राँझा । कोरोनाका कारण ठप्प हुन पुगेको बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । कोरोनाको संक्रमण कम भएसँगै निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेकोे हो । अहिले निकुञ्जमा आउने आन्तरिक पर्यटकको संख्या दैनिक रूपमा बढिरहेको ठाकुरद्वारास्थित बर्दिया टाइगर रिसोर्टका प्रबन्ध निर्देशक रेशम थापाले जानकारी दिए ।
उनका अनुसार बाँके र बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशसहित अन्य जिल्लाबाट पाहुना घुम्न आएका छन् । बाहिरी जिल्लाका साथै दसँै मनाउन बाँके र बर्दिया फर्किएका सर्वसाधारण पनि यतिबेला निकुञ्जमा आउने गरेको प्रबन्ध निर्देशक थापाले बताए । दसैँसँगै ठाकरद्वारास्थित होटेलले पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजनासमेत ल्याएका छन् । बर्दिया टाइगर रिसोर्टले अरू बेलाको भन्दा धेरै सुलभ रुपैयाँमा दसैं प्याकेज बनाएको प्रबन्ध निर्देशक थापाले बताए । ठाकुरद्वारा क्षेत्रमा २८ वटा पर्यटकीय होटल छन् । कोरोनाका कारण पर्यटकको आवागमन नहुँदा धराशायी बन्न पुगेका होटल अहिले विस्तारै तंग्रिने प्रयत्नमा रहेको पर्यापर्यटन विकास मञ्च जिल्ला अध्यक्ष मोहनलाल चौधरीले जानकारी दिए ।
सरकारले पर्यटनसम्बन्धी नीति बनाएरै पर्यटन व्यवसायीको समस्या सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले दसैँलाई लक्षित पर्यटकीय क्षेत्रका होटल व्यवसाय सञ्चालनमा आए पनि पूर्ण रूपमा राम्रोसँग चल्न अझै समय लाग्ने उल्लेख गरे । ‘अरू व्यवसायजस्तो लकडाउन खुल्नासाथ होटल व्यवसाय राम्रोसँग सञ्चालनमा आउन सक्दैन, सवारी आवागमन हुनुपर्दछ, मान्छेले होटलमा बस्नसक्ने सुरक्षा र आर्थिक जोहोको व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘कोरोना कम भए पनि पूरै सकिएको छैन, अत्यावश्यक कामबाहेक मान्छेले घर छोड्ने अवस्था नरहेका बेला होटल व्यवसाय सञ्चालन गरेर फाइदा हुनै सक्दैन त्यसैले अरू बजार सामान्य अवस्थामा आए पनि होटललाई लामो समय लाग्नेछ ।’
प्रतिक्रिया