शिक्षासेवी डिल्लीप्रसाद शर्माको निधन

काठमाडौं । बागलुङ नगरपालिका– १२ स्थित अमलाचौर निवासी शिक्षासेवी डिल्लीप्रसाद शर्माको ८३ वर्षको उमेरमा आज निधन भएको छ ।

काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निमोनियाको उपचार गराइरहेका उनको आज बिहान ६ः०० बजे सोही अस्पतालमा निधन भएको हो ।

विसं १९९६ वैशाख १५ गते बागलुङको अमलाचौरमा जन्मिएका उनले लामो समयदेखि प्राध्यापन तथा शिक्षा क्षेत्रमा काम गरेका छन् ।

विसं २०१७ मा एसएलसी पास गरेका उनले संस्कृत साहित्यमा आचार्य र अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेका थिए । उनले सुरुमा माध्यमिक विद्यालय निरीक्षक र पछि जिल्ला शिक्षा अधिकारीको भएर काम गरेका थिए ।

बागलुङ जिल्लाको अमलाचौरमा पृथ्वी माध्यमिक विद्यालय स्थापना गर्न र पछि सोही विद्यालयमा उच्च माध्यमिक विद्यालय सञ्चालन गर्न पनि उनको ठूलो योगदान रहेको छ । उनले सो उच्च मावि, पर्वत जिल्लाको फलेबासस्थित पर्वत बहुमुखी क्याम्पासलगायतका क्याम्पसहरुमा लामो समय अध्यापन गरेका थिए ।

साहित्य र लेखनमा गहिरो रुचि राख्नुहुने उहाँका जननी स्मृति, जनगन्थन पुस्तक तथा अरु कयौँ फुटकर लेख र कविता प्रकाशित छन् ।

उनकी धर्मपत्नी दिलकुमारी शर्मा तथा सात छोरा छन् । उनका छोरा दिलीपप्रसाद शर्मा राष्ट्रिय समाचार समिति (रासस) को अन्तर्राष्ट्रिय समाचार शाखामा सम्पादक छन् । शर्माको बागलुङ जिल्लास्थित जैमिनीघाटमा आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया