परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा देउ : अध्यक्ष ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचैजना न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताएका छन् ।

अध्यक्ष ओलीले आज (मंगलबारए देशभरका ७५३ वटै स्थानीय तहका एमाले कमिटीको अधिवेशनको भर्चुअलबाट उद्घाटन गर्दै परमादेश एक जनाले मात्र नभई पाँचै जनाले गरेकाले उनीहरु सबैले राजीनामा दिनुपर्ने टिप्पणी गरे ।

उनले भने, ‘सर्वोच्च अदालतमा आफैँ तमसा देखिएको छ, न्यायाधीशहरु कसले के के गर्यो भनेर उधिन्न थालेका छन्, उधिन्दै जाँदा केके कुरा निक्लिन थालेको छ‚ परमादेश एक जनाले गरेको होइन, पाँचै जनाले गरेको हो, किन एक जनाको राजीनामा माग्नुहुन्छ ? पाँचै जनाले राजीनामा गर्दा उपयुक्त होइन र ? तपाईंहरूको निर्णयको सुगन्ध दुर्गन्ध म भन्न चाहन्नँ ।’

साथै, अध्यक्ष ओलीले संविधानमै नभएको असंवैधानिक कदम चालेर एमालेविरुद्ध नाङ्गो नाच देखाएको समेत आरोप लगाए । कानुन व्यवसायीहरूले कानून र संविधान जान्नुपर्ने उनले टिप्पणी गरे । लोकतन्त्र र संविधानको रक्षा गर्ने अहिलेको प्रमुख दायित्व भएको उनले बताए ।

‘कुन पक्ष हार्यो कुन पक्ष जित्यो भन्ने मेरो चिन्ता होइन, लोकतन्त्रले जित्नुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘न्यायपालिकाले जनताप्रति विश्वास गुमाउन थालेको छ, अहिले अदालतबाट न्याय पाइन्छ भन्ने केही छ र ? न्यायपालिकालाई राजनीति गर्ने थलो बनाएपछिका अहिले देशमा यस्तो परिणाम आएको हो ।’

अध्यक्ष ओलीले एमालेले एक्लैले विकासको बाटो तय गरेको दाबी गर्दै अहिले पाँच दलीय गठबन्धनका सरकारले कुनै काम गर्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया