पिताका पाइला पछ्याउँदै लिमा

नेपालका राजनीतिक नेताहरूमा एउटा आरोप लाग्ने गरेको छ, ‘अरूका छोराछोरीलाई राजनीतिमा लगाएर आफ्ना छोराछोरीलाई पेसा व्यवसायमा लगाएर आर्थिक रूपमा सबल बनाउँछन्’ यो आरोपलाई केही नेताका सन्तानले भने खण्डित गरेका छन् । थोरै नेताका सन्तानले मात्रै राजनीतिमा आफ्ना बाबु बाजेको बिँडो थामेका छन् भने धेरैका सन्तान आर्थिक रूपमा सफलताको बाटोमा छन् । पछिल्लो समयमा भने युवापुस्ता त्यो पनि नेताका सन्तान राजनीतिमा अकर्षित भएर लागेका छन् । ती मध्ये एक हुन लीमा अधिकारी । आजको नेकपा एमालेले व्याज खाँदै आएको भनिने नौ महिने सरकारका सफल अर्थमन्त्री भरतमोहन अधिकारीको माइली छोरी हुन् उनी । राजनीतिमा अहिले चार्चामा रहेको नाम हो उनै लीमाको । राजनीतिका साथै उनी सफल व्यवसायी पनि हुन । राजानीतिलाई कमाइखाने भाँडो बनाएको प्रति भने उनी सन्तुष्ट छैनन् । राजनीतिमा पुरानो निष्ठा कहाँ रह्यो र ? पुरानो राजनीतिक निष्ठा र समर्पणलाई नजिकबाट छाम्ने अवसर पाएकी लिमालाई आफ्ना बुवाहरूका पालाको भन्दा अहिले राजनीतिमा निष्ठा र समर्पण घटेको उनको ठम्याइ छ ।

‘बुबा हुँदा उहाँको व्यस्तता र अस्तव्यस्त हेर्दा सक्रिय राजनीति गर्ने चाहना भएन’, लिमा विगतरि फर्किन्, ‘पार्टीको सदस्य थिएँ, सामान्य रूपमा पार्टीलाई सहयोग पु¥याएँ । सक्रिय न भए पनि कम्युनिस्ट कस्तो हुनुपर्ने विचार सिद्धान्त के हो बुझेको थिएँ । एकप्रकारले भन्ने हो भने घरको वातावरणले पनि कम्युनिस्ट बनाएको थियो ।’ उनलाई बुबाको नाम बेच्न कहिल्यै मन लागेन । पिताको स्मरण गर्दै भनिन्, ‘विद्यार्थीमा राजनीति गरे पनि भरतमोहनको छोरी भएकाले कुनै अवसर पाउनुपर्छ भन्ने लागेन । बुबाको पनि त्यस्तो चाहना थिएन् ।’ अहिले सक्रिय राजनीतिको चर्चामा रहे पनि उनी पार्टीमा भने पहिलादेखि नै लागेको थिइन् । फरक यति हो पहिला उनको भूमिका देखिने गरी थिएन अहिले भने देखिने भूमिकामा छिन् ।

राजनीतिप्रति उनमा आस्था भने घरको चौघेराबाटै जन्मिएको थियो । नहोस् पनि कसरी ? बुबा तत्कालीन अवस्थामा एमालेको केन्द्र भागमा रहेर सक्रिए थिए, आमा सविता अधिकारी अनेमसंघमा । बिहानदेखि रातीसम्म घरको वातावरण राजनीतिमय हुन्थ्यो । ‘राजनीतीमा लाग्ने रुची सानैमा थियो । तर, बुबाको चाहना कहिल्यै पनि हामीलाई फलानो कमिटी वा कुनै स्थानमा रहेर काम गरोस् भन्ने थिएन, ‘लिमा सम्झन्छिन्, ‘उहाँ आफ्नै दक्षता र योग्यताले केही गरोस् भन्ने चाहनु हुन्थ्यो । धेरै आदर्शवादी हुनुहुन्थ्यो बुबा ।’

व्यावसायिक घरानाको परिचय बनाइसकेका पोखराका कृष्ण आचार्यको परिवारमा बुहारीको रूपमा भित्रिएपछि उनको परिचय राजनीतिक सँगसँगै व्यवसायिक महिलाको रूपमा पनि थपियो । अमेरिका अध्ययन गरेर फर्केका उनका पति सुदीप आचार्य कामना विकास वैंकका अथ्यक्ष, डिसहोमको प्रमुख कार्यकारी लगायतको जिम्मेवारी निर्वाह गरिरहेका छन् भने उनले मल्टी इनर्जी हाइड्रोलगायत आधा दर्जन कम्पनीमा आवद्ध छन् ।

०५९ मंसिरमा बिहे हुनुअघि केही समय कलेजमा चिनियाँ भाषा पढाएकी लिमाले बिहेपछि कलेज पढाउनुका साथै व्यवसायमा पनि हात हालिन् । ‘पहिलो व्यवसाय महिलाहरूका लागि तौल घटाउने पहिलो चिनियाँ प्रविधि सम्पन्न स्लिमिङ सेन्टरहरूको नेपालमा स्थापना गरेँ,’ लिमाले विगत स्मरण गरिन्, ‘पहिला काठमाडौंको विभिन्न चार स्थान र पोखरामा शाखा बिस्तार गरेँ ।’

त्यही व्यावसायिक नाताले अहिले उनी नेपाल चेम्बर अफ कमर्सको कार्यकारी सदस्यमा निर्वाचित भएकी छन् । त्यति मात्रै होइन नेपाल महिला चेम्बरको महासचिव र नेपाल चाइना चेम्बर अफ कमर्सको सचिवको रूपमा जिम्मेवारी निर्वाह गरिरहेकी छन् । ‘म चेम्बर अफ कमर्समा पनि आफ्नै काम र सक्रियताले व्यवसायिक महिलाका हैसियतमा गएको हो’, लिमाले भनिन्,‘ यहाँ पनि थोरै महिलाको उपस्थिति कम छ । उद्योगी व्यवसायी महिलाको कसरी हितगर्ने र उनीहरूलाई माथि उठाउने बारेमा सोचिरहेका छौँ ।’ महिलालाई व्यावसायिक र आत्मनिर्भर कसरी बनाउन सकिन्छ भनेर आफू लागिरहेको उनले सुनाइन् । लागेको छु ।

‘१८ वर्ष भयो, एमालेको सदस्य भएको । तर, बुबा हुँदा उहाँको व्यस्तता र अस्तव्यस्त हेर्दा सक्रिय राजनीति गर्ने चाहना भएन ।’ अखिल नेपाल महिला संघ (समाजवादी) की केन्द्रीय सदस्य लिमाले भनिन्, ‘अहिले भने परिस्थितिले राजनीतितिर डो¥यायो ।’ एमालेको नौ महिने सरकारका पालामा वृद्धभत्ताजस्ता लोकप्रिय कार्यक्रम ल्याउने अर्थमन्त्रीको छवि बनाएका पिताको स्मरण गर्दै उनले भनिन्, ‘राजनीतिमा लाग्ने रुची सानैमा थियो । तर, बुबाको चाहना कहिल्यै पनि हामीलाई फलानो कमिटी वा कुनै स्थानमा जाओस् भन्ने रहेन, उहाँ आफ्नै दक्षता र योग्यताले केही गरोस् भन्ने चाहानुहुन्थ्यो ।’ बुबाको चाहना तीनै छोरीले पूरा गर्दै अहिले आ–आफ्नो क्षेत्रमा सफल भएका छन् ।

उनी यति बेला नेकपा एकीकृत समाजवादी पार्टी निर्माणमा सक्रिय छन् । पार्टीको प्रदेश कमिटी र अखिल नेपाल महिला संघ (समाजवादी)को उद्योग विभाग प्रमुखको जिम्मेवारी पाएकी छन् उनले । नयाँ पार्टी निर्माणबारे उनले भनिन्, ‘मेरो रहर होइन, हाम्रो सिंगो परिवारको लगानी थियो एमालेमा । तर हामी एमाले भइरहन सकेनौँ । हाम्रो परिवार मात्रै होइन, त्यस्ता धेरै व्यक्तिले बनाएको पार्टी हो एमाले जहाँ आज हामी छैनौँ ।’ उनले भनेझँै आफँैले बनाएको पार्टी आज एमालेका धेरैले छोडेर विद्रोह गरेका छन् ।

लामोसमयदेखि एमालेको अनेमसंघको उद्योेग विभाग सदस्य रहेकी उनले पदअनुसार कुनै पनि जिम्मेवारीको काम गर्न नपाएको बताइन् । पद दिने तर, काम गर्ने वातावरण एमालेमा नभएको उनको अनुभव छ । ‘बैठकमा बस्ने निर्णय र काम गर्ने अवसर कहिल्यै पाइएन,’ एमालेमा हुँदाको अनुभव सुनाइन्, ‘मान्छेलाई उसको योग्यता क्षमताअनुसार जिम्मेवारी दिनुपर्छ तर एमालेमा रहँदा मेरो भूमिका निर्वाचनमा खट्ने र पार्टीलाई सहयोग गर्नेबाहेक केही रहेन । म यो कमिटीमा छु भन्ने अनुभूति कहिल्यै गरिनँ,’ उनले भनिन्, ‘मेरो परिवारको समर्पण लगानी रहेको र आफैं संगठित पार्टी भएकाले आफूले सकेको गरेँ । हामीले पार्टीलाई जति ग¥यौँ त्यो अनुसारको काम गर्ने अवसर भने पाइएन ।’

यति बेला उनी खुसी छैनन् । एमालेबाट विद्रोह गर्दा दुःख लागेको उनले बताइन् । आजको एमाले बनाउन उनका बुबा भरतमोहन र ठूलो बुबा मनमोहन अधिकारीको भूमिका कम थिएन । ‘नौ महिने सरकारको नेतृत्व गर्नुभएको ठूलो बुबा र त्यही सरकारको अर्थमन्त्री मेरो बुबाले गर्नुभएको जनप्रिय कामले आज पनि एमालेको साख बचेको छ’, आफ्ना बुबाले भनेको स्मरण गरिन्, ‘बुबाले बेलाबेलामा भन्नुहुन्थ्यो, कम्युनिस्ट पार्टी विधिले र विधानले चल्छ तर आजको एमाले ती सबै कुरा बिर्सेर स्वेच्छाचारी ढंगले चल्यो । नेतृत्व सीमित घेरमा बसेर चलाउन खोजे ।’ एमाले अध्यक्ष केपी ओलीकै कारण आजको अवस्था आएको हो भन्ने निष्कर्ष लिमाको छ । उनले भनिन्, ‘राजनीतिमा रुची थियो । अहिले म बुबा र ठूलो बुबाले यो पार्टीसँग जोडिएर जे जति गर्नु भयो त्यो आदर्श बचाउन र उहाँहरूले हिँडनु भएको निष्ठाको बाटोमा लागेकी छु ।’

समृद्ध नेपाल बनाउने अभियानमा सबै क्षेत्रका मान्छे राजनीतिमा आउनुपर्ने उनको धारणा छ । मुलुक सबैको साझा भएकाले सबै मिलेर बनाउनुपर्ने उनको बुझाइ छ । ‘अहिलेको राजनीति हिजो हाम्रा बुबा ठूला बुबाले भनेको जस्तो समर्पण र त्यागको देखिँदैन । आजको राजनीति अवसर र केही पाउनका लागि हुँदै छ ।’ लिमाले दृढतापूर्वक भनिन्, ‘हामी त्यसलाई चिर्न चाहन्छौँ । कम्युनिस्ट पार्टी निजी स्वार्थमा लगेर कमाइ खाने भाडो बन्दै छ, यसलाई रोक्नुपर्छ ।’

अहिलेको कम्युनिस्ट पार्टीको अवस्था हेर्दा उनलाई कम्युनिस्ट हुँ भन्न पनि लाज लाग्छ रे ! कम्युनिष्ट आदर्श जोगाउन पनि आपूmले नेकपा (एकीकृत समाजवादी) रोजेकोे उनले बताइन् । लिमाले भनिन्, ‘कम्युनिस्ट पार्टीमा मात्रै होइन, अहिले अन्य पार्टीमा पनि युवाहरूको आकर्षण बडेको छ । मुलुक परिवर्तन राजनीतिक पार्टीमार्फत केही गरौँ भन्ने युवाहरूको सक्रियता बढेको छ ।’

एमाले छाडेर विद्रोह गर्न उनलाई आफू भित्रको चेतना र बुझाइले प्रेरित गरेको उनले सुनाइन् । ‘राजनीतिक रूपमा घरभित्रैबाट धेरै कुरा सिकेँ, घरमा बिहानदेखि रातीसम्मको वातावरण राजनीतिमय हुन्थ्यो । मुलुकमा के भइरहेको छ र के हुँदै छ, बुझ्न गाह्रो थिएन ।’ उनलाई घरको चौघेराले बाल्यकालमै उनलाई राजनीतिका धेरै कुरा सिकायो । नहोस् पनि कसरी बुबा भरतमोहन एमालेको राजनीतिक केन्द्र भागमा थिए, आमा सविता अधिकारी अनेमसंघमा आवद्ध थिइन् । त्यसको गहिरो छाप लीमामा परेको थियो, जुन अहिले देखिने गरी प्रष्फुटन भएको छ ।

‘कम्युनिस्टले कसैको दासत्व स्वीकार गर्दैन, विचार, सिद्धान्त मिलेन भने विद्रोह गर्छ, मैले पनि त्यही गरें’, लिमाले भनिन्, ‘अहिले एमाले छोडेर विद्रोह गर्दा दुःखसँगै गर्व लागेको छ । कम्तिमा सिद्धान्त, नीति र विधीका लागि एउटा असल कम्युनिस्टले गर्नुपर्ने काम गरेको छु ।’ उनको बुझाइमा कम्युनिस्ट नामले मात्रै हुँदैन, त्यसका लागि विचार र सिद्धान्त पनि चाहिन्छ । विचार शून्य बनाएर व्यक्तिका पूजा गरिने पार्टी कम्युनिस्ट नहुने लिमाले बताइन् । पछिल्ला दिनमा एमाले अध्यक्ष केपीप्रति गरिएको देवत्वकरण कम्युनिस्ट पार्टीका नेताका रूपमा नभएको उनको बुझाइ छ । आउने दिनमा कम्युनिस्ट पार्टीको असल सदस्यका रूपमा देश र जनताका हितमा काम गर्ने उनले बताइन् । लिमाले भनिन्, ‘आफ्ना सीप र क्षमतालाई मुलुकको हितमा लगाउँदै बुबाको पथमा हिँड्नेछु ।’

प्रतिक्रिया