दिक्तेलमा भुस्याहा कुकुरले टोकेर १५ जना घाइते

खोटाङ । पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन् ।

घाइतेको जिल्ला अस्पताल दिक्तेलमा रेविजविरुद्धको भ्याक्सिन लगाएर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा. बैभव मल्लिकले जानकारी दिए । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बजारमा यसअघिदेखि नै कुकुरको बिगबिगी थियो । करिब दुई वर्षअघि पनि भुस्याहा कुकुरले जथाभावी मान्छेलाई टोक्न थालेपछि नगरपालिकाले नियन्त्रण गर्न थालेपछि चौतर्फी विरोध भएपछि स्थगित गरिएको थियो ।

नेकपा (माओवादी केन्द्र) का युवा नेता मिलनचन्द्र राईले भुस्याहा कुकुरको आतङ्क तत्काल नियन्त्रण गर्न नगरपालिकासँग माग गरे ।

बजारमा रातका समयमा हिँडडुल गर्नसमेत समस्या रहेको स्थानीय बासिन्दाले बताएका छन् । ऐसेलुखर्क गाउँपालिकामा समेत कुकुरको बिगबिगी बढेको स्थानीय बासिन्दाले जनाएका छन् ।

प्रतिक्रिया