भीषण वर्षाले बेनी—जोमसोमलगायत ग्रामीण सडक अवरुद्ध

गलेश्वर । आइतबार रातिदेखिको भीषण वर्षाका कारण बेनी—जोमसोमलगायत म्याग्दीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरो र हिलोले बेनी—जोमसोम सडकखण्डको काभ्रेभीरमा सवारी साधन वारपार गर्न नसक्दा मुस्ताङ भ्रमणमा जानलागेका र मुस्ताङबाट फर्कँदै गरेका यात्रुबीच बाटोमा नै अलपत्र परेका छन् ।

म्याग्दीलगायत धौलागिरि क्षेत्रमा अहिलेसम्म पनि भीषण वर्षा भइरहेको छ । वर्षासँगैको हुरी बतासले यस क्षेत्रमा लगाइएको धानबाली, तरकारी र फलफूलबालीमा समेत क्षति पु¥याए पछि कृषकसमेत चिन्तित बनेका छन् ।

त्यसैगरी ग्रामीण सडक अवरुद्ध हुँदा दसैँ मनाएर आफ्नो कार्यक्षेत्रमा फर्कँदै गरेका मानिस ठूलो समस्यामा परेका छन् । गाडी गुड्ने सडकमा खोला बगेको छ । बेनी—बगरफाँट—भकिम्ली सडकको बाङ्गेघरा क्षेत्रमा सडकमै पोखरी बनेपछि साना सवारी साधनसमेत चल्न नसकेको स्थानीय राजकुमार सुवेदीले जानकारी दिए ।

पहिरो र हिलोका कारण बेनी—दरवाङ, बेनी—मालढुङ्गा, बेनी—बागलुङ सडकखण्डमा पनि सवारी चलाउन कठिन भएको बेनी—दरवाङ सडकखण्डका सवारी चालक सूर्यबहादुर हुमेनले बताए ।

‘ठूला सवारी साधन बल्लबल्ल तातोपानी कटेका छन्, ट्याक्सी जान नसेकेका कारण सिंगाबाट फर्काएर बेनी ल्याएँ’, हुमेनले भने । यसैगरी म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात हुन थालेको छ । म्याग्दीको गुर्जा, सोलेको धुरी, रुम, घोडेपानीलगायत क्षेत्रहरूमा हिमपात हुन सुरु भएको स्थानीयले बताएका छन् ।

जिल्लाको उपल्लो भेगमा अचानक जाडो बढेपछि वृद्धवृद्धा र पशुचौपायालाई समस्या उत्पन्न भएको छ । ज्येष्ठ नागरिक घरबाट बाहिर निस्कन सकेका छैनन् ।

उनीहरू घरभित्र नै आगो बालेर बसेका रुमका टेकबहादुर घर्तीले जानकारी दिए । जिल्लाका तल्लो भेगमा लगाइएको धानबाली वर्षासँगैको हुरी बतासले ढालेर कामै नलाग्ने बनाई दिए पछि कृषक चिन्तित भएका छन् ।

प्रतिक्रिया