नेपाली लोकरामायण प्रकाशित

काठमाडौं । नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्ममा प्रचलित छवटा लोकरामायणलाई एकै ठाउँमा समेटिएको कृति प्रकाशित भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली लोकरामायणका विविधरूप’ प्रकाशन गरेको हो । प्रा डा चूडामणि बन्धु र प्रा डा महादेव अवस्थी सम्पादक रहेको यस कृतिमा नेपाली लोकजीवनमा विभिन्न भाषा, संस्कृति र भूगोलअनुसार प्रचलित सबैखाले रामकथाका बारेमा विस्तृत जानकारी दिइएको छ । ‘नेपाली लोक रामायणका विविधरूप’ कृतिमा डा बद्री शर्मा बिनाडीद्वारा संकलित ‘चैत रामायण’, प्रा डा होमनाथ सापकोटाद्वारा संकलित ‘नचरी रामायण’, डा मुकुन्द शर्माद्वारा संकलित ‘चरित्र रामायण’, जनकविकेशरी धर्मराज थापाद्वारा संकलित ‘बालुन रामायण’, डा. कुलराज निरौलाद्वारा संकलित ‘सङ्गिनी रामायण’ र शिवनिधि जोशीद्वारा लिखित ‘सीता भारत’ गरी छ लोकरामायण समावेश गरिएका छन् ।

प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान तथा प्रकाशन परियोजनाअन्तर्गत तयार गरिएको यस कृतिले रामकथा प्रतिचासो राख्ने जोकोहीलाई बौद्धिक खुराक प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ । सो विभागका प्रमुख प्राज्ञ डा देवी नेपालले नेपालको लोकजीवनभित्र प्रवेश गर्ने हो भने अनगिन्ती अमूल्य सम्पत्ति प्राप्त हुने र तिनलाई बाहिर ल्याउन सक्ने हो भने सयौँ वर्षसम्म विश्वलाई पढाउन पुग्ने ज्ञाननिधि रहेको सुनाए । उनले भने, ‘नेपाली लोक रामायणका विविध रूप’ कृतिको प्रकाशन त्यसैका लागि गरिएको एउटा सफल प्रयासका रूपमा लिनुपर्दछ ।’

प्रतिक्रिया