सम्पादकीय

चिनियाँ राजदूतको सक्रीयता केका लागि ?

सौर्य अनलाइन २०७८ असोज २१ गते ७:४३ मा प्रकाशित

उत्तरको छिमेकी मुलुक चीनसँग नेपालको स्थलगत व्यापार असहज हुन थालेको एक दशक पुग्न लागेको छ । चीन र नेपालबीच सडक सञ्जालले जोडिएका दुई वटा मात्रै व्यापारिक नाकाहरू छन् । करिब ५० वर्षको इतिहास बोकेको सिन्धुपाल्चोकको तातोपानी नाका २०७० सालदेखि करिब करिब अवरुद्ध छ । एक दशकअघि सडक संजालसँग जोडिएको रसुवागढी नाका चीनले कुन बेला खोल्छ ? कुन बेला बन्द गर्छ ? कुनै ठेगान छैन । २०७० सालमा सिन्धुपाल्चोकको जुरेमा पहिरो आएपछि सडक अवरुद्ध हुँदा केही महिना तातोपानी नाका बन्द भयो । सडक सुचारु भएपछि सुक्खा सिजनमा चीनको तिब्बत क्षेत्रबाट भोटेकोसीमा ठूलो बाढी आउँदा तातोपानी बजार नै तहसनहस भयो । भोटेकोसीको पुल नै क्षति भयो । पुल मर्मत र बजार मर्मत गर्न करिब वर्ष दिन लाग्यो । यो काम सकिँदा नसकिँदै २०७२ साल वैशाखमा ठूलो भूकम्प आयो । भूकम्पले सीमा क्षेत्रका दुवै देशका बजारका घरहरू तहसनहस भए । भूकम्पले ध्वस्त बनाएका संरचना पुननिर्माण सकिँदा नसकिँदै कोभिडको महामारी सुरु भयो । अहिले यही कोभिडलाई कारण देखाएर चीनले यी दुई नाकाहरू कहिले खोल्ने कहिले बन्द गर्ने गरिरहेको छ । व्यापारीहरू मर्कामा छन् ।

चीन सँगका स्थलगत नाका सुचारु हुन नसक्दा लामो समुन्द्रिक मार्ग तय गरेर भारतको बाटो हुँदै चिनियाँ सामान आयात गर्नुपर्ने वाध्यता छ । जसका कारण समय पनि बढी लागेको छ, ढुवानी भाडा पनि बढी लागेको छ । नेपाली उपभोक्ताहरू महँगीको मारमा परेका छन् । नेपालबाट चीनतर्फ बस्तु निर्यात भने असंभवजस्तै बनेको छ । यो एक दशकको अवधिमा नेपालमा धेरैपटक सरकार परिवर्तन भयो । हरेक सरकारले चीनसँग आग्रह गरे । तर सुनुवाई भइरहेको छैन । गत सोमबार मात्रै हिमालय सीमापार व्यापार संघले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई भेटेर सीमा नाकाको समस्या अवगत गरायो । मन्त्री डा. खड्काले पहिल गर्ने आश्वसन दिए । संयोगबस त्यही दिन नेपालका लागि चिनियाँ राजदूत शिष्टाचार भेटका लागि परराष्ट्र मन्त्री खड्का कहाँ पुगिन । तर, नाका सुचारु गर्ने विषयमा खासै प्रगति हुन नसकेको समाचार आएको छ ।
कोभिडको महामारी नेपालमा मात्रै होइन विश्वभर छ । तर, कोभिडका कारण विश्वका कुनै पनि मुलुकमा यसरी व्यापार अवरुद्ध गरिएको छैन । कोभिड त निहुँ मात्रै हो । निकै पातलो बस्ती भएका कारण मानिसको अवतजावत नियन्त्रण गर्न अप्ठेरो छैन । कोभिडभन्दा पनि अरू नै कुनै कारण हुनुपर्छ । भारतको भर पर्नुपर्ने वाध्यताका आफ्नो असल छिमेकी मुलुक नेपाललाई चीनले पु¥याउनु नपर्ने हो । नेपालस“ग चीन यसरी किन झस्केको हो ? भन्ने मामिलामा गम्भीर बन्नु जरुरी छ । पछिल्ला दिनमा त चीनसँग व्यापार तथा पारवहन संझौता पनि भइसकेको छ । भूपरीवेष्टित देशका हैसियतले पारवहन नेपालको अधिकार पनि हो । तर, तातोपानी र रसुवागढी नाका सुचारु हुन नसक्दा चीनसँग गरिएको पारवहन संझौता पनि अर्थहीन भएको छ ।

कोदारी राजमार्ग आसपासका व्यापारीहरू पलायन भइसकेका छन् । यस क्षेत्रको ठूलो लगानी डुबेको छ । तातोपानीबाट सिधै पूर्वपश्चिम राजमार्गको बर्दीबास जोडिने गरी बिपी राजमार्गको निर्माण सम्पन्न हुनासाथ यस क्षेत्रमा ठूलो व्यापारिक लगानी भएको थियो । तीन घण्टामा चीन र भारत जोडिने छोटो दुरीको सडक संजाल निर्माणपछि सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली महोत्तरी लगायतका जिल्लामा ठूलो आर्थिक गतिविधि हुने अपेक्षाका साथ लगानीकर्ताहरू आकर्षित भएका थिए । अन्य मुलुकका राजदूतहरूको तुलनामा पछिल्लो समयमा नेपालमा चिनियाँ राजदूतको सक्रियता बढेको पनि देखिन्छ, तर तातोपानी नाका र रसुवागढीनाकाको अवस्था हेर्दा चिनियाँ राजदूतको यो सक्रियता केका लागि भन्ने प्रश्न पनि उठेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय