जबज र कार्यदिशाबारे भुसालको फरक मत

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल दुई पटकसम्म भएको संसद विघटन र जनताको बहुदलीय जनवादसहितका मुद्दामा फरक मत राखेका छन् । लामो समयदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फरक मत राखिरहेका उनले शनिबारको केन्द्रीय कमिटीमा पनि आफ्नो कुरा राखे । उनले एमाले नेतृत्वको सरकारबाटै संसद विघटन गर्नु गलत भएको स्वीकारेर अघि बढ्नुपर्ने मत राखेका थिए । तर अध्यक्ष ओलीले संसद विघटनलाई हिजो, आज र भोलि पनि ठीकका रुपमा व्याख्या गरे ।

उनले बैठकपछि बाहिरिँदै अहिले पेश भएका दस्तावेजहरुमा पनि धेरै कमी कमजोरी रहेको बताएका छन् । ’अहिले पेश भएका दस्तावेजहरुमा पनि धेरै कुरा आवश्यक छ । केही कुरा उचित पनि छन् । नपुगेका केही आधारभूत कुराहरुबारे मैले बैठकमा राखेँ’, उनले भने, ’मैले स्थायी कमिटी र केन्द्रीय कमिटीमा दुवैमा आफ्ना कुरा राखेको छु ।’

भुसालले अहिले नेपालको कम्युनिष्ट आन्दोलनले ठूलै धक्का खाएको बताए । ’कम्युनिष्ट आन्दोलनले खाएको धक्का सानोतिनो छैन । यसको वस्तुगत मूल्यांकन गर्नुपर्छ’, उनले भने, ’क्रान्तिकारी पार्टीले कुरा लुकाउनु हुँदैन । समीक्षा गर्नुपर्छ ।’ उनले आफूले २०६४ सालदेखि नै पार्टीको कार्यनीतिबारे कुरा उठाएको पनि बताए । उनले फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि फागुन २८ मा पार्टी कब्जा गर्ने गरी गरिएका निर्णयले विभाजनको अवस्था निम्त्याएको पनि बताएका छन् ।

’२०६४ सालदेखि नै मैले उठाउँदै आएको कुरा के हो भने हामी अब समाजवादतिर नै जाने हो । तर त्यो यात्रा कसरी गर्ने ? अझै हामी टुंगोमा पुगेका छैनौँ’, उनले भने, ’निजी सम्पत्ति अन्त्य गर्ने गरी अहिले समाजवाद सम्भव छैन । तर अहिलेबाटै त्यसका लागि ठोस कार्यक्रम बनाउनु जरुरी छ भनेका थियौँ । अहिले पनि मेरो मत त्यही नै हो ।’

उनले जनताको बहुदलीय जनवादको पनि परिभाषा आवश्यक रहेको कुरा बैठकमा राखेका छन् । ’हामीले जबजको कुरा गरेका थियौँ । जबजका कार्यनीतिबारे हामीले पटक पटक परिभाषित गर्दै आएका छौँ । तर जबज हाम्रा लागि आँखा नदेख्नेले हात्ती छामे जस्तो भयो’, उनले भने, ’मैले पहिलेबाटै भनेको हो अब परिभाषित गरौँ । जबज स्वयम् के हो भन्ने कुरा परिभाषित गरेका छैनौँ ।’ अब यस विषयमा लामो समय अल्झिन नसकिने उनले बताए । ’यस विषयमा हामी लामो सयम जान सकिँदैन’, उनले भने, ’अब जबजलाई परिपूर्ण गरौँ भन्ने मेरो कुरा हो ।’

प्रतिक्रिया