बातलाबामा आनन्ददेव

काठमाडौं । बातलाबाको १५औँ शृंखलामा प्रगतिशील साहित्यकारको आनन्ददेव भट्टको योगदानका बारेमा चर्चा गरिएको छ । नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा लामो समय योगदान दिएका भट्ट र जनगायक जे.बी. टुहुरेको स्मरणमा गीतसमेत प्रस्तुत गरियो । भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रमा स्रष्टा डि.आर. पोखरेलले भट्टको कृतित्व र योगदानको चर्चा गर्दै नेपाली समाजमा सांस्कृतिक रुपान्तरणका पक्षमा निरन्तर आवाज उठाउँदै आएको अग्लो व्यक्तित्वका रुपमा आनन्ददेव रहेको जनाए । उनले चितवनबाट सिर्जना पत्रिकाले २०६२ सालमा र झापाका चुडामणि रेग्मीले जुही पत्रिकामा आनन्ददेव विशेष प्रकाशन गरेको जानकारी दिए । पोखरेलले चितवनमा भट्टको अभिनन्दन ग्रन्थ प्रकाशन गर्न नरबहादुर खाँडको संयोजकत्वमा एउटा सचिवालय गठन गरी सार्वजनिक अभिनन्दन गर्दै २०६८ सालमा ग्रन्थ प्रकाशन गरेको सुनाए ।

उनका अनुसार आनन्ददेवले चितवनमा २ लाख रुपैयाँको अक्षयकोष राखेर सहिद दशरथ चन्द स्मृति पुरस्कार स्थापना गरेका थिए । जुन २०७० सालदेखि नियमित प्रदान हुँदै आएको छ । भट्टले चितवनमा रहेर साहित्यिक पत्रिका निकाल्ने, साहित्य सिर्जना प्रकाशन गर्ने र गाउँ गाउँ गएर राजनीतिक संगठन गर्ने कार्य गरेको सुनाउँदै पोखरेलले भने, ‘शिक्षा क्षेत्रमा लागेर आफ्ना राजनीतिक विचारलाई स्थापित गर्न लाग्नुभयो । जहाँ पुग्नुभयो त्यहीँ राजनीतिक र साहित्यिक संगठन निर्माण गर्नुभयो ।’

सर्वप्रथम उनको २०१३ सालमा ‘म तयार छु’ शीर्षकको कविता इन्द्रेणीमा छापियो । २०१५ सालदेखि ‘अब हिमाल बोल्छ’, ‘गुराँस’ कविता संग्रह, ‘१९९७ साल’ काव्य लगायत पुस्तकाकार कृति प्रकाशन हुन थाले । उहाँको निबन्ध, समालोचना र दर्शनका पुस्तक सबै गरेर २४ वटा पुस्तक प्रकाशित छन् । पोखरेलले भट्ट खासमा आदर्शवान् व्यक्तित्व रहेको जिकिर गर्दै कुनै समय पनि ढलपल नगरेको धारणा राखे । उनले भने, ‘उहाँ २००७ सालको आन्दोलनमा लाग्नुभएका गोविन्दप्रसाद लोहनी, श्यामप्रसाद शर्मा, कृष्णचन्द्रसिंह प्रधान, तुलसीलाल अमात्य, मदनमणि दिक्षितका रचनाबाट प्रभावित भएको देखिन्छ । २००८ सालदेखि कम्युनिष्ट पार्टीको समर्थनमा पुग्नुभयो र २००९ सालमा सदस्यता लिनुभयो । त्यतिबेला उहाँ १६ वर्षको हुनुहुन्थ्यो ।’

उनले त्यसवेला उपत्यकमा पार्टी संगठन निर्माण गर्ने जिम्मेवारी लिएका थिए । उनी साहित्यमा आउनुभन्दा अगाडि नै राजनीतिमा लागेको बताउँदै पोखरेलले २००७ सालपछि जनताको समस्या समाधान हुनुको साटो झन् बढ्दै उनमा विद्रोह भाव पैदा गरेको सुनाए । पोखरेलले भने, ‘२०१३ सालमा चीनका राष्ट्रपति चाउ एनलाइ नेपाल आएको बखत जुलुस गर्दै गएर उहाँको छेउमा पुगेपछि ग्वाम्लाङ्गै अँगालो हाल्नुभयो । उहाँ एकदम भावुक, संवेदनशील पनि हुनुहुन्थ्यो । २०१६ सालमा मास्टर्स सकेपछि धनकुटामा पढाउनुभयो, त्यसपछि केही समय धरानमा पढाउनुभयो । त्यतिबेला उहाँ विद्यार्थीको जुलुसमा सहभागी हुनुभयो र तत्कालीन जिल्ला प्रशासन अधिकारीलाई थर्काउनुभयो । पञ्चायतको विरोध गर्दै जाने क्रममा उहाँ २०२२ साल वैशाख २ गते पक्राउ परेर तीन महिनासम्म विराटनगर जेलमा बस्नुभयो ।’

जेलबाट छुटेपछि २०२२ साल साउनमा भट्ट चितवन आएका थिए । त्यहाँ उनले २०२४ सालमा डा. मथुराप्रसाद श्रेष्ठ, गुणबहादुर गुरुङ, जगतबहादुर श्रेष्ठ, मदनमोहन जोशी, यमुनाप्रसाद न्यौपानेसँग मिलेर नन सेन्टर ग्रुप बनाए । त्यस ग्रुपमा सैद्धान्तिक, वैचारिक व्याख्यताका रुपमा उनै भट्ट थिए । पोखरेलका अनुसार उनले ९ वर्ष चितवनमा पढाएका थिए । उनले भने, ‘अहिलेका अघिल्लो साहित्यिक पुस्ता जुन छ, त्यो भट्ट सरको देन हो । २०४२ सालमा विमर्श साप्ताहिकमा अन्तर्वार्ता दिने क्रममा आफू माक्र्सवादी भएको बताउनुभयो । शिक्षण पेशामा रहेकै कारणले अञ्चलाधीश कार्यालयले उहाँको स्पष्टिकरण लियो र उहाँले ३ घण्टा लगाएर लामो स्पष्टिरकण दिनुभयो । २०४६ सालमा उहाँ सक्रिय हुनुहुन्थ्यो ।’

स्रष्टाहरुको चैत्र ३ को पञ्चायती विरोधी धर्ना कार्यक्रममा अग्रिम भूमिका निर्वाह गरेका उनले २०५० सालमा एमाले पार्टीमा लागेर २०५१ र २०५४ मा चुनाव लडेका थिए । तर, खासै राम्रो नतिजा प्राप्त गर्न सकेनन् । उनी २०६२/६३ सालको आन्दोलनमा समेत सक्रिय थिए । स्रष्टा पोखरेलले भट्टका नभएका कृतिको पुनः प्रकाशन गर्ने, कृतिको समीक्षा÷मुल्यांकन गर्नुपर्ने विचार व्यक्त गरे । उनले थपे, ‘अंग्रेजी भाषामा पनि अनुवाद गर्नुपर्छ । उहाँको नाममा प्रतिष्ठान र पुरस्कार स्थापना हुनुपर्छ । उहाँले प्रलेस, चितवनको सिर्जना आदिमा स्थापना गर्नुभएको पुरस्कारको अझै उचित व्यवस्थापन हुनुपर्छ ।’

त्यस्तै, डा. पुष्करराज भट्टले आनन्ददेवले राणा, पञ्चायत, प्रजातन्त्र र गणतन्त्रका चरण, काल भोग्न, अनुभव गर्न पाएको बताए । उनले भने, ‘जुनबेला नेपाली प्रगतिशील समालोचना व्यवस्थित थिएन, त्यतिबेला समालोचनामा कलम चलाउनुभयो र उत्कृष्ट सिर्जना दिनुभयो । उहाँ वामपन्थी÷माक्र्सवादी सर्जक भए पनि इतरका स्रष्टाको रचनाको पनि समालोचना गर्नुभएको छ ।’ पुष्कारराजले आनन्ददेवले आफ्नो विचारलाई कायम राखेर सकारात्मकता, सीमा र वैचारिक समस्याका बारेमा काम गरेको सुनाउँदै निर्भिक समालोचक भएको बताए । उनले भने, ‘माक्र्सवादी समालोचनाको प्रारम्भकर्ता, जग हाल्ने लेखकको रुपमा उहाँलाई सम्झनैपर्ने हुन्छ । माक्र्सवादी कविता लेख्ने कविको रुपमा पनि उहाँले योगदान दिनुभएको छ । उहाँको लेखनका बारेमा अझै पनि अनुसन्धान, खोजी हुनुपर्छ । उहाँका निबन्धमा गम्भीर चिन्तन पाइन्छन्, ससाना कुरालाई निबन्धमा उल्लेख गर्नुभएको छ ।’

निबन्ध विधाको परिष्कारमा विकास र उन्नयनमा आनन्ददेवको अत्यन्त महत्वपूर्ण योगदान रहेको जनाउँदै पुष्करराजले उनको लेखन केही समय टुट्ने र फेरि जोडिने क्रम चलेको बताए । आनन्ददेवले प्रलेसको नेतृत्व गरेका बताउँदै उनले स्रष्टा आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै साहित्यिक संगठक गरेको जानकारी दिए । आनन्ददेवले पञ्चायत कालमा उत्साह लगायत पत्रिकाको सम्पादन पनि गरेका थिए । पुष्करराजले जन्मघर जुम्ला र मूलघर बैतडी भएर वैचारिक रुपमा खारिँदै मूलधारको साहित्यिक आन्दोलनमा आफूलाई स्थापित गर्नु भनेको सामान्य कुरा नभएको बताए । उनले नयाँ पुस्ता आनन्ददेवबाट सिक्ने भनेको लेखनप्रतिको प्रतिवद्धता, इमान्दारिता, विचारप्रतिको दृढता भएको सुनाए । शिक्षा, साहित्य र राजनीतिका त्रिवेणी आनन्ददेवको जन्म वि.सं. १९९३ असोज २५ गते जुम्लाको खलंगामा भएको थियो । उनको निधन गएको भदौ १४ गते भएको थियो ।

सो कार्यक्रममा गायिका कुश्मिता दर्लामीले जनगायक जे.बी. टुहुरेको गीत प्रस्तुत गरेकी थिइन् । सातै प्रदेशका कवि संलग्न कार्यक्रममा इन्द्र रेग्मी, रिमा केसी, राधा दुलाल, डा. बालाकृष्ण अधिकारी, राम खरेल, नाकारा खोटाङ, हरि सुवेदी, जीवन स्पर्शी, खेम बतास, अशोक कुँवर नेत्र, युद्धविक्रम शाही र चिन्तु गिरीले कविता सुनाएका थिए । लेखक पारस ढकालले नेपालको वैचारिक सांस्कृतिक आन्दोलनमा आनन्ददेवले महत्वपूर्ण योगदान दिएको बताए । साहित्यकार चेतनाथ धमलाले समाज रुपान्तरणका पक्षमा भट्टले निरन्तर आवाज उठाउँदै खबरदारी गरेको बताए । उनले सरल तर विचारप्रति प्रतिबद्ध व्यक्तित्वका रुपमा नेपालको प्रगतिशील आन्दोलनमा भट्टलाई चिनिने विचार व्यक्त गरे । अखिल नेपाल लेखक संघका अध्यक्ष केशव सिलवालले समाजको रुपान्तरणकारी परिवर्तनको आन्दोलनमा भट्टले काम गरेका सुनाए ।

प्रतिक्रिया