अज्ञात समूहले माछा पोखरीमा विष हालेपछि…

झापा । कचनकवल गाउँपालिका–३ स्थित एक माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेका छन् । यहाँस्थित सक्षम युवा कृषि फर्मको माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेको कृषि र्फमका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिए ।

‘चार दिनयता माछा मरिरहेका छन्’, गौतमले भने, ‘कुखुराको आन्द्रा भुँडीमा विष हालेर पोखरीमा हालिएको भेटियो, मरेका माछाले कुखुराको भुँडी खाएको भेटियो ।’ गत सोमबारदेखि माछा मर्न थालेको उहाँको भनाइ छ । करिब आधा किलो तौल भएको माछा उहाँले केही दिन अघिदेखि मात्र बिक्री गर्न थाल्नुभएको थियो । ‘सोमबार आठ/दश वटा माछा मरेको भेट्यौँ’, उनले भने, ‘त्यसको भोलिपल्ट मङ्गलबार ५० वटा जति, बुधबार एक क्विन्टल र आज दुई क्विन्टल जति मरेका माछा पोखरीबाट निकाल्यौँ ।’

पोखरीमा १० हजार माछाको भुरा हालेको उनको भनाइ छ । पोखरीमा हालिएको विषका कारण करिब १० क्विन्टल माछा मर्ने र सोबाट रू तीन लाखभन्दा बढी घाटा हुने उनले बताए । पोखरीमा कसले विष हाल्यो भन्ने यकिन नभएको उनले बताए । मरेका माछा प्रहरीको सल्लाहमा आफूले खाल्डो खनेर पुरेको उनले बताए ।

सक्षम युवा कृषि फर्म दर्ता गरेर विसं २०७२ सालदेखि चार बिघा १५ कठ्ठा क्षेत्रफलमा माछा, बाख्रा र राँगा पालन गर्दै आएको सञ्चालक गौतमले बताए ।

पोखरीमा विष हालिएको विषयमा उनले प्रहरी चौकी पथरियामा समेत निवेदन दिएका छन् । निवेदनपछि आफूहरुले घटनास्थलको निरीक्षण गरेको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सुरेशकुमार शेर्माले बताए । ‘माछा मरेको छ’, उनले भने, ‘अनुसन्धान गर्दैछौँ ।’ रासस

प्रतिक्रिया