काठमाडौं । कवि केवल बिनाबीद्वारा लिखित कविता संग्रह ‘यादहरुको संग्रहालय’ बजारमा आएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा कवि तथा गीतकार भूपाल राई, लेखकद्वय राजेन्द्र महर्जन र धनकुमारी सुनारले संयुक्त रुपमा उक्त कृतिको विमोचन गरे । कार्यक्रममा कवि तथा गीतकार राईले बिनाबीका कविताले विद्रोहको आवाजलाई सशक्त ढंगले उठाएको बताए । उनले बिनाबीका कविताले सत्ताको सोचलाई चुनौती दिएको जिकिर गरे । उनले भने, ‘कवितामार्फत राजनीति गर्न हुन्न’ भन्ने झूटो विचार बोक्नेहरुका विरुद्ध कवि बिनाबी र उनी आबद्ध उन्मुक्त पुस्ताले चलाएको अभियान ठीक ढंगले अघि बढिरहेको छ ।’ राईले स्रष्टाले भूइँमान्छेका आवाजलाई सशक्त रुपमा उठाउनुपर्नेमा जोड दिँदै कवि बिनाबीले तल्लो तप्काका मानिसको आवाजलाई प्रभावकारी रुपमा कवितामा उठाएको बताए ।
लेखक राजेन्द्र महर्जनले कविता जातीय पिरामिडको पिँधमा पारिएका समुदायको विद्रोहको आवाज भएको विचार व्यक्त गरे । उनले कवि बिनाबीले आवाजहीनका आवाजलाई सशक्त रुपमा प्रस्तुत गरेको भनाइ राखे । उनले भने, ‘हामी विभेदको कुरा गर्दा मनुस्मृतिमा पुग्छौँ । तर, त्यसयता पनि धेरै शासकले विभाजन र विभेदको रेखा कोरेका छन् ।’ लेखक महर्जनले जयस्थिति मल्ल, राम शाहजस्ता शासकले रचेको विभाजनबारे पनि बुझ्न जरुरी भएको धारणा व्यक्त गरे । उनले भने, ‘कवि बिनाबीका कविताले त्यतातर्फ पनि सचेतापूवर्क औँला उठाएका छन् ।’
यस्तै, सो अवसरमा लेखक धनकुमारी सुनारले बिनाबीका कविता विभेदविरुद्धको आन्दोलनको दस्तावेज भएको जिकिर गरिन् । उनले भनिन्, ‘संग्रहमा रहेका कविताले दलनविरुद्ध सशक्त प्रतिरोध बोलेको छ ।’ सुनारले समाजमा जातीय रुपमा पिँधमा पारेको मानिसको आवाजलाई मसिनो गरी कविले कवितामा प्रस्तुत गर्न सफल भएको बताइन् । कवि बिनाबीले आवाजविहीनका आवाजलाई कवितामा उधिन्ने कोशिस गरेको बताए । उनले सदियौंदेखि पिँधमा पारिएका आवाजलाई कवितामार्फत उत्खनन् गर्ने आफ्नो प्रयास निरन्तर जारी रहने विचार व्यक्त गरे । ४७ कविता संग्रहित उक्त कृतिलाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।
प्रतिक्रिया