संवैधानिक इजलास गठनबारे सर्वोच्चमा सुनुवाइ हुँदै आज

काठमाडौं । प्रधान न्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन सक्ने कि नसक्ने भन्ने मुद्दामाथि आज शुक्रबार सुनुवाइ हुँदैछ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा यस मुद्दामाथि सुनुवाइ हुन लागेको हो। अधिवक्ता दीपकविक्रम मिश्र र डा. गणेश रेग्मीले दायर गरेका छुट्टाछुट्टै रिटको सुनुवाइ हुने गरी सो इजलासमा पेसी तोकिएको हो ।

बहस सकिए आजै फैसला आउन सक्ने सर्वोच्च स्रोतले जनाएको छ । न्यायाधीश हरि फुयाँलको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेसी तोक्न आदेश दिएबमोजिम आज पेसी तोकिएको हो । संवैधानिक परिषद्ले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवादपछि यो प्रकरण अदालतमा मुद्दाका रूपमा छ । प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्ने कि नबस्ने भन्ने मुद्दाको टुंगो लागेपछि मात्र संवैधानिक नियुक्तिहरूविरुद्धको रिटमाथि सुनुवाइ अघि बढ्नेछ।

प्रतिक्रिया