टापु’ नाम गरेको किताब थियो । उनले किताब थुतेर भुइँमा फ्याँकिदिए । उनी बडबडाउन थाले । ‘तँलाई मैले यस्तै किताब पढ् भनेको हो ? यो जाँचमा आउँछ ? यस्ता चाहिया नचाहिया किताब नपढ् भनेको होइन ?’ कोर्सका किताब पढेकोलाई मात्रै पढाइ मान्ने हाम्रा अभिभावकको मानसिकता बोलेको छ यो पंक्तिले ।

लेखक

अभिभावक मात्रै शिक्षक पनि उही ड्याङका मुला हुन् भन्ने प्रसंगलाई समेत छुटाइएको छैन । भोलिपल्ट स्कुलमा पहिलो पिरियडमा डाँका सरले होमवर्क मागे । सफलले देखाउन सकेन । गरेको भए पो देखाओस् । डाँका सरको बानी खतराको थियो । गृहकार्य नगर्नेलाई, कक्षामा आफ्नो अनुमतिविना बोल्नेलाई, यताउति चल्ने र हाँस्नेलाई उनी एउटै खालको सजाय दिन्थे । त्यस्ता विद्यार्थीलाई अगाडि बोलाएर गालामा एक चड्कन मात्रै हान्थे । तर यसरी हान्थे कि कुटाइ खानेको तुरुक्क पिसाब आउँथ्यो ।’ भन्नलाई सबैले बालबालिकालाई सजाय दिनुहुन्न भन्छन् । अभिभावकसित कुरा गर्दा शिक्षकहरू हाम्रा विद्यार्थीलाई हामी मायालु वातावरणमा पढाउँछौँ भन्छन् तर, रिस उठेका बेलामा तिनको मायालु वातावरणको मुखुण्डो उतारिएको हुन्थ्यो ।

पुस्तकमा पारिवारिक विखण्डन, धनी अनि बेफुर्सदी बाबुआमाको मानसिकता कलिला तथा किशोर पात्रहरूमार्फत उजागार भएको छ । पात्र काल्पनिक हुँदाहुँदै पनि वास्तविक देखिन्छन् अनि बनावटी कथा पनि आफनै परिवेशसँग मिल्ने यथार्थ लाग्छन् । विद्यार्थीको संस्मरणलाई उपन्यासको ढाँचामा उतारेर तिमल्सिनाले आफ्नै अनुभवलाई पस्किएजस्तो लाग्छ । आफै शिक्षक भएर पनि अहिलेको शिक्षा पद्धतिसँग लेखक सहमत छैनन् भन्ने प्रष्ट सन्देश दिएका छन् । एक हिसाबले लेखकले आफूभित्रको उकुसमुकुसलाई उपन्यासमार्फत निकास दिएका छन् ।
कृति : कखरा
लेखक : हरिहर तिमिल्सिना
प्रकाशकः सिकाइ समूह
पृष्ठ : ३२८
मूल्य : ४८० रुपैयाँ

प्रतिक्रिया