नेतृत्वमा हुनुपर्ने गुण

मकुन्द न्यौपाने

सुदृढ र वैचारिक रूपले स्पष्ट पार्टी निर्माणविना सामाजिक रूपान्तरणका कुरा केवल देखावटी मात्र हुन्छन् । मुलुकमा परिवर्तन र समाजमा रूपान्तरणको कामलाई अगाडि बढाउने हो भने पार्टीले स्पष्ट दिशाबोध भएको चुस्तफुर्तिला र ज्ञानयुक्त विवेक बोकेका युवापंक्ति तयार गर्नुपर्छ । परिवर्तनको आन्दोलनले जनताको जीवन उच्चाइमा पुर्याउने हो भने पार्टीले जनताको इच्छा आवश्यकता र भावनालाई आत्मसात गर्न सक्नुपर्छ र त्यस अनुरूप आफ्नो संगठनलाई परिचालन गर्नुपर्छ ।

नेताले आफ्नो स्वार्थ पूरा गर्न जनतालाई उपयोग गर्ने आजको आचरणबाट दलको नेतृत्व पूर्ण रूपमा मुक्त हुनुपर्छ । त्यसका लागि शुद्धीकरण भनेको विचार व्यवहार संगठन र आचारणको शुद्धीकरण हो । सुदृढीकरण भनेको माथिका कुरामा तलदेखि माथिसम्मका सम्पूर्ण कमिटीहरूलाई सुदृढ गर्नु र एउटै विचारमा आबद्ध गरी कमिटीमा आबद्ध कार्यकर्तालाई जनतासँगको घनिष्ठ सम्बन्धमा जोड्नु हो ।

शुद्धीकरण र सुदृढीकरण एकअर्कासित गाँसिएका अन्यान्योश्रित विषय हुन् । एउटाको अभावमा अर्को अपुरै रहन्छन् । नेकपा (एमाले) भित्र लामो समयदेखि विचार, संगठनको व्यवस्थापन र कार्यशैलीको व्यवस्थापनमा गम्भीर समस्याहरू देखा परे । छैटौँ महाधिवेशनको तयारीकालदेखि उत्पन्न यी समस्याले अनेकौँ उतारचढाव फुट र बिखण्डन आन्तरिक गुटबन्दी, आपसी खिचातानी चरम मनमुटाव र अविश्वासको अवस्था पार्टीभित्र बढाइदियो । पार्टीभित्रका ती समस्याको निराकरण गर्न हामीले विचार, संगठन निर्माण र कार्यशैलीमा देखिएका गलत प्रवृत्तिको क्षेत्रमा निराकरण नगरी गर्न सक्दैनौँ ।

०४७/४८ अगाडि हामीसँग परिवर्तनको एजेन्डा प्रधान थियो । त्यसको लागि वैचारिक बहस संगठन निर्माण र परिचालन कार्यकर्ताको प्रशिक्षण कार्यशैलीमा सुधारको विषयमा निरन्तर छलफल र बहसहरू हुन्थे । देश र जनताका लागि त्याग गर्ने कुरा चिन्तनको केन्द्रभागमा हुन्थ्यो । एकले अर्काेलाई माया गर एकले अर्काेलाई ख्याल गर र एकले अर्काेलाई मद्दत गर भन्ने भावना थियो । वास्तवमा त्यसवेलाको कार्यशैलीको आधारभूत मर्म र भावनाको नमुना नै यस्तै हुने गर्दथ्यो ।

०४६ को जनआन्दोलनले ल्याएको परिवर्तनले हाम्रासामु संसद् र संसदीय व्यवस्थाको स्थापना भयो । हाम्रो पार्टी ०४८ सालको निर्वाचनपछि नेता कार्यकर्ताको ठूलै पंक्ति संसदीय प्रणालीभित्र प्रवेश गर्यो । ०४६/४७ को परिवर्तनले हाम्रासामु विचार, कार्यशैली र संगठनको एजेन्डाको अलावा लाभ अवसहरूको वितरण र व्यवस्थापनको एजेन्डासामेत थपिदियो । पछिल्लो कालमा आएर क्रमशः लाभ प्राप्तिको एजेन्डा हावी हुँदै गयो । कमरेड मदन भण्डारीको मृत्युपछि खासगरी एमाले सरकारमा प्रवेश गरेपछि लाभ प्राप्तीको एजेन्डाले प्राथमिकता पाउँदै गयो र परिवर्तनको एजेन्डा ओझेलमा पर्दै गयो । व्यक्तिगत लाभ कि मुलुकको परिवर्तन एमालेभित्रको झगडाको मूल जरो बन्यो । हाम्रो नेतृत्वको मस्तिष्कको चिन्तनको केन्द्रभागमा प्राप्तिको एजेन्डा प्रधान बन्दै गएका कारण हामी आफ्ना गल्ती कमजोरीलाई पटक्कै नदेख्ने दोष जति अरूको टाउकोमा थोपर्ने अरूलाई गाली गर्ने र गालीमा आएको तालीमा रमाउने गल्ती आफूले गर्ने आफूले गरेका गल्ती ढाकछोप गर्न अर्कोतिर औलो ठड्याएर धारे हात लगाएर सराप्ने, जनतामा भ्रम सिर्जना गर्ने यस्तो गैरमाक्र्सवादी आचरण र शैली एमालेको नेतृत्व उन्मुख भयो ।

एउटा भनाइ छ, ‘आफ्नो दलानमा थुप्रिएको फोहोर सफा गर्न नसक्नेले अर्काको आँगनमा रहेको कँसिगरतर्फ औँला उठाउनुको औचित्य हुँदैन’ । विचार नै हरेक नतिजाको जननी हो । आज एमाले पार्टीको नेतृत्वको विचार गर्ने तरिका गन्जागोल छ । कसको बारेमा सोच्ने र के परिणाम ल्याउन सोच्ने हो ? जस्तो विचार मस्तिस्कमा रोपिन्छ त्यस्तै व्यवहार उम्रन्छ र त्यस्तै फल्छ । फल भनेको विचार र काम गर्ने तरिकामा रहेको सही र गलतपनाको परिणाम हो । नेपालको राजनीतिमा सात सालदेखि हालसम्म तीन ओटा क्रान्ति सम्पन्न गरी ७२ वर्ष पारगर्दा पनि मुलुक संक्रमणकालमै छ । ३० वर्ष निरंकुश राजतन्त्रले शासन गर्यो । ०४७ सालदेखि राजनीतिक दलको नेतृत्व शासनमा आयो । १० वर्ष जनतालाई सुशासन दिने भन्दा पनि पार्टीभित्रैका आपसी कलहले ज्ञानेन्द्र जन्मायो । जसको परिणाम मुलुक चरम निरंकुशतातिर धकेलियो ।

आज एमाले भित्रको समस्या भनेको वैचारिक अस्तव्यस्तता हो । पार्टीभित्र हुर्केका गलत बानी र आदत, शालीन, अध्ययनशील सिद्धान्तनिष्ठहरूलाई पाखा लाउँदै जाने, पैसा र पद प्राप्तिको लागि झुठा तानावाना बुनेर गलत सूचना प्रवाह गर्ने चाप्लुवाजहरूको बहुकाउमा नेतृत्व फस्दै जाने अवस्थामा पुग्दा पनि नेतृत्वले त्यो अवस्थाबाट पार्टीलाई मुक्त गर्नुको साटो त्यसलाई प्रोत्साहन गर्दै गए । नेतृत्वको यस्तो संस्कार रूपान्तरण नभइ सिंगोे पार्टीको कार्यशैलीमा रूपान्तरण हुन सक्दैन । भनिन्छ, पानी र बानी माथिबाट बग्छ । गलत आचरणहरू माथिबाटै तल पुगेका सरुवा रोगका लक्षण हुन्, सुके लुतो जस्तो ।

माक्र्सवादी पार्टीका कार्यकर्ताले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने हाम्रो चिन्तनको केन्द्रभाग मस्तिस्कमा जे कुरा स्थापित हुन्छ त्यहीँ व्यवहारमा प्रकट हुन्छ । जनता र राष्ट्रको सेवाभाव केन्द्रभागमा भए व्यवहारमा त्यहीँ देखिन्छ पद र पैसा केन्द्र भागमा भए दलाल पुँजीपतिवर्ग माफिया र चाप्लुसवाजहरू हरदम वरिपरि घुमिरहेका देखिन्छन् । हामी के खान्छौँ कहाँ जान्छौँ कसरी बोल्छाैं अरूका कुरा कति चाख लिएर सुन्छौँ, अरूको बारेमा के सोच्दछौँ र आफ्नो बारेमा कसरी सोच्दछाैं । यिनै कुरा हुन् जसले हाम्रो जीवनशैली कम्युनिस्ट आचरणको मापदण्डभित्र पर्छ कि पर्दैन भन्ने ।

यस्तै कार्यशैलीको रूपान्तरण विना संगठन सुदृढ र व्यवस्थित हुँदैन । कार्यशैली भनेको विचार सिद्धान्त र जीवनलाई जोड्ने पुल हो । पुल नै धरापमा छ भने त्यहाँबाट हिँड्ने मानिसको जीवन पनि धरापमा पर्छ । सही सिद्धान्त सही विचार र सही कार्यशैली स्थापित नभएको पार्टीमा पार्टी भित्रको एकता भन्ने कुरा पनि देखावटी र बनावटी मात्रै हुन्छ । आज एमाले भित्रको अवस्था एउटै कार्यकक्ष, एउटै मञ्चमा भएर सँगै हिँडदा पनि चिन्तन र मनको धरातल भने अलगअलग दिशातिर दौडिरहेको छ । एक जना चुनाव कसरी जित्ने, पैसा कसरी जम्मा गर्ने भन्ने चिन्तामा डुबिरहेको हुन्छ । अर्को मानसम्मान जोगाउने चिन्तामा, अर्काे पद कसरी प्राप्त गर्ने भन्ने चिन्तामा र अर्को पद जोगाउने चिन्तामा । यस्तो चिन्तै चिन्ताको पेटारोभित्र उल्झिएको पार्टीको अवस्था माथिल्लो कमिटीदेखि तल्लो कमिटीसम्म हुनुको कारण के हो ? नेतृत्वको केन्द्रभागमा देश र जनताको चिन्ता कम हुनु र आफ्नो निजी सम्मान पद र प्रतिष्ठातर्फ नेतृत्व वहकिनु नै हो । देश र जनताको चिन्ता नेतृत्वको मस्तिष्कको केन्द्र भागमा भेटिँदैन ।

सभाहरूमा लाखौँ खर्च गरेर मानिस जम्मा गरिन्छ नेता घण्टौँ भाषण फलाकिरहेका हुन्छन् । अगाडि बस्ने एकथरी सुझ न बुझ ताली पड्काएर बसेका हुन्छन् । कतिपय कार्यकर्ताको ध्यान आफ्नै विषयतर्फ हुन्छ । ताली बजाउने ताली बजाइरन्छ । छेवैमा बसेकोलाई त्यसको वास्ता हुँदैन । नेता भाषणमा घण्टौँ बिताएकोमा मख्ख । यस्तै छ । अवस्था । यसलाई धरातलबाट बुझ्न र हेर्न सकिएन । सकारात्मक सोचको विकास कसरी गर्ने ? सकारात्मक सोच भए सकारात्मक परिणाम निस्कन्छ र सिर्जनाको फूल फूल्छ । नकारात्मक सोच भए नकारात्मक परिणाम निस्कन्छ बिग्रन्छ, भत्किन्छ र सकिन्छ । राम्रो पार्टी बनाउन के गर्ने ? कस्तो परिणाम निकाल्ने ? के बोल्ने किन बोल्ने आफूले बोलेका वाक्य र शब्दले के परिणाम निकाल्छन् ? बोल्नु अघि र काम गर्नुअघि नेताले विवेक भएको सल्लाहकारसँग सल्लाह लिनुपर्छ । विवेकी र शालीन सच्चाइमा अडिएका मानिसका सल्लाह लत्याउने निजीस्वार्थ बोकेर घुम्ने चाप्लुसबाजहरूको सल्लाहमा हिँड्ने नेताको प्रतिष्ठा बेलुकाको डुब्दै गरेको सूर्यजस्तै हुन्छ ।

आज पार्टी संगठनदेखि जनसंगठनसम्मको अस्वस्थ्य गुटबन्दी फैलियो । जालझेल षड्यन्त्र छलछाम र कोठे बैठक संस्थालाई वाइपास गरेर आफ्नो हितका निजी योजना लागू गराउन प्रयत्न गर्नेजस्ता तल्लोस्तरका निम्नपुँजीवादी चिन्तनशैली पार्टीको हरेक तहमा हावी भएको छ । एउटा माक्र्सवादी–लेनिनवादी पार्टीभित्र हुर्किरहेको यस्ता निकम्मा कार्यशैलीलाई समाप्त गर्ने कि नगर्ने ? वर्तमान नेतृत्व यसबारे कति सजग छ, कति चिन्तित छ र यसको अन्त्य र रूपान्तरणको लागि उससँग के एजेन्डा छ ? नेताको पहिचानको मूलसूत्र वा कडि नै यहीँ हो ।

पार्टीलाई संस्थागत कसरी गर्ने ? कार्यकर्तालाई संगठनका विधि कार्यशैली र पद्दति एवं प्रणालीबारे कसरी प्रशिक्षित गर्ने र व्यवहारमै सिद्धान्त र विचारप्रति प्रतिबद्ध जनताप्रति समर्पित पार्टी र देशप्रति वफादार पंक्ति तयार गर्न एमालेको वर्तमान नेतृत्व अनविज्ञ रह्यो । माथिका कामहरू राष्ट्रनिर्माण र जनताको कल्याणका लागि नगरी नहुने आधारभूत कामहरू हुन् । विचार र संगठन निर्माणको विधिसम्बन्धी ज्ञान नभएका अज्ञान कार्यकर्ताको झुन्ड अघिपछि लाएर रमाइलो मेला लगाउन त सकिएला । तर यसबाट देश र जनताले कुनै लाभ पाउन सक्दैनन् । न त यस्ता झुन्डले आपूmलाई समय अनुकूल रूपान्तरण नै गर्न सक्छ ।

विचार सिद्धान्त र दर्शनको धारलाई भुत्ते पारेर, परिवर्तनको धारबाट अलग्गिएर कथा र टुक्का संग्रह गर्दै पुराना कथा शास्त्रका आख्यान सुनाउँदै त्यसैलाई परिवर्तनको सूत्रधार मानेर बहकिनु भनेको पिँध नभएको बाल्टिन इनारमा हालेर पानी तान्नुजस्तै हो । आज एमाले नेतृत्व पंक्ति र तलका कमिटीको हालत यस्तै भएको छ । जति पाए पनि नपुग्ने जति खाए पनि नअघाउने जति भरे पनि न भरिने । लोभ बढेको बढै छ, पद खोजेको खोजै छ सांसद भएको भोलिपल्ट मन्त्री खोज्छ मन्त्री भए, ठूला मन्त्रालय खोज्छ अझ माथि पर्न उप जोड्न खोज्छ त्यसपछि प्रधानमन्त्री ताक्छ । प्रधानमन्त्री भए पनि एकपटकले पुग्दैन बाचुन्जेल हुनैपर्ने । शरीर जीर्ण हुन लाग्दा पनि उसको तृष्णा जीर्ण हँुदैन जति शरीर जीर्ण हुँदै जान्छ त्यति तृष्णा तन्नेरी हुँदै जाने ।

संस्कृतको पासवत शव्दबाट पासो बनेको हो । पासोमा पर्नेलाई पशुु भनिन्छ । जनावर जो मानिसको बन्धनमा हुन्छन् तिनीहरूलाई पशुु भनिन्छ स्वतन्त्र जनावर पशुुको कोटीमा पर्दैनन् ती जनावर हुन् । त्यस्तै तृष्णाको पासोमा परेकालाई नरपशु भनिन्छ त्यो धनको तृष्णा पदको तृष्णा या मानसम्मानको तृष्णा जुनसुकै होस् । नेपालका राजनीतिक दलहरूभित्र तृष्णाको त्यान्द्रोमा बाँधिएर मानवीयगुण गुमाउनेहरूको संख्या तिव्ररूपले बढिरहेको छ । आज कम्युनिस्ट पार्टीभित्र यस्तो अवस्थाको सिर्जना किन भयो ? माथिल्लो तहमा चिन्तनको केन्द्र भागमा कुर्सी छ र त्यो प्राप्त गर्नका लागि धन चाहिएको छ । उच्च विचार र सादा जीवनको शैली दिमागको कुनकुनामा थन्किएको छ ?

हिजोको सगरमाथाको उचाइ आज कुर्सीको उचाइमा झरेको छ । हिजो मस्तिष्कमा ब्रह्माण्डको उचाइको फिता लिएर हिँड्ने मान्छे आज अहोरात्र कुर्सीको उचाइ नापेर चियर दासमा परिणत भएको छ । आज उसको दिमागले न यो अनन्त उचाइको ब्रह्माण्डतिर नै ध्यान दिन सक्छ न त आफ्नै घरको छानामाथि चम्किरहेको पूर्णिमाको जुनतिर । न यो जगत र यसका महान प्रतिभाशाली मानवहरूतिर नै । ऊ केवल कुर्सी हेर्छ आफ्नो कुर्सी अरूको भन्दा कति अग्लो छ अरूको भन्दा अग्लो कुर्सीको चाहनाले नै ऊ आज ब्रह्माण्डको उचाइबाट बाउन्नेमा झरेको छ । यो अवस्थाबाट आज हामीले पार्टीलाई मुक्त गर्न सकिएन । विगत २० वर्षयता पार्टी भित्रको अवस्थाको अध्ययन गर्नैपर्छ । जब हामी सरकारमा पुग्यौँ पार्टीमा काम गर्ने र सरकारमा काम गर्नेको रहनसहन खानपिन बसउठ चालचलन आदिमा दुरी बढ्दै गयो । सरकारमा जानेहरू मुगलसम्राटका सुवेदार जस्ता बने भने पार्टी काम गर्नेहरू गुजाराको लागि रोजगारी गर्ने कामदारजस्ता । यसले पार्टीभित्र दुई खेमाको उदय भयो ।

खासगरी मदन भण्डारीको मृत्युपछि एमालेले द्रष्टा जन्माउन सकेन । विचारको क्षेत्र क्रमशः कमजोर बन्दै गयो । विनाविश्लेषण र गहिरो चिन्तन मनन र गम्भीरतापूर्वक गरिएको बहसविनै अधकल्चो ज्ञानको उपदेश दिएर हिँड्ने नेताहरूको शैलीले सैद्धान्तिक राजनीतिक र वैचारिक क्षेत्रका काम आज अन्यौलग्रस्त छन् । यसले नेताको ठाउँमा उपदेशकहरू देखा पर्न थाले भने यिनै उपदेशकहरू विस्तारै महन्तमा रूपान्तरण हुन थाले । अरूका कुरा नसुन्ने आलोचना सुन्न नसक्ने आफ्ना कुरा एकतर्फी सुनाउने, आफ्ना कमजोरी लुकाउने तथा सुरक्षाकर्मीको घेरामा रहने र जनताबाट अलगथलग हुने अवस्थामा नेतृत्व पुग्यो ।

हिजो लामो भूमिगत जीवन बिताएका, लामो जेल जीवन खेपेका नेताहरू आज लाभको अवसर पाउनासाथ लाभको पदमा लुछाचुँडी गर्नु र जनताबाट दुरी बढाउँदै जानु कति लज्जास्पद र खेदजनक कुरा हो ? आज नेताका घरहरू जनताले टेक्ने आँगनबाट पालेपहराको घेरामा कारागृहमा रूपान्तरण भएका छन् । महन्त व्याशासनबाट तल झर्न चाहँदैन । उसलाई कुर्सी पनि अरूको भन्दा अग्लो विशेष खालको र टाउकोभन्दा एकफिट माथि उचाइ भएको चाहिन्छ । महन्तले कसैलाई नमस्ते गर्दैन । सबैले उसलाई नमस्ते गर्नुपर्छ । उसको ध्यान आफूलाई नमस्ते गर्ने नगर्नेतर्फ नै बढी जान्छ । महन्तको चिन्तनको केन्द्र भागमा नै तीन वटा कुरा हुन्छन्, अग्लो कुर्सी, अग्लो विस्तरा, मुद्रा दस्तुरको बिटो भक्तहरूको पाउमा लम्पसार सुनचाँदी र नोटको भेटीका लागि महन्त जस्तोसुकै सम्झौता गर्न पनि तयार हुन्छ । आज नेकपा एमालेको नेतृत्व पंक्तिमा यहीँ चरित्र हावी हुँदै गइरहेको छ ।

महन्त र नेताको भिन्नता के हो भने नेताले जनतालाई उपदेश होइन, विचार दिन्छ । नेताले आफूलाई कुर्सीको उचाइमा होइन, विचारको उचाइमा नाप्छ । नेता विचारले चल्छ र विश्लेषण गरेर अघि बढ्छ । नेताले कहिल्यै आफूलाई जनताभन्दा माथि राख्दैन । नेता आवश्यकता परे भुइँमा बस्छ, गुन्द्रीमा सुत्छ, पैदल हिँड्छ, र जनतासँग बसमा यात्रा गर्छ । नेताले आफ्नो सुरक्षा जनताको श्रद्धामा देख्छ । जहाँ श्रद्धा छ त्यहीँ सुरक्षा हुन्छ । जुनदिन जनताको श्रद्धा सकिन्छ त्यसैदिन नेताले सुरक्षा घेरा खोज्छ । आपूmमाथि चौतर्फी घृणा र तिरस्कार बढी रहेको ठान्नु नै सुरक्षाकर्मीको पहराभित्र आफूलाई लैजानु हो ।

यिनै र यस्तै चिन्तन कार्यशैली र जीवन पद्दति सच्याउन पार्टीभित्र शुद्धीकरण र सुदृढीकरणको आवश्यकता पर्छ । किनभने पार्टी भनेको समाज जनता र देशको लागि हुनुपर्छ । पार्टी संगठन साध्य होइन, साधन हो । साधन राम्रो बनाउन र राम्रो चलाउन दक्ष नेता र दक्ष कार्यकर्ता चाहिन्छ । हरेक जनताका लागि र जनताकै इच्छा र भावना अनुसार हुनुपर्छ । यसको लागि नेताहरूले आफ्नो आजको चिन्तनशैलीमा रूपान्तरण गर्नुपर्छ । ‘पहिले माथिकालाई बाँकी रहे तलकालाई’ भन्ने महन्त आचरणबाट नेतामुक्त हुनुपर्छ ।

कार्यकर्ता नेताको अगाडि बफादार देखिने आफ्ना कुरा खुलेर नराख्ने पछाडि गुनासा पोख्दै हिँड्ने प्रवृत्तिबाट मुक्त हुनुपर्छ । जनताप्रति समर्पित हुनुपर्छ । यसरी मात्र सिंगो पार्टीलाई जनताको पार्टीमा रूपान्तरण गर्न सकिन्छ । जनता परिवर्तन चाहन्छन् र परिवर्तनलाई आत्मसात गर्न सक्छन् । नेताले जनताको परिवर्तनको चाहनालाई आत्मसात गर्न सक्नुपर्छ पार्टीका अगाडि सधैँ चार वटा एजेन्डा हुन्छन् । जनताका तात्कालीक माग र दीर्घकालीन मागका एजेन्डा, देशका एजेन्डा, पार्टीका एजेन्डा र कार्यकर्ताका एजेन्डा । जनताको तात्कालीक एजेन्डा गाँस, बास कपास, शिक्षा र स्वास्थ्य हो । सामाजिक रूपान्तरण उत्पादनमा वृद्धि, व्यापारमा विस्तार, आयातमा कटौती, निर्यातमा वृद्धि, जनताको जीवनस्तरमा समृद्धि । विकास भनेको यही हो । बाटो, पुल बन्यो, रेल आउँदै छ, पानीजहाज कुद्दै छ भनेर गीत मात्रै गाएर माथिका कुरा जनताको सामु लान सकिएन भने जनताका लागि विकासको कुनै अर्थ रहँदैन । आजको दुनियाँमा विकास भनेकै यही हो ।

पार्टी भनेको परिवर्तनको संवाहक जनताको नेता र देशको संरक्षक हो । राष्ट्रलाई एकजुट पार्नु उत्पादनका काममा जनतालाई एकजुट पार्नु र निश्चित लक्षतर्फ सशक्त ढंगले अगाडि बढ्नु पार्टीको मुख्य काम हो । चौथो कार्यकर्ताका एजेन्डा हुन् । कार्यकर्तालाई विचार र राजनीतिक शिक्षाले लैस गर्नु माथिका तीन ओटा एजेन्डा पूरा गर्न सही ढंगले विन्यास र परिचालन गर्नु नै पार्टीले आफ्ना परिवर्तनका एजेन्डा प्राप्त गर्ने सही तरिका हुन्छ । कार्यकर्ताका एजेन्डा दुई भागमा बाँडिएका छन् :– संस्थागत सरोकारका विषय र घरपरिवारसँग जोडिएका विषय । यी दुवै एजेन्डामा राजनीतिक वैचारिक र आर्थिक सवालमा सुस्पष्टता नभई कार्यकर्ता गतिशील बन्न सक्तैनन् ।

नेकपा एमालेको नेतृत्वको अहिलेको विचलन भनेकै मुठ्ठीभर मानिसहरूलाई सडकमा नचाउने र लाखौँ कार्यकर्तालाई योेजनाविहीन बनाउने हो । अझ आजको अवस्थालाई हेर्ने हो भने परिवर्तनको एजेन्डाबाट विचलन भएर निजी लाभको एक मात्र एजेन्डातिर नेतृत्व घिसारिनु हो । परिवर्तनको एजेन्डालाई ओझेलमा पारेर जब नेतृत्व प्राप्तिको एजेन्डातर्फ प्रवेश गर्छ तब त्यहाँ देश र जनताका एजेन्डाहरू ओझेलमा पर्छन् । पार्टीभित्र लुछाचुँडी सुरु हुन्छ र पार्टीभित्र बर्सादमा च्याउ उम्रिदाझै गुटहरू उम्रन्छन् गुटहरूको बीच तानातान र लुछाचुँडी सुरु हुन्छ । आज एमाले भित्रको अवस्था यस्तै हो । यसबाट पाठ सिक्दै हामीले नेकपा एकीकृत समाजवादी बनाएका छौँ ।

प्रतिक्रिया