वीरजंगको शवमा पार्टीको झण्डा ओडाएर विप्लवले दिए श्रद्धाञ्जली

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना जेठा दाई तथा सो पार्टीका केन्द्रीय सदस्य चन्द्रविक्रम चन्द वीरजंगलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । विप्लवसँगै बीरजंगलाई श्रद्धाञ्जली दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, माओवादी केन्द्रका केन्द्रीय नेता चक्रपाणी खनाल, बसन्त घर्तीमगर, एमाले नेता तथा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीलगायत पुगेका थिए ।

कपिलवस्तु शिवगढीस्थित घरमा पार्टीका नेता–कार्यकर्ता र अन्य राजनीतिक दलका नेता कार्यकर्ता तथा स्थानीययले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । श्रद्धाञ्जली दिन पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले क्रान्तिकारी, इमानदार छवि भएका नेतालाई गुमाउँदा राष्ट्रलाई ठूलो क्षति भएको बताए ।


लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका वीरजंगको भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा शुक्रवार मृत्यु भएको थियो ।उनको शवलाई शनिबार गृहजिल्ला कपिलवस्तुको शिवगढी ल्याई श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।

जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीको पर्वत र बागलुङको इन्चार्जको जिम्मेवारी निर्वाह गरेका वीरजंग विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए ।

केही महिनाअघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका उनी कारागारमा रहँदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए । ६१ वर्षीय वीरजंगका दुई छोरा र एक श्रीमती छन् । उनको शनिबार नै अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया