अफिम उत्पादनमा तालिवानी सम्बन्ध !

विश्वलाई चुनौतीका रूपमा रहेको लागुऔषधको उत्पादन र कारोबारको चर्चा यति बेला अफगानिस्तानमा भएको छ । लागुऔषधको माथिल्लो कोटीमा पर्ने अफिम उत्पादन र कारोबारमा तालिवानी जोडिएका रिपोर्ट आउन थालेपछि अनेक प्रश्न उठेका छन् । किन जोडिए होलान् तालिवानी अफिम उत्पादन र त्यसको कारोबारमा ? यदि त्यो सत्य हो भने यसको वास्तविकता पनि समय क्रममा बाहिर आउला । यति बेला अफगानिस्थानमा सत्ता परिवर्तनको मात्रै होइन, त्यहाँ हुने अवैध खेती र कारोबारको समेत चर्चा हुन थालेको छ । लागुऔषध अफिम खेतीसँग तालिवानीको सम्बन्धलाई लिएर चर्चा सुरु भएको हो । तालिवानले यसअघिको आफ्नो शासनकालमा अफगानिस्तानमा अफिम खेती र अवैध लागुऔषधको कारोबारमा रोक लगाइएको दाबी गर्दै आएको छ ।

तालिवानीको दावी विपरीत संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) का अनुसार अफगानिस्तान विश्वकै सबैभन्दा ठूलो अफिम उत्पादन गर्ने देश भएको उल्लेख गरेको छ । सन् २००१ मा तालिवान अफगानिस्तानको शासनबाट बाहिरिँदा अफिम खेतीमा उल्लेख्य कमी आएको भए पनि त्यसपछिका बर्षहरूमा तालिवान नियन्त्रित क्षेत्रहरूमा यसको खेती निकै बढेको युएनओडिसीको दाबी छ ।
धेरै तहको प्रशोधन गरेर अफिमका बोटहरूलाई पनि हेरोइनजस्तै उच्च नशालु लागुऔषध सरह बनाउन सकिन्छ । संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) का अनुसार अफगानिस्तान विश्वकै सबैभन्दा धेरै अफिम उत्पादन गर्ने देश हो । यो आरोप मात्रै नभएर वास्तविकता हो भने यसले राम्रो परिणाम ल्याउने छैन । यसबारेमा तालिवानीले समयमा नै सोच्ला ! यसले यहाँको समाजमा पार्ने असर एउटा होला तर, यसमा आरोप लगाउनेको राजनीतिक स्वार्थ लुकेको छ कि आरोप सत्य हो ?

अफगानिस्तानमा उत्पादन भएको अफिमले विश्वको ८० प्रतिशत आपूर्ति धान्ने गरेको छ । युएनओडीसीले सन् २०१८ गरेको एक अनुमानमा अफिम उत्पादनले देशको अर्थतन्त्रमा ११ प्रतिशत योगदान पु¥याएको पाइएको थियो । यसले पनि अफगानिस्तानमा अफिम उत्पादनको अवस्था देखाउँछ । अफगानिस्तानमा आफ्नो कब्जा कायम गरेपछि तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भनेका थिए, ‘हामीहरू यसअघि सत्तामा रहेको बेला कुनै लागुऔषधको उत्पादन थिएन ।’ आफ्नो शासनकालमा अफिमको तस्करी रोक्ने भन्दै उनले थप भनेका थिए, ‘अब पनि हामीले अफिमको खेतीलाई शून्यमा ल्याउनेछौँ ।’

अमेरिकाको विदेश मन्त्रालयका अनुसार अफगानिस्तानमा तालिवान शासनको सुरुआती समयमा अफिम खेती निकै बढेको थियो । सन् १९९८ मा करिब ४१ हजार हेक्टर भूमिमा भइरहेको खेती सन् २००० सम्म आइपुग्दा ६४ हजार हेक्टरमा फैलिएको थियो । यसका आधारमा पनि त्यहाँ अफिम खेती र त्यसको कारोबारलाई बुझ्न सकिन्छ । अफगानिस्तानको अफिमले विश्वको ८० प्रतिशत आपूर्ति धान्ने गरेको बताउने गरिएको छ । तालिवान नियन्त्रित हेलमण्ड प्रान्तमै यसको खेती मुख्यगरी फस्टाएको थियो । विश्वमा उत्पादन हुने अवैध अफिममध्ये हेलमण्डको उत्पादनले मात्र ३९ प्रतिशत हिस्सा ओगटेको छ । तर, अचानक सन् २००० मा तालिवानले आफू नियन्त्रित क्षेत्रहरूमा अफिमको बोटहरू रोप्न रोक लगायो । सन् २००१ को मे महिनामा प्रकाशित एक राष्ट्रसंघीय प्रतिवेदनले तालिवान नियन्त्रित क्षेत्रहरूमा लगाइएको अफिम खेती प्रतिबन्धले करिब करिब सफलता हात पारेको देखिएको जनाएको छ ।

अफिम खेतीमा तालिवानको प्रतिबन्धसँगै सन् २००१ र २००२ मा विश्वभर अफिम र हेरोइनको बरामदमा उल्लेख्य गिरावट आएको थियो । तर, त्यस लगत्तै परिस्थिति फेरियो । हालै बाहिरिएको अफगानिस्तानको सरकार नियन्त्रित क्षेत्रहरूमा पनि अफिम खेती भइरहेका थिए । तर, यसको मुख्य उत्पादन तालिवान नियन्त्रित क्षेत्रहरूमै एकत्रित रहेको पाइएको छ । उदाहरणका लागि तालिवानको नियन्त्रणमा रहेको दक्षिण अफगानिस्तानको हेलमण्ड प्रान्तमा गत वर्ष सबैभन्दा धेरै भूमि अफिम खेतीमा प्रयोग भएको थियो ।

अफगानिस्तानभरि नै अफिम खेती रोजगारीको मुख्य स्रोत हो । युएनओडीसीले गरेको एक अफिम सर्वेक्षणका अनुसार सन् २०१९ मा करिब १ लाख २० हजार मानिसहरूले अफिमको बाली उठाउने काम पाएका थिए । अमेरिकी विदेश मन्त्रालयका अनुसार तालिवानले अफिम बालीमा कर लगाउनुका साथै यसको प्रशोधन तथा तस्करीबाट समेत अप्रत्यक्ष आम्दानी गर्ने गरेको छ । अफिम कृषकहरूबाट तालिवानले १० प्रतिशत खेती कर लगाउने गरेको बताइन्छ ।

अफिमलाई हेरोइनमा परिणत गर्ने प्रयोगशाला र यो अवैध लागुऔषधको तस्करीमा संलग्न व्यापारीहरू बाटसमेत तालिवानले कर संकलन गर्ने गरेको छ । अवैध लागुऔषधबाट मात्रै तालिवानलाई वर्षमा १० करोडदेखि ४० करोड अमेरिकी डलर आम्दानी हुने आँकलन गरिएको छ ।
अमेरिकी कमान्डर जनरल जोन निकोलसनले अफगान पुनःनिर्माणसम्बन्धी आफ्नो एक प्रतिवेदनमा लागुऔषधले तालिवानको ६० प्रतिशत वार्षिक आय धान्ने बताएका छन् । तर उनको आँकडामा केही विज्ञहरूले असहमति राखेका छन् । यो यथार्थ हुन नसक्ने विज्ञहरूको तर्क छ ।

अवैध लागुऔषधको व्यापारसम्बन्धी अनुसन्धान गरिरहेका डेभिड मन्सफिल्डले भने, ‘राष्ट्रसंघ र अन्यले भनेजस्तो कर प्रणाली त्यहाँ पहिचान गर्नै मुस्किल छ । त्यो प्रशासकीय र आर्थिक दुवै दृष्टिकोणले काम गर्नै नसकिने किसिमको छ । अफिमको करबाट वर्षमा बढीमा चार करोड अमेरिकी डलर आम्दानी हुनसक्छ,’ उनले भने । यदि उनले भने झै हो भने पनि यो सकारात्मक पक्ष होइन् । अवैध कारोबारबाटै यति आम्दानी हुन्छ भने त्यसको अवस्था डरलाग्दो छ भन्न कर लाग्छ ।

अफगानिस्तानमा हुर्कने अफिमबाट बन्ने हेरोइनको ९५ प्रतिशत बजार युरोप हो । अनौठो के छ भने अमेरिकाको लागुऔषध नियन्त्रण एजेन्सीका अनुसार अमेरिकामा आपूर्ति हुने हेरोइनको जम्मा एक प्रतिशत हिस्सा मात्रै अफगानिस्तानबाट भित्रने गरेको छ । अमेरिकामा अधिकांश लागुऔषध मेक्सिकोबाट भित्रिन्छ । सन् २०१७ देखि २०२० को अवधिमा ९० प्रतिशत लागुऔषध सडक मार्गबाट ढुवानी भएको अध्ययनहरूले देखाएका छन् । तर पछिल्लो समय हिन्द महासागर हुँदै युरोप जाने मार्गमा समुद्रमा यसको बरामद हुने क्रम बढेको छ ।

अफिम उत्पादन र यसको बरामद हुने प्रवृत्तिमा उतारचढाव देखिए पनि अफगानिस्तानमा अफिम खेतीमा आएको बढोत्तरीसँगै यसको बरामद हुने क्रम पनि उच्च देखिन्छ । तर, अफिम बरामद हुने र पक्राउ पर्ने कुराले यसको खेतीमा खासै प्रभाव नपर्ने अमेरिकी जनरलले तयार गरेको प्रतिवेदनले देखाएको छ । सन् २००८ यता बरामद भएको अफिम अफगानिस्तानले सन् २०१९ मा उत्पादन गरेको अफिमको जम्मा आठ प्रतिशत रहेको प्रतिवेदनले उल्लेख गरेको छ । माथिका सबै तथ्यका आधारमा हेर्ने हो भने, अफगानिस्तानमा अफिम खेती प्रसस्त हुने गरेको छ । हालै सत्ता हत्याएको तालिवानले यसलाई रोक्छ वा आउने दिनमा यसको उत्पादन र कारोबार बडेर जान्छ त्यो भने हेर्न बाँकी छ । अमेरिकी संघ संस्थाले आरोप लगाए झै अफगानिस्तानमा तालिवान अवैध कारोबारमा जोडिएको देखिन्छ ।

प्रतिक्रिया