धनगढी । कैलालीको भजनी नगरपालिका–८ गोरचौर स्थायी घर भएका ३१ वर्षीय रामकिसुन चौधरीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्ने गरेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–५ जाइँमा विगत तीन वर्षदेखि सुनाखरी बहुउद्देश्यीय कृषि फर्म दर्ता गरी उनले अर्गानिक तरकारी खेती गर्दै आएका छन् । उपमहानगरपालिका–५ जाइँमा २५ कठ्ठा जग्गा भाडामा लिइ अर्गानिक तरकारी खेती गर्दै आएको बताउँदै उनले भने काउली, बन्दा, ब्रोकाउली, खुर्सानी, टमाटर, भान्टा, सिम्ला मिर्चा र गाठा गोभी लगायतका बेर्नाहरू प्रांगारिक मलको प्रयोग गरी उत्पादन गर्ने गरेको बताए ।
उनले भने बेर्ना मात्रै वार्षिक पाँच लाखसम्मको बिक्री गर्छु । त्यही उनले विषादी प्रयोग नगरिकनै तरकारी पनि उत्पादन गर्ने गरेको बताए । त्यहाँ उत्पादित तरकारीबाट वार्षिक करिब तीन लाख जति आम्दानी हुने गरेको बताए । त्यसै गरी उनले त्यहाँ जग्गा अभाव भएका कारण धनगढी उपमहानगरपालिका–६ मटियारीमा अढाई बिघा जग्गा भाडामा लिएर आइपिएम (एकीकृत सत्रुजीव व्यवस्थापन) पद्धतिबाट तरकारी खेती गर्दै आएको बताए । यो पद्धति वातावरणलाई असर पर्नबाट बचाउने पद्धति भएको उनले बताए । उनले त्यहाँ टमाटर, सिम्ला मिर्चा, रायो, मूला, बन्दा, खुर्सानी, भान्टा, ब्रोकाउली लगायतका तरकारी उत्पादन गर्ने गरेको बताए ।
पारिवारिक गरिबीका कारण विभिन्न समस्या झेल्दै आएका चौधरी आफ्नो बिगतलाई सम्झिँदै भन्छन्, ‘एसएलसी उत्तीर्ण गरेपछि ०६६ सालमा धनगढी उच्च शिक्षा पढ्न आउँदा रिक्सा चलाएर पढेको हुँ । घरमा आम्दानीको स्रोत केही थिएन पढ्ने इच्छा थियो त्यसैले रिक्सा चलाएर खर्च जुटाएर पढेँ । अहिले केही गर्नुपर्छ भन्ने मान्यता राखेर काम गर्दा तरकारी खेतीबाट रामै्र आम्दानी भएको छ ।’
इच्छाशक्ति भए के हुँदैन र ? बिबिएस सम्मको अध्ययन पूरा गरेका चौधरीले एक गैरसरकारी संस्थामा काम गर्दा गर्दै कृषि जेटिएको पढाइ पनि पूरा गरेको बताए । उनले भने त्यसपछि कृषि क्षेत्रमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर तरकारी खेतीमा लागे र यसमा पनि अर्गानिक खेती तर्फ लागेँ । गत वर्ष ६ जनालाई नियमित रोजगारी समेत दिएको बताउँदै उनले अव फेरी यस व्यवसायलाई बढाएर करिव ९ जना जतिलाई नियमित रोजगारी दिने योजना रहेको बताए । तरकारी खेतीका साथै जग्गाको वरिपरि ड्रागन फ्रुट पनि लगाउने योजना रहेको चौधरीको भनाइ छ । सरकारले अर्गानिक मलको सर्वसुलभता बढाएको भए आफूजस्ता किसानलाई सहज हुने उनको अपेक्षा रहेको छ । सरकारबाट धितोविना ऋण पाए सहज हुने उनको भनाइ छ ।
कैलाली
प्रतिक्रिया