ग्यास र पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल फिर्ता लिन कांग्रेस नेता सिंहकाे माग

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनतालाई राहत दिनु पर्नेमा मूल्यबृद्धि गरेको आरोप लगाएका छन् । नेता सिंहले चाडपर्वको मुखमा सरकारले पेट्रोल, ग्यास र डिजेलको मूल्य बढाएर गल्ती गरेको बताएका हुन् । ‘चाँडपर्वको समयमा राहत दिनुपर्ने ठाउँमा सरकारले मूल्य बढाएर जनतालाई मारमा पारेको छ’ शनिबार नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समिति राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने । आफूले गर्न सक्ने काम नगर्ने र त्यसको क्षतिपूर्तिको लागि मूल्य बढाउने काम गलत भएको भन्दै नेता सिंहले मूल्यबृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

नेता सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोर्‍याउन नहुने बताएका छन्। नेता सिंहले १३ औं महाधिवेशन पछि नेतृत्व पाएकाले जिम्मेवारी पूरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको आरोप लगाए । उनले पटक-पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पूरा गर्न नसक्ने नेतालाई पुन: जिम्मेवारी दिए पार्टीको अवस्था अझै बिग्रने बताए ।

‘अहिले पार्टीको परम्परा नै मिचिएको छ। देश बनाउँछु बनेर अगाडि बढ्ने नेताहरुले आफ्नै पार्टीको अबस्था नाजुक बनाएका छन्।’ उनले भने, ‘अवसर पाएर पनि काम नगर्नेहरुलाई रिपिट गर्न हुन्न । यसले पार्टीलाई फाइदा गर्दैन ।’

नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशिल सदस्यता विवाद कायम रहेका बताउँदै विधि र नियमपूर्वक समाधान गर्नु पर्ने बताए । उनले रौतहट जिल्लाका कार्यकर्ताहरु धर्ना बसेको सय दिन वितिसक्दा पनि नेतृत्व मैन रहेको भन्दै आपत्ति जनाए। पार्टीको आगामी १४ औं महाधिवेशनलाई कमीकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनु पर्ने उनको भनाइ छ ।

नेता सिंहले अहिले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावना अनुसार नै समधान गर्नु पर्ने बताए । न्यायालयमा राजनीतिक व्यक्तित्वले हस्तक्षेप गर्न नहुने भन्दै नेता सिंहले निश्चित व्यक्किो स्वार्थका कारण न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको बताए ।

प्रतिक्रिया