दाताका भरमा बाल अनाथालय

महेन्द्रनगर । अभिभावकविहीन बालबालिकाको आश्रयस्थल बनेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अञ्चल बाल अनाथालय दाताका भरमा चलिरहेको छ । ०४९ सालमा स्थापना भएको बाल अनाथालयलाई राज्यबाट सहयोग नहुँदा अनाथालय सञ्चालनमा समस्या भइरहेको भए पनि कुनै पनि निकायले चासो देखाएका छैनन् । तत्कालीन जिल्ला विकास समितिले वार्षिक रूपमा अनाथालयलाई केही रकम खाद्यान्न खरिदका लागि अनुदान दिइरहेको थियो । पछिल्ला वर्षमा स्थानीय सरकार आइसकेपछि सो रकम आउन बन्द हुँदा अनाथालयको खर्च व्यवस्थापनमा निकै समस्या भइरहेको अनाथालयका कार्यालय प्रमुख शंकर चन्दले जानकारी दिए ।

अनाथालयमा हाल २९ बालबालिका आश्रित छन् । सबैजसो बालबालिकालाई बजार क्षेत्रका निजी तथा सरकारी स्कुलले निःशुल्क अध्यापन गराइरहेको भए पनि अनाथालयको अन्य व्यवस्थापनमा भने आर्थिक अभाव हँुदै आएको छ । ‘नगरपालिकासँग अनाथालय सहयोगका निम्ती धेरै गुहार माग्यौँ’, उनले भने, ‘पर्खाल निर्माणका लागि सहयोग भए पनि बालबालिकाको पालनपोषणका लागि केही पनि भएन ।’ अनाथालयलाई हालसम्म १ सय ९३ जना टुहुरा बालबालिकालाई आश्रय दिइसकेको जनाएको छ ।

‘यहाँ आश्रय लिएर पढेका धेरै बालबालिका जागिरमा छन्’, चन्दले भने, ‘सेना, प्रहरी, शिक्षक र निजामती सेवामा यहाँबाट पढेर गएका बालबालिका पनि छन् ।’ अनाथालय व्यवस्थापन समितिसँगै दाताको खाद्यान्न, लत्ताकपडा लगायतको सहयोगले अनाथालय चलिरहेको चन्दको भनाइ छ । ‘जन्मदिन, श्राद्ध, विवाहको खुसीमा यहाँ दाता सहयोग गर्छन्’, उनले भने, ‘स्कुल र सहकारीको पनि महत्वपूर्ण सहयोग छ ।’
त्यसैगरी पछिल्लो समय अनाथालय व्यवस्थापन समितिका पदाधिकारी र सदस्यले अनाथालय सञ्चालनका लागि १६ लाखको अक्षयकोषसमेत स्थापना गरेको चन्दले बताए । ‘अक्षय कोषमा आउने ब्याजबाट बालबालिकाको पालनपोषणमा खर्च गर्ने गरिएको छ’, उनले भने, ‘स्थानीय र प्रदेश सरकारले अनाथालयलाई बेवास्ता गरे ।’

प्रतिक्रिया