काठमाडौं । नेपालीभाषीका लागि अमेरिकामा आयोजना गरिँदै आएको नृत्य र गायनसम्बन्धी दुईवटा रियालिटी सो हुने भएको छ । नयाँ संस्करणको राजधानीमा एक समारोहबीच मंगलबार राति घोषणा गरियो । अमेरिका र क्यानडामा रहेको नेपालीभाषीलाई लक्षित गर्दै ‘मेरो भ्वाइस कप युएसए–२’ र ‘मेरो डान्स कप युएसए–४’ को घोषणा गरिएको हो । यो दुवै रियालिटी सोको आयोजना इन्ट्रा नेसनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गर्दै आएको छ ।
‘मेरो डान्स कप युएसए ४’ कोे निर्णायकमा अभिनेता दीलिप रायमाझी, अभिनेत्री केकी अधिकारी, नृत्य निर्देशक शंकर बिसी र नृत्य कलाकार नरमान राई रहेका छन् । यस्तै, ‘मेरो भ्वाइस कप अमेरिका युएसए–२’ को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल चयन भएका छन् । अरु निर्णायकको चयन चाँडै गरिने आयोजक संस्थाले जनाएको छ । घोषणा कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले अमेरिकामा पनि नेपालीभाषीलाई लक्षित गरेर ठूलो रियालिटी सो आयोजना हुन लागेको भन्दै खुसी व्यक्त गरिन् । उनले प्रतियोगिताबाट आफूले पनि केही सिक्ने विश्वास लिएको सुनाइन् ।
पहिलो सिजनबाटै मेरो डान्स कपका निर्णायक रहँदै आएका अभिनेता रायमाझीले अमेरिकन आइडलमा समेत नेपाली कलाकार उत्कृष्ट भइसकेको अवस्थामा अमेरिका र क्यानडामा निकै राम्रा नेपाली प्रतिभा रहेको बताए । उनले विगतको भन्दा यस पटकको प्रतियोगितामा अझ धेरै र राम्रा प्रतियोगी सहभागी हुने विश्वास व्यक्त गरे ।
यस्तै, भ्वाइस अफ नेपालका कोच प्रमोद खरेलले मेरो भ्वाइस कपमा सहभागी हुन अमेरिका र क्यानडामा रहेका नेपाली प्रतिभालाई पत्रकार भेटघाटमार्फत आह्वान गरे । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पत्रकार सम्मेलनमा कार्यक्रमबारे भने, ‘त्यहाँ रहेका नेपाली युवायुवतीले आफ्नो भाषा संस्कृति नबिर्सिउन र उनीहरुको प्रतिभाको समेत उजागर होस् भनेर ३ वर्षअघिबाट मेरो डान्स कप युएसए र अघिल्लो वर्षबाट मेरो भ्वाइस कप युएसए आयोजना गर्दै आएका छौं ।
यी दुवै प्रतियोगितामा प्रतियोगीले नेपाली गीत गाउनुका साथै नेपाली गीतमा नृत्य प्रस्तुत गर्छन् ।’ यी दुवै प्रतियोगिताको सुरु आगामी जनवरीबाट गर्ने पनि अधिकारीले जानकारी दिए । फाउन्डेसनका अध्यक्ष अधिकारीले नेपाली भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दैै रियालिटी सोमार्फत अमेरिका र क्यानडामा रहेका नेपालीभाषीमा नेपाली भाषा, संस्कृतिको जागरुकता ल्याउनु रहेको जिकिर गरे । अमेरिकामा अत्यन्त व्यस्त जीवन बिताइरहँदा पनि आफूहरुले कहिल्यै पनि नेपाली परम्परा, भाषा, रीतिथिति नछाडेको बताए । फाउन्डेसनले नेपालमा रहेका ज्येष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्तासमेत उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया