संकटमा कुमालेको पेसा

जलेश्वर । आधुनिक झिलिमिली बिजुली बत्ती, धातुका दियो, भाँडाकँुडा लगायतका वस्तुका कारण तिहार र छठपर्वको लागि पुस्तौँदेखि महोत्तरीमा माटोको दियो र भाँडाकुडा बनाउँदै आएका कुमाले जातीको पेसा संकटमा पर्दै गएको छ । दीपावली र छठको बेला बर्सेनि लाखौँको माटाका भाँडाकुडा र दियो बिक्री गर्ने गरेका कुमालेहरूले आधुनिक रूपमा बजारमा आएका तारले बनेको झिलिमिली बत्ती, प्लास्टिक र धातुका विभिन्न भाँडाकुँडाले गर्दा माटोको भाडावर्तन र दियो (पाला) लगायतका सामग्रीको बिक्रीमा निक्कै कमी आएर आफूहरूको व्यवसाय नै संकटमा पर्दै गएको जलेश्वर नगरपालिका–६ का कुमाले बिरजु पण्डितले बताए ।

पहिलापहिला हिन्दूहरूको महान चाड दीपावली, तिहार, छठ पर्वलगायत अन्य पूजापाठमा अति आवश्यक रूपमा माटोको दियो, ढकनी, घैंटो, मटिया, कुसिया, कुरबार लगायतका सामग्रीको माग हुने गथ्र्यो । माटोकै भाँडाकुडा चोखो हुने गरेको भन्दै सबैले माटाकै भाँडाकुडा प्रयोग गरेको बेला आफूहरूलाई ती भाँडाकुडा पूर्ति गर्न भ्याइनभ्याइ हुने गरेको बताउँछन् भने अहिलेका मानिस आधुनिकतामा रमाएर धातु र प्लास्टिकका भाँडाकुडा तथा बिजुली बत्ती प्रयोग गर्न थालेपछि आफूहरूको व्यवसाय धरासयी बनेको उनले बताए ।

महोत्तरीको सदरमुकाम जलेश्वरसहित १५ वटै स्थानीय तहमा कुमाले जातीका मानिसले माटोको दियो, ढकनी, घैंटो, मटिया, कुसिया र कुरबार लगायतका सामग्री बेच्ने गरेकोमा अहिले नगन्य मात्रामा ती सामग्री बिक्री हुने गरेको बढी महोत्तरी गाउँपालिका–११ कुमाले सियाराम पण्डितले बताए ।

पहिला महोत्तरीको विभिन्न गाउँ–ठाउँमा बनाइएका माटाका भाँडाकुडा तराई–मधेसमा मात्रै नभएर काठमाडौं, पोखरा, हेटाँैडा, जनकपुर र भारतीय सहर मधुबनी, दरभंगा, सीतामढी र पटनासम्मसमेत निर्यात हुने गरेकोमा अहिले स्थानीय बजारमै पनि माग नभइदिँदा दिनानुदिन यस पेसामा लागेकाको पेसा धरापमा पर्दै गएको जलेश्वर नगरपालिका–१ का कुमाले जोगिया पण्डितले बताए ।

अत्यधिक श्रमको प्रयोग र आर्थिक लगानीमा तयार गरिने माटोको भाँडाकुँडा, दियो, मटिया, कुसिया, कुरबार लगायतका सामग्री बिक्री नहुनु र बिक्री भए पनि लागेको लगानीसमेत नआउनुले यस पेसामा अब नयाँ पुस्ता बस्न नचाहेको जलेश्वर नपा–६ का कुमाले मंगल पण्डितले बताए । तर, धेरैजसोले अहिले पनि आधुनिक भाँडाकुँडा चोखो नहुने, यसमा व्रत तथा पर्व गर्दा शुद्ध नहुने मान्यता राखेकोले उनीहरू अझै पनि माटोकै भाँडाकुडा प्रयोग गर्न रुचाउने भएकोमा कुमाले जातिका बुढापाकाले जसोजतो ती सामग्री बनाएर उनीहरूको माग धानिरहेको अनुभव सुनाउँछिन् जलेश्वर नगरपालिका–८ की गृहणी रेणु मण्डल ।

प्रतिक्रिया