खोजखबर

सल्यानमा जीप दुर्घटना : एकको मृत्यु, सात जना घाइते

सौर्य अनलाइन २०७८ कार्तिक ७ गते १७:५० मा प्रकाशित

सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको वागचौरबाट दाङतर्फ जाँदै गरेको भे १ च १८९० नम्बरको जीप कपुरकोट गाउँपालिका–३ स्थित मूलपानी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी वागचौर नगरपालिका–१ निवासी १४ वर्षीय आयुष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका बस्नेतको उपचारका लागि दाङ लिँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

यस्तै दुर्घटनामा परी घाइते हुनेमा वागचौर नगरपालिका–१ का २२ वर्षीय मनोज बस्नेत, सोही नगरपालिका–२ की २७ वर्षीया सीता वली, २८ वर्षीया बबिता रावल, ११ वर्षीया आशिका रेउले र जीप चालक वागचौर नगरपालिका–२ १९ वर्षीय हिक्मत पुन मगर रहेको प्रहरीको भनाइ छ ।

घाइतेहरूको प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । जीप सडकबाट सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय