सानिया मिर्जाको छोरा अस्वस्थ्य

इस्लामावाद । पाकिस्तानका अनुभवी अलराउन्डर शोएब मलिक आफ्नो छोरा बिरामी भएका कारण सोमबार बंगलादेशविरुद्ध तेस्रो र अन्तिम टी२० अन्तर्राष्ट्रिय खेलमा उत्रिन सकेनन् । शोएब मलिकको साटो इफ्तिखार अहमदलाई प्लेइङ इलेभेनमा समावेश गरिएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले शोएब मलिकको विषयमा जानकारी दिएको छ । शोएबले भारतीय टेनिस स्टार सानिया मिर्जासँग विवाह गरेका छन् । अप्रिल सन् २०१० मा हैदराबादमा एक पारम्परिक समारोहमा शोएब र सानिया विवाह बन्धनमा बाँधिएका थिए । विवाहको १० वर्षपछि उनीहरुका छोरा इजहानको जन्म भएको थियो ।

पीसीबीको तर्फबाट जारी बयानमा भनिएको छ, ‘शोएब मलिक आफ्नो छोरा बिरामी भएका कारण सोमबार बंगलादेशविरुद्ध तेस्रो र अन्तिम टी२० म्याच खेल्न पाउने छैनन् र उनी म्याच अघि दुबईका लागि प्रस्थान गर्नेछन् ।’ टी२० विश्वकप सन् २०२१ मा पाकिस्तान टीमको सेमिफाइनलसम्म यात्रामा शोएब मलिकको पनि महत्वपूर्ण भूमिका छ । मलिकले न्यूजिल्याण्ड एवं अफगानिस्तानविरुद्ध खेलमा उपयोगी योगदान दिएका थिए ।

त्यसपछि स्कटल्याण्डविरुद्ध अन्तिम लीग प्रतिस्पर्धामा १८ बलमा अर्धशतक बनाए । हालको टी२० सिरिजमा मलिकले पहिलो प्रतिस्पर्धामा ब्याटिङको मौका पाएका थिए, जहाँ उनले आफ्नो खाता खोल्न सकेका थिएनन् । टी२० सिरिजको समाप्तिपछि पाकिस्तान र बंगलादेश विश्व टेस्ट च्याम्पियनशीपअन्तर्गत दुई म्याच खेल्नेछन् । यो सिरिजको पहिलो टेस्ट चटगांव (शुक्रबारदेखि), जबकी दोस्रो टेस्ट ढाका (चारदेखि आठ डिसेम्बर) मा खेलिनेछ ।

प्रतिक्रिया