अमेरिकाले गरिब देशलाई ५० करोड डोज खोप दिने

वासिंगटन । अमेरिकाले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेको फाइजरको ५० करोड डोज खोप अनुदानमा कमजोर आय भएका मुलुकलाई दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार विश्वका एक सय मुलुकलाई उक्त खोप अनुदानमा दिन लागिएको बताएका छन् । बाइडनले यसअघि विश्वभरका नेताहरुलाई समग्र विश्वका मानिसमा कोरोना खोप पु¥याउन आग्रह गरेका थिए । अमेरिकाले एक अर्ब १० करोड डोज कोरोना खोप अनुदानमा वितरण गर्ने योजना बनाएको छ । उसले यसअघि नै करिब १६ करोड डोज खोप वितरण गरिसकेको छ ।

यस वर्षको अन्तिमसम्ममा करिब २० करोड डोज कोरोना खोप वितरणको लागि पठाइन सक्ने अपेक्षा छ । बाँकी ८० करोड डोज भने अर्को वर्षको सेप्टेम्बरसम्ममा वितरण गरिने अमेरिकाका एक वरिष्ठ अधिकारीले बताएका छन् । अमेरिकी राष्ट्रपति बाइडनले संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै बुधबार विश्वका सबै स्थानमा कोरोना महामारीको अन्त्य गर्नु जरुरी रहेको बताएका छन् । उनले सबै मुलुकलाई आगामी वर्षको सेप्टेम्बरसम्ममा विश्वभरका ७० प्रतिशत मानिसमा कोरोना खोप पु¥याउन सहयोग गर्न आग्रह गरेका छन् । उनले भने, ‘यो निकै महत्वाकांक्षी लक्ष्य हो तर यो निकै महत्वपूर्ण छ ।’

अहिले विश्वभर ६ अर्ब डोजभन्दा धेरै कोरोना खोप वितरण भएको छ । यद्यपि धनी र गरिब मुलुकमा खोप वितरणमा भने निकै ठूलो असमानता देखिएको छ । अहिलेसम्म कम आय भएका मुलुकमा औसतमा २० प्रतिशत मानिसले कोरोना खोप लगाएका छन् भने धनी मुलुकले भने औसतमा ८० प्रतिशतभन्दा धेरै मानिसलाई कोरोना खोप दिइसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । डब्ल्यूएचओका अनुसार विश्वभरका ७० प्रतिशत मानिसलाई कोरोना खोप पुर्याउन करिब ११ अर्ब डोज खोप आवश्यक पर्छ ।

प्रतिक्रिया