एमाले केन्द्रीय कमिटी बैठक : सचिवालय खारेज र ७ उपाध्यक्ष राख्न सुझाव

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलको निचोडबारे टोली नेताले ‘बिफ्रिङ’ गरेका छन् । शनिबारको बैठकमा समूहगत छलफलको निचोड प्रस्तुत गरिएको पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । राजनीतिक, सांगठनिक र विधान संशोधनको प्रस्तावमाथि छलफल गर्न एमाले केन्द्रीय सदस्यहरूलाई १० समूहमा विभाजन गरिएको थियो । समूगत छलफलको निचोडअनुरूप जनताको बहुदलीय जनवादको मार्गनिर्देशनमा नेपालको लोकतान्त्रिक जनवादी क्रान्ति सम्पन्न भएको र अब समाजवादको आधार निर्माण गर्ने कुरालाई पार्टीको कार्यदिशा बनाउनुपर्ने निष्कर्ष समूहगत छलफलबाट आएको उनले बताए ।

‘जनताको बहुदलीय जनवादको मार्गनिर्देशनमा हामीले ०६२–६३ को ऐतिहासिक जनक्रान्ति र संविधान निर्माणसम्म आइपुग्दा एउटा क्रान्ति सम्पन्न गरेका छौँ । नेपालमा लोकतान्त्रिक जनवादी क्रान्ति सम्पन्न गरेका छौँ,’ उनले भने, ‘अब नेपाली समाजमा रहेका पछौटे, सांस्कृतिक, सामाजिक, आर्थिक प्रणाली छन् । ती कुरामा रूपान्तरण गर्दै र क्रान्तिका उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै समाजवादको आधार निर्माण गर्ने कुरालाई पार्टीको कार्यदिशाको रूपमा अगाडि बढाउनुपर्छ भन्ने धेरै टोलीका साथीहरूको सुझाव आएको छ ।’

एमाले कम्युनिस्ट आन्दोलनको एकताको प्रतीक र प्रवृत्ति भएकाले विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने कार्यभार एमाले नै पूरा गर्नुपर्ने सुझाव बैठकमा प्रस्तुत भएको उनले जानकारी दिए । कम्युनिस्ट पार्टीसँग छलफल गरेर विभाजनकारी प्रवृत्तिमाथि संघर्ष गर्दै एउटै पार्टी बनाउने कार्यदिशा पार्टीले तय गर्नुपर्ने सुझाव पनि आएको भट्टराईले बताए । यस्तै, नीति निर्माण, जनप्रतिनिधि, पार्टीको नेतृत्वमा समेत युवाहरूको उल्लेख्य सहभागिता बढाउन पनि सुझाव आएको उनले उनले जानकारी दिए ।

महिला, जनजाति, दलित, अपांगता भएका व्यक्तिहरूलाई समावेश गरेर राष्ट्रिय चरित्र र समावेशी खालको पार्टी बनाउनुपर्ने सुझाव टोलीका नेताहरूले दिएको उनको भनाइ छ । आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी अघि बढ्नुपर्ने सुझाव पनि टोली नेताहरूले दिएको उनले बताए । नेताहरूले पार्टीमा सात उपाध्यक्षको व्यवस्था गरिनुपर्ने सुझाव दिएका छन् । यसैगरी, एक व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न नहुने सुझाव पनि आएको उनले जानकारी दिए । त्यो कार्यान्वयन भइरहेको विधानमा पनि व्यवस्था रहेको उनले बताए । ७० वर्षे उमेरहद पनि कायमै राखिएको छ । आइतबार बिहान ११ बजे पुनः बैठक बस्ने र आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले जवाफ दिने भट्टराईले जानकारी दिए । एमालेको यही असोज १५–१७ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमाथि छलफल भइरहेको हो ।

प्रतिक्रिया