गाउँघरमा लोप हुँदैछ पिङ

तनहुँ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता छ । गाउँघरमा वर्षमा १ पटक भएपनि दशैंमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ । विशेषगरी दशैंको बेलामा पिङको छुट्टै महत्त्व हुन्छ । विगतका वर्षहरूमा दमौली सदरमुकाममा पनि पिङ हाल्ने प्रचलन थियो । दशैं मनाउन गाउँ गएकाहरुले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे तर बिस्तारै पिङ हाल्ने प्रचलन हराउँदै गएको छ । आजभोलि ग्रामीण भेगमा पनि निकै कमै मात्र पिङ देख्न सकिन्छ ।

पहिला पहिला दशैं आउनु अगावै पिङ हालेर रमाइलो हुने भएपनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठले बताए । ‘दशैंमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो की भन्ने चिन्ता छ,’ उनले भने, ‘आजभोलि त पिङ पनि देख्न छाडियो ।’

भिमाद नगरपालिका–९ का शिवकुमार आलेले गाउँघरमा पिङ हाल्ने प्रचलन घट्दै गएको बताए । विगतका वर्षहरूमा प्रत्येक गाउँमा पिङ देख्ने गरिए पनि आजभोलि फाट्टफुट्ट मात्रै पिङ देखिने उनले बताए । ‘पहिला पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपथ्र्यो, आजभोलि बिस्तारै घट्दै छ,’ उनले भने ।

यस वर्ष भने दशैंमा गाउँघरमा मानिसको चहलपहल बढेको उनले बताए । ‘यो वर्ष खोप लगाएको हुनाले शहर सुनसान, गाउँ रमाइलो भएको छ,’ उनले भने, ‘दशैं मान्न शहरबाट गाउँ फर्किनेको चहलपहल राम्रो छ ।’

व्यास नगरपालिकाले विगत २ वर्षमा खुला मैदानमा रोटे पिङ हालेको थियो । गत वर्ष कोरोना कहरका कारण पिङ हालिएन । रोटे पिङ संरक्षणका लागि व्यासले ३१ वर्षपछि दमौलीमा पिङ हालेको थियो तर यस वर्ष दमौलीमा पिङ देखिएको छैन ।

केही ठाउँमा भने संस्कृति र परम्पराका लागि भन्दै स्थानीयवासीले पिङ हालेका छन् । बन्दिपुरस्थित टुँडिखेलमा स्थानीय व्यवसायीले पिङ हालेको होटल व्यवसायी किसान प्रधानले जानकारी दिए । ‘दशैंमा पिङ खेल्ने परम्परालाई बचाउन यो वर्ष टुँडिखेलमा पिङ बनाएका छौं,’ प्रधानले भने ।

व्यास नगरपालिका–५ भुपटोलका कृष्णकुमार श्रेष्ठले पनि व्यक्तिगत लगानीमा पिङ निर्माण गरेका छन् । पछिल्लो समय लोप हुँदै गएको पिङको संरक्षण र यसको महत्त्वलाई उजागर गर्नका लागि व्यक्तिगत लगानीमा पिङ हालेको उनले जानकारी दिए ।

‘आधुनिकतासँगै यस्तो पिङ आजभोलि देख्न पाइँदैन, यसको संरक्षणका लागि पनि पिङ बनाएको हुँ,’ उनले भने । पिङ निर्माणका लागि डेढ लाख खर्च भएको छ । नेपालीहरूको महान चाडमा चंखे पिङ हालेर संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेलेको स्थानीय प्रेमकुमार श्रेष्ठले बताए । – रासस

प्रतिक्रिया