क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेलेर सोमबार स्वदेश फर्किएको छ । सोमबार बिहान राष्ट्रिय टोली ७ : २५ मा त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । नेपाली टोली छाडि सकेका मुख्य प्रशिक्षक देभ ह्वाटमोर भने उतैबाट भारततर्फ लागेका छन् ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । अमेरिकासँग दोस्रो खेलमा भने नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो । अन्तिम खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको थियो । त्रिकोणात्मक सिरिजअघि तयारीको लागि नेपालले पपुवा न्युगिनीसँग दुई ओडिआई खेल खेलेको थियो । नेपाल पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा १ सय ५१ रनको अन्तरले विजयी भएको थियो ।

अव नेपालले २०२२ मा फेब्रुअरीमा घरेलु मैदान टियुमा पपुवा न्युगिनी र युएईसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने कार्यक्रम छ । नेपालले विदेशी टोलीसँग सहकार्य गर्दै त्यसअघि पनि खेल्न सक्छ । योसँगै नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक जोड्दै अंक तालिका चौथो स्थानमा उक्लिएको छ ।

ओमान १३ खेलमा १० मा जित र ३ मा हार सहित २० अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १५ खेलमा ७ मा जित र ८ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ । नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित नेटरन रेटको आधारमा पाँचौं स्थानमा । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै छैटौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

प्रतिक्रिया