राजनीतिप्रति वितृष्णा बढ्दो

मुलुकका प्रमुख राजनीतिक पार्टीहरू यतिबेला महाधिवेशनको संघारमा छन् । प्रमुख प्रतिपक्षको भूमिकामा रहेको सबैभन्दा ठूलो पार्टी नेकपा एमालेको १०औं महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हु“दैछ । महाधिवेशनका लागि सम्पूर्ण पूर्वतयारी पूरा भएको एमालेले जनाएको छ । सत्ताको नेतृत्व गरेको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २६ देखि २६ गतेसम्म काठमाडौंमा हुँदै छ । कांग्रेसले महाधिवेशनको पूर्वतयारीको सम्पूर्ण काम यही मंसिर १७ गतेभित्र हुने जनाएको छ । वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सकेर नेपाली कांग्रेस जिल्ला अधिवेशनको चरणमा छ ।

प्रतिनिधिसभाका एक मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन नेपाली कांग्रेसले सकिसकेको छ भने, दुईभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १० गते सम्पन्न गर्ने समय तालिका बनाएको छ । प्रदेश अधिवेशन १६ देखि १७ गतेसम्म गर्ने समयतालिका नेपाली कांग्रेसको छ । यसैगरी तेस्रो दल नेकपा माओवादी केन्द्रले आगामी पुसमा महाधिवेशन गर्ने जनाएको छ । महाधिवेशनको पूर्वतयारीका लागि वडा अधिवेशन सम्पन्न भइसकेको माओवादी केन्द्रले जनाएको छ ।

दक्षिणपन्थीधार बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आगामी पुसमा महाधिवेशन गर्ने तयारी अघि बढाइसकेको छ । बहुदलीय व्यवस्थामा राजनीतिकदल भनेका संविधानले नै अपरिहार्य ठानेका संस्था हुन् । राजनीतिकदलहरू कसरी चल्नुपर्छ भन्ने व्यवस्था संविधानमै गरिएको छ । कम्तिमा पाँच वर्षभित्र महाधिवेशेन र प्रदेश अधिवेशन गर्नै पर्ने, कावुबाहिरको परिस्थिति उत्पन्न भएमा ६ महिना म्याद थप्न सकिने व्यवस्था संविधानमा छ । तर संविधानको यो व्यवस्थालाई मुलुकको निर्णायक तहमा रहेका कुनै पनि ठूला पार्टीले आत्मासाथ गरेका छैनन् । नेकपा एमालेको महाधिवेशन करिब आठ वर्षको अन्तरालमा हुँदै छ । एमालेले स्थानीय तथा प्रदेश अधिवेशन के कसरी सम्पन्न ग¥यो ? जनतालाई थाहा पत्तो छैन । अध्यक्ष केपी शर्मा ओलीले सेटिङकै आधारमा प्रतिनिधि छनौट गरेर महाधिवेशनको कर्मकाण्ड पूरा गर्न लागेको समाचार मिडियामा आइरहेका छन् ।

आफूबाहेक अर्कोलाई अध्यक्ष पदमा उम्मेदवार बन्नै नदिने रणनीतिमा अध्यक्ष ओली रहेको खुलासा उपाध्यक्ष भीम रावलले गरिसकेका छन् । अध्यक्षको उम्मेदवारी घोषणा गर्न खोज्दा केन्द्रीय कार्यालयमा ठाउँसमेत नदिइएको गुनासो उपाध्यक्ष रावलको छ । यसैगरी लोकतन्त्रलाई साधन र साध्य दुबै ठान्ने पार्टी नेपाली कांग्रेसले पनि संविधानको मर्म विपरीत करिब ६ वर्षको अन्तरालमा महाधिवेशन गर्दैछ । कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीले जस्तो पार्टी भित्रका आफ्ना प्रतिस्पर्धीलाई निषेध गर्न लाज मानेकोजस्तो देखिएको छ, तर उनकै गृहजिल्ला डडेलधुराका सभापति कर्ण मल्ल धाँधली भयो भन्दै कांग्रेस केन्द्रीय कार्यालयमा अनशन बसिरहेका छन् । अरू पार्टीका नेताको तुलनामा कांग्रेस सभापति देउवा वाध्यतावस केही पारदर्शी देखिए पनि १४औँ महाधिवेशन विगतको जस्तो निष्पक्ष नहुने संकेतहरू आइसकेका छन् ।

आन्तरिक लोकतन्त्रका मामिलामा नेकपा माओवादी केन्द्रको बारेमा त टिप्पणी गर्नु नै बेकार छ । विगत ३५ वर्षदेखि पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व ओगट्दै आएका छन् । नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने संभावना बोकेकाहरूलाई तत्काल सिध्याइहाल्ने रणनीति प्रचण्डको छ । अध्यक्ष प्रचण्डले गर्ने भनेको महाधिवेशन कतिऔँ हो ? भन्ने कुरा माओवादीका कार्यकर्ताहरूलाई नै थाहा छैन । एमालेका अध्यक्ष ओलीलाई उपाध्यक्ष रावलले चुनौती दिएजस्तै माओवादी केन्द्रमा भने प्रचण्डलाई चुनौती दिनसक्ने ताकत कसैको देखिँदैन । एक हिसाबले माओवादीभित्र प्रचण्डले आपूmलाई देवत्वकरण गरिसकेका छन् ।

बास्तवमा राजनीति भनेको सबैभन्दा पवित्र कर्म हो । राजनीतिकदल भनेका पवित्र कामका लागि गठन भएका संस्था हुन् । तर, आज नेपालको नयाँ पुस्ताले राजनीतिलाई फोहरी कर्मका रूपमा बुझ्न थालेको छ । राजनीति तथा राजनीतिकदलप्रति नयाँ पुस्तामा ठूलो घृणा उत्पन्न भएको छ । ‘जे जसरी हुन्छ सत्ता प्राप्त गर्ने र सत्ता प्राप्त गरेपछि मुलुक लुट्न थाल्नेहरूको समूह नै राजनीतिकदल हो’ भन्ने बुझाई नयाँ पुस्तामा बढ्दै जानु भनेको लोकतन्त्रका लागि ज्यादै खतरा हो । नयाँ पुस्तामा राजनीति, राजनीतिक दल र राजनीतिकर्मीप्रति घृणाको भाव किन पैदा भयो ? भन्ने प्रश्नको उत्तर बढो सहज छ । वर्तमान पुस्ताका नेताहरूको अत्यन्त गलत क्रियाकलापले नै यस्तो वितृष्णा उत्पन्न भएको हो ।

सकेसम्म महाधिवेशन नै नगराई पार्टीमा आफ्नो पकड जमाइराख्ने, महाधिवेशन गर्नै पर्ने संवैधानिक बाध्यता आइलाग्यो भने कर्मकाण्ड पूरा गरी फेरी आपैmँले नेतृत्व लिने चरित्र बोकेका नेताहरूले नै राजनीतिलाई दुर्नाम बनाएका हुन् । प्रमुख दलहरूमा अहिलेकै नेतृत्वले निरन्तरता पाउने हो भने महाधिवेशन हुनु र नहुनुमा खासै अन्तर छैन । पार्टीभित्र बचेखुचेका असल नेता तथा कार्यकर्ता अझ पाखा लाग्ने मात्रै हुन् ।

प्रतिक्रिया