इलाम । विगत पाँच दिनदेखि बेपत्ता भएका इलामको माङसेबुङ गाउँपालिका दुई जना स्वास्थ्यकर्मी अझै भेटिएका छैनन् । माङसेबुङ गाउँपालिका–६ स्थित बाँझो स्वास्थ्य चौकीका इन्चार्ज ठाकुरप्रसाद याक्खा र सोही स्वास्थ्यचौकीमा कार्यरत अर्का स्वास्थ्यकर्मी सुमन राईलाई शनिबारसम्म पनि फेला पार्न नसकिएको परिवारले जानकारी दिएको छ । सुरक्षाकर्मी र स्थानीय बासिन्दाले शंकास्पद क्षेत्रमा चार दिनदेखि लगातार खोजतलाज गरिरहेको भए पनि हालसम्म फेला पार्न नसकिएको खोजतलासमा संलग्न मध्येका एक माङसेबुङ–२ का वडाध्यक्ष पुष्पराज कार्कीले जानकारी दिए । याक्खा र राई गएको मंगलबार बेलुकादेखि सम्पर्कविहीन बनेका थिए । उनीहरू इलामको माङसेबुङ गाउँपालिका–६ र पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाको संगमस्थल चिसोपानी पंचमी बजार नजिकैबाट मंगलबार दिउँसो करिब ४ बजेदेखि बेपत्ता भएका थिए ।
मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा पहिरोमा परी घाइते भएका एक व्यक्तिको उपचार गर्न गएका उनीहरू न घाइतेकहाँ पुगे, न त घरमा नै फर्के । बाटैबाट बेपत्ता भएका उनीहरू हालसम्म भेटिएका छैनन् । घाइतेको परिवारले बोलाएपछि उनीहरू उपचारका लागि घटनास्थल प्रस्थान गरेका थिए । तर, घरबाट हिँडेको केही मिनेटपछि नै उनीहरू सम्पर्कविहीन बनेका थिए ।
बेपत्ता भएदेखि नै उनीहरूको खोजीकार्य जारी छ । नजिकै पहिरो गएको ठाउँ भेटिएकाले सोही पहिरोलाई लक्षित गरी खोजीकार्य तीब्र पारिएको थियो । तर त्यहाँबाट उनीहरूले प्रयोग गर्ने गरेका दुई थान छाता मात्र भेटिएको थियो । भीषण वर्षाको समय भएको र उनीहरूको छातासमेत त्यहीँ पहिरोमा भेटिएकाले सोही पहिरोले पुरिएको हुनसक्ने अनुमानका साथ खोजीकार्य गरिएको छ । तर हालसम्म फेला पर्न सकेको छैन । इलाम नगरपालिकाको सुम्बेक घर भएका याक्खा र माङसबेुङ गाउँपालिका–२ इभाङको दहगाउँ घर भएका राई साइनोमा साढुदाइ र साढुभाइ हुन् । उनीहरू चिसोपानी पञ्चमी बजारमा बस्दै आएका थिए ।
इलाम
प्रतिक्रिया