किन सिफारिसमा परेन बान्तवा भाषा ?

निनाम कुलुङ ‘मंगले’

२०६८ को ११औँ राष्ट्रिय जनगणनामा बान्तावा भाषा बोल्ने वक्ता संख्या १ लाख ३० हजार चानचुन देखिएको भएता पनि सो जातिको जनसंख्या भने केवल ४ हजार ६ चानचुन मात्रै रहेको छ । तथ्यांकमा त्यस्तो आएपछि बान्तावा भाषा कसरी प्रदेश–१ को कामकाजी भाषाको रूपमा सिफारिस हुन्छ ? किनभने, १ लाख २६ चानचुन बान्तावा भाषाको वक्ता को हुन् ? कि प्रदेश–१ मा बसोवास गर्ने बाहुन, क्षेत्री, कामी, दमै, सार्की, नेवार, मगर, माझी, दनुवार आदि जात र जातिका मानिसहरूले पनि बान्तावा भाषा बोल्छन् ?

 

हालसम्म नाम नजुरेको प्रदेश–१ मा किन बान्तावा भाषा अलपत्र पर्यो ? वक्ता संख्या एक लाखभन्दा माथि भएर पनि बान्तावा भाषा प्रदेशको आधिकारिक भाषामा सिफारिस हुन किन सकेन ? भन्ने सम्बन्धमा यहाँ छोटोमा चर्चा गरिनेछ । हुन त कथित् ‘राई !’ भाषासमेत प्रदेशको आधिकारिक भाषामा सिफारिस हुन सकेन । स्मरण रहोस्, राई जात वा जाति र राई भाषाबारे मैले विगत २१/२२ वर्षदेखि कथित् ‘राई !’ भन्दै/लेख्दै आएको छु । मैले यसरी कथित ‘राई !’ किन भनेको हो भने, वास्तवमा ‘राई !’ जात वा जाति नभएर ‘पद–पदवी’ वा ‘पगरी’ मात्रै थियो/हो । जुन ‘पद–पदवी’ वा ‘पगरी’ लाई स्थानीयस्तरमा वा भनौँ गाउँघरको बोलीचालीको भाषामा ‘जिम्मावाल’ वा ‘तालुकदार/तालुकदारी’ पनि भन्ने गरिन्थ्यो । पछि आएर यही ‘राई !’ ‘पद–पदवी’ वा ‘पगरी’ लाई जात वा जाति मान्दा नै अहिलेको समस्या अर्थात् राई भाषा र बान्तावा भाषाका वक्ता संख्या क्रमशः १ लाख ५९ हजार चानचुन र १ लाख ३० हजार चानचुन हुँदा/रहँदा पनि प्रदेशको आधिकारिक भाषामा सिफारिस हुन नसकेको वास्तविकता हो ।

खासमा कुलुङ जाति वा समुदायका अगुवाहरूले सुरुमै (विसं ०५७/५८ देखि) कथित् ‘राई !’ जात वा जातिबारे प्रश्न उठाउँदै आएको थिए । तर, सुरुमा यो पंक्तिकारलगायत कुलुङका अन्य अगुवाहरूले सार्वजनिक रूपमा कथित् ‘राई !’ जात वा जाति नभएर ‘पद–पदवी’ मात्रै हो भनेर लेख्दा, बोल्दा र जनवकालत गर्दा हामीलाई ‘तिमी कुलुङे ढाक्रेहरू ! गाउँमा कोदो ढिडो खान नपाउने, आज सहरबजारमा आएर एक/दुई जना कुलुङे ढाक्रे ! हरूले राई फुटाउन खोज्ने ?’ भनेर राई जातवाला राई सर, राईनी म्याडमहरूले हप्कीदप्की गर्नुभयो । हाम्रै कुलुङ समुदायका एक/दुई जना मान्छेलाई किनेर प्रयोग पनि गरे, हाम्रो विरुद्धमा । तर, हामी (कुलुङ) ले थालेको जातीय स्वपहिचानको आन्दोलन र राई बारेको प्रश्न ‘अँध्यारोमा हानेको झटारो’ थिएन । न त ‘आए आँप, गए झटारो’ नै थियो । किनभने राईबारे धेरै अघिदेखि लगभग तीन दर्जन (अहिले त सयौं पुगेको देखिन्छ, त्यस्तो किताब तथा जर्नलहरूको संख्या) किताबहरू विदेशी तथा स्वदेशी खोजकर्ता, अुनसन्धानकर्ता तथा लेखकहरूले लेखेका छन्, जर्नलमा लेखहरू लेखेका छन् । त्यसैले न राई जातवाला कामरेडहरूले हप्कीदप्की गरेता पनि हामी डराएर, साँच्चै मार्छ पो कि ? भनेर चुप लागेर बसेनौँ ।

त्यही समयमा नेपालका राजनीतिक दल र तिनका नेताहरूसँग भेटघाट गरेर लबिङ गर्ने र, कुलुङ जातिलाई पनि नेपालका अन्य जातिसरह (खासगरी आदिवास जनजाति सूचीमा सूचीकृत गर्ने सवाल) मान्यता दिनुपर्यो भनी माग राख्ने, नेपालका मानवअधिकारवादीहरू र मानवअधिकार क्षेत्रसँग सम्बन्धित संघसंस्थासँग भेटेर कुलुङ जातिलाई जबरजस्ती राईकरणमा पारिएका वा गरेको हुनाले गर्दा ‘हामी को हौँ ? अथवा म को हुँ ?’ भनी आफैंले भन्ने वा घोषणा गर्ने हाम्रो सामूहिक र व्यक्तिगत मानवअधिकार हनन् भयो/भएको छ, त्यसैले आवाज उठाइदिनुपर्यो ! भनी माग राख्ने कामहरू गर्दै आयौँ, आएका छौँ/हौँ । अहिलेलाई यो प्रसंगलाई यहीँ छाडौँ ।

हुन पनि नेपालका अन्य जातिसरह अलग्गै मातृभाषा, अलग्गै भेषभुषा, संस्कार, संस्कृति, रहनसहन, परम्परागत कानुन, हामी भन्ने भावना, इतिहास, ऐतिहासिक भूमि, वंश, परम्परा, कुलुङ जातिभित्रै ३ सय ८० भन्दा बढी थर र उपथरहरू रहेको छ । (स्मरणीय छ, कुलुङ जातिले थर वा उपथरलाई ‘पाछा’ र गोत्रलाई ‘दप्प नीङ’/‘दप्स्नीङ’ भन्छन्) त्यही भएर कुलुङ–कुलुङबीचमै आफैंभित्र विवाह गर्ने प्रचलन छ । राई जात नै हो र कुलुङ, बान्तावा, चाम्लिङ, बाहिङ आदिचाहिँ थर हो भन्नेहरूले भने जस्तै यदि राई जात वा जाति हो र कुलुङचाहिँ थर मात्रै हो भने त ‘कुलुङ–कुलुङबीच’मै विवाह गर्दा त हाडनाता करणीको मुद्दा पो लाग्नुपर्ने होइन र ? यो उदाहरणले पनि राई जाति होइन भन्ने बलियो प्रमाण दिन्छ, आधार रहेको देखाउँछ । तापनि हालसम्म नेपालका कथित् विद्वान, कार, विज्ञ, विद, प्रा., डा., प्राडा, भन्दै खाई जीविका चलाउँदै आएकाहरू खासगरी भाषाविद, जातिविद, भाषाशास्त्री, समाजशास्त्री, मानवशास्त्री, संस्कृतिविद आदि हौँ भन्ने र भनिनेहरूले नै नेपालमा साँच्चै एक जाति राई छ र, उनीहरू (राई !) को २८ वटा मातृभाषा पनि हुन्छ ! भनेर ठोकेरै भन्न सकेका छैनन् ।

त्यसैले त्यस्ता विद्धान, कार, विज्ञ, विद, प्रा., डा., प्राडा, भनिनेहरू नै खाई जीविका मात्रै चलाएर बसेका छन् । उनीहरू साँच्चै ‘पढेरै, गुनेरै, अनुभव भएरै, एक जाति राईले २८ वटा मातृभाषामा खरर … बोलेको देखेरै !’ भाषाविद वा भाषाशास्त्री भएको, भाषाविद भन्ने/भनिने र नामका अगाडि प्रा., डा., प्राडा लेख्ने गरिएको वा गरेका हुन् भने त हालै प्रदेश–१ मा कथित् ‘राई !’ भाषा र बान्तावा भाषाले किन आधिकारिक भाषाको मान्यता पाएन वा सिफारसमा परेन ? भन्नेबारेमा प्रस्टसँग बोल्न, लेख्न वा भन्न सकेनन्, सक्दैनन् ? उनीहरूले झैं पनि यस बारेमा गहिराईमा गएर वा वास्तविकता के हो ? भनेर सोधखोज गरेर लेख्ने, बोल्ने समय घर्केको छैन । उल्टै ‘राईको भाषा सिफारिस हुन सकेन…, राई–किराती !’ को भाषा…, सिफारिस हुन सकेन भनेर चिन्ता व्यक्त गर्दै, आर्य/खस समूहका भाषाविद वा भाषाशास्त्री भन्ने/भनिने र नामको अगाडि प्रा., डा., प्राडा लेख्ने गरिएको वा लेख्ने गरेका प्रा., डा., वा भनौँ प्राडामध्ये जस्तै प्राडा दानराज रेग्मी र डा.भीमलमाल गौतमले नयाँ पत्रिका दैनिकमा गएको असोज १ गते र भदौ २९ गते क्रमशः ‘कामकाजी भाषा, … र बहुभाषिकता, जनगणना …’ शीर्षकमा लेख लेखे । तर, कथित् ‘राई !’ जातवाला राई डाक्टर, प्राध्यापक, उपप्राध्याक, प्राज्ञ ! हरू भने यस विषयमा ‘तैँ चुप, मै चुप !’ किन होला ? यसरी हेर्दा अहिले आएर हेर्दा त कथित् र, कथित् ‘राई !’ जात वा जाति अनि राईभाषाबारे राई जातवाला ‘राई !’ डाक्टर, प्राध्यापक, उपप्राध्याक, प्राज्ञ ! हरूचाहिँ ‘तैँ चुप, मै चुप !’ छन् भने, आर्य÷खस समूहका भाषाविद वा भाषाशास्त्री भन्ने/भनिने र नामको अगाडि प्रा., डा., प्राडा लेख्ने गरिएको वा लेख्ने गरेका प्रा. डा., वा भनौँ प्राडामध्ये प्रा. डा. दानराज रेग्मी र डा.भीमलमाल गौतमचाहिँ अचम्मै गरी लागिपरेका छन् । जसलाई राम्रै त मान्ने होला नि ।

हुन त ‘नयाँ पत्रिका दैनिक’मा बाहेक अरू केही दैनिक र अनलाइन न्युज पोर्टलहरूमा पनि केही आर्य÷खस समूहका मान्छेहरूले कथित् राई भाषा र राई जातवालाहरूबारे लेखेका छन् । त्यसैले नेपालका कथित् विद्वान, कार, विज्ञ, विद, प्रा., डा., प्राडा, भनिनेहरू, खासगरी भाषाविद, जातिविद, भाषाशास्त्री, समाजशास्त्री, मानवशास्त्री, संस्कृतिविद आदि हौँ भन्ने र भनिनेमध्ये कोही कसैले नेपालमा साँच्चै एक जाति राई छ र, उनीहरू (राई !) को २८ वटा मातृभाषा पनि हुन्छ ! भनेर ठोकेरै भन्न सक्छन् र, त्यस्ता राईहरू भेटेका छन् साथै त्यस्ता राईहरू हामी जस्ता जिज्ञासुहरूलाई पनि भेटाइदिन/देखाइदिन सक्छन् भने अभैm पनि नयाँ कुरो पत्ता लागेसरह अर्थात् ‘युरेका !’ नै हुनेछ । त्यसैले यो पंक्तिकारको चुनौती नभएर विशेष आग्रह के छ भने, यदि साँच्चै नेपालमा बसोवास गर्ने एक जाति राईको २८ वटा मातृभाषा हुन्छ भने त्यसरी म एक जाति राई हुँ, तर मेरो मातृभाषाचाहिँ २८ वटा छ भनेर २८ वटा मातृभाषामा खररर… बोल्न सक्ने राई भेटाई दिनुहोला । खासमा विसं २०६८ को ११औँ राष्ट्रिय जनगणनामा बान्तावा भाषा बोल्ने वक्ता संख्या १ लाख ३० हजार चानचुन देखिएको भएता पनि सो जातिको जनसंख्या भने केवल ४ हजार ६ चानचुन मात्रै रहेको छ । तथ्यांकमा त्यस्तो आएपछि बान्तावा भाषा कसरी प्रदेश–१ को कामकाजी भाषाको रूपमा सिफारिस हुन्छ ? किनभने, १ लाख २६ चानचुन बान्तावा भाषाको वक्ता को हुन् ? कि प्रदेश–१ मा बसोबास गर्ने बाहुन, क्षेत्री, कामी, दमै, सार्की, नेवार, मगर, माझी, दनुवार आदि जात र जातिका मानिसहरूले पनि बान्तावा भाषा बोल्छन् ? संभवतः यही कारणले गर्दा पनि बान्तावा भाषा प्रदेश–१ को सरकारी (कामकाजी) भाषा हुन सकेन/सिफारिस भएन ।

प्रतिक्रिया