मत-विमत

किन गर्ने श्राद्ध ?

अञ्जु कार्की २०७८ असोज ५ गते ६:४४ मा प्रकाशित

अञ्जु कार्की

वर्षको एकपटक अर्थात् आश्विन कृष्ण पक्षका १६ दिन पितृलोक पृथ्वीको सबैभन्दा नजिक आउँछ र त्यसवेला पितृहरूले आफ्ना सन्ततिका गतिविधि नियालीरहेका हुन्छन् भन्ने हाम्रो धार्मिक मान्यता छ । विज्ञानले पनि सौर्यमण्डलहरूमा रहेका ग्रहहरूको गतिका कारण दुरी पनि कहिले नजिक र कहिले टाढा हुने कुरा प्रमाणित गरिसकेको छ । शरीर नाश भए पनि आत्मा नाश हुँदैन, प्रकाशको भन्दा छिटो गतिमा अर्थात् शरीर नाश भएको एक वर्षमा आत्मा पितृलोकमा पुगिसक्छ भन्ने हाम्रो मान्यता छ ।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत छ ।

दिवंगत आफन्त जनहरूलाई पितृदेवताका रूपमा पूजा गर्ने परम्परा छ । नेपाली सनातन संस्कृतिले देवी देवताको भक्तिलाई भन्दा पितृ देवताको भक्तिलाई माथिल्लो श्रेणीमा राखेको छ । देवी देवताको भक्ति तथा पूजा इच्छा लाग्दा गरे हुन्छ, अनिवार्य छैन । तर, पितृदेवताको भक्ति तथा पूजा हाम्रो सनातन धर्म संस्कृतिमा अनिवार्य छ । हरेक देवी देवताको भक्ति तथा पूजा गर्नुभन्दा पहिला पितृ देवताको पूजा गर्न अनिवार्य छ । पितृ देवता प्रसन्न भए मात्रै देवीदेवताले फल दिन सक्छन् भन्ने हाम्रो मान्यता छ ।

अहिलेको नयाँ पुस्ताले हरेक चाडपर्व मनाउनु पछाडिका वैज्ञानिक कारण खोज्न थालेको छ । वैज्ञानिक युगमा हुर्केको नयाँ पुस्ताले कारण खोज्नु स्वाभाविकै हो । कारणविना कर्म हुँदैन भनेर हाम्रो धर्मशास्त्रले पनि भनेको छ । तर, चाडपर्व मनाउनुका चित्तबुझ्दा कारणहरू हाम्रा पौराणिक ग्रन्थमा नभएका हुन् या भएर पनि अहिलेका पण्डितहरूले व्याख्या गर्न नसकेका हुन् ? नयाँ पुस्ता अन्योलमा छ । उदाहरणका लागि वर्षको दुईपटक गरिने पितृ श्राद्धलाई लिन सकिन्छ । मरिसकेका मान्छे पिण्ड खान कसरी आउँछन् ? नयाँ पुस्ताले प्रश्न गर्नु स्वभाविकै हो । श्राद्ध गराउने पण्डित जसरी हुन्छ बढी बढी दान दक्षिणा गराउन ‘तिमीले गरेको दान पितृले पाउँछन्’ भनेर हौस्याइरहेका हुन्छन् । तर, श्राद्धको कारण बताउँदैनन् । यस्तो प्रवृत्तिले पनि श्राद्ध कर्मप्रतिको आस्था नयाँ पुस्तामा हराउँदै गएको छ ।

आफ्ना सन्तानले गरेको पिण्डदान पितृ कहाँ पुग्छ वा पुग्दैन ? यो बहसलाई यहीँ थाति राखौँ तर जसले आफूलाई सृष्टि गरेको छ, जसको सम्पत्ति आफूले उपभोग गरिएको छ त्यसलाई सम्झनु सन्तानको कर्तव्य हो । आफ्नो सृष्टिदाता तथा अन्न दातालाई सम्झने चेष्टा जसले गर्दैन उसले आफ्नो अन्य दायित्व तथा जिम्मेवारी पनि पूरा गर्न सक्दैन । श्राद्ध भनेको एक प्रकारको आत्मानुशासन पनि हो । यसैगरी, श्राद्धमा आफ्ना बाबुतर्फका तीन पुस्तासम्म माथिकालाई र आमातर्फका चार पुस्तासम्म माथिका पितृलाई पिण्डदान गर्ने प्रचलन छ ।

यो प्रचलनले अरू केही नभए पनि माथिल्लो पुस्ताका व्यक्तिहरूको नाम अभिलेखीकरण गर्न मद्दत पु¥याएको छ । यही अभिलेखका आधारमा यतिवेला हरेक थर गोत्रियारहरूले आफ्नो वंशावली निकालिरहेका छन् । बुबातर्फका तीन पुस्तासम्मकालाई स्मरण गरे पुग्ने आमातर्फका भने चार पुस्तामाथिकालाई स्मरण गर्नुपर्ने परम्पराका कारण पनि हाम्रो संस्कारले मातृशक्तिलाई महत्व दिएको देखिन्छ । तर, छोरीले श्राद्ध गर्न नमिल्ने परिपाटी पण्डितहरूले बसाले । छोराले दिएको पितृले पाउने र छोरीले दिएको किन नपाउने ? भन्ने प्रश्न आजको वैज्ञानिक युगको पुस्ताले अवश्य पनि गर्छ । त्यस कारण श्राद्ध भनेको अन्धविश्वासको एउटा जीवन्त निरन्तरता हो कि ? भन्ने विषयमा पनि बहस जारी छ ।

तर, हामीले सम्झनुपर्ने पाटो के हो भने वैज्ञानिक कारण देखिएन भन्दै संस्कारहरू त्याग्नुको सट्टा यी संस्कारहरूका वैज्ञानिक कारण खोज्नतर्फ वा हामीले खोज्न नसके भविष्यको पुस्ताले खोज्ला कि ? भनेर प्रतीक्षा गर्नुपर्छ । अरू केही गर्न नसके पनि जोगाइदिन त हामीले सक्छौँ, नि । सनातनीहरूको मूल ग्रन्थ हजारहजारौँ वर्ष आयु हुनेले हजारौँ वर्ष लगाएर अनुसन्धान गरी हजारौँ वर्षअघि लेखिएको मान्यता छ ।

वेदका कतिपय कुराहरू पुराणले प्रमाणित गर्न नसके पनि विज्ञानले प्रमाणित गरिसकेको छ । उदाहरणका लागि पानीबाट आगो निस्कन्छ भन्ने वेदको वाक्यलाई पुराणले घोक्न मात्रै लगायो तर विज्ञानले पानीबाट बिजुली निकालेर प्रमाणित गरिदियो । तसर्थ, ५० वर्ष मुस्किलले सक्रिय जीवन बाँच्न सक्ने हामीलाई हाम्रा संस्कार अन्धविश्वास हो भन्ने हैसियत छैन । वास्तविकता के हो भन्ने कुरा लामो समयको अनुसन्धान नगरी बताउन सकिन्न । उदाहरणका लागि वेदले हामी जहाँ छौँ त्यो लोकलाई मत्र्यलोक भनेको छ । यसभन्दा पर पितृलोक छ, पितृलोकभन्दा पर स्वर्गलोक छ, स्वर्गलोकभन्दा पर तपलोक छ, तपलोकभन्दा पर अर्को लोक छ भन्दैभन्दै दर्जनौँ लोकको व्याख्या गरेको छ । यो व्याख्यालाई अहिलेका वैज्ञानिकहरूले खोजी गर्दै गएका छन् र त्यसको नजिक पनि पुगिसकेका छन् ।

पृथ्वी रहेको सौर्यमण्डलबाहेक पनि अनेक सौर्यमण्डल छन् भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाइसके । वेदले लोक भन्यो विज्ञानले सौर्यमण्डल भनेको छ । फरक यही हो । वेदलाई आधार मानेर रचना गरिएका पुराणमा पृथ्वीलोकमा एक वर्षको समय पितृलोकमा एक दिनको समय हुन्छ, भनिएको छ । पृथ्वीको एक वर्ष पृथ्वीबाट सबैभन्दा नजिक रहेको अर्को सौर्यमण्डलमा एक दिन हुन्छ भनेर विज्ञानले पुष्टि गरेको छ । वर्षको एकपटक अर्थात् आश्विन कृष्ण पक्षका १६ दिन पितृलोक पृथ्वीको सबैभन्दा नजिक आउँछ र त्यसवेला पितृहरूले आफ्ना सन्ततिका गतिविधि नियालीरहेका हुन्छन् भन्ने हाम्रो धार्मिक मान्यता छ ।

विज्ञानले पनि सौर्यमण्डलहरूमा रहेका ग्रहहरूको गतिका कारण दूरी पनि कहिले नजिक र कहिले टाढा हुने कुरा प्रमाणित गरिसकेको छ । शरीर नाश भए पनि आत्मा नाश हुँदैन, प्रकाशको भन्दा छिटो गतिमा अर्थात् शरीर नाश भएको एक वर्षमा आत्मा पितृलोकमा पुगिसक्छ भन्ने हाम्रो मान्यता छ ।

अहिले वैज्ञानिकहरू पनि अर्को सौर्यमण्डलमा पुग्नका लागि प्रकाशको गतिभन्दा छिटो पुग्नसक्ने यन्त्रको आविष्कारमा जुटिरहेका छन् । त्यसैले, हाम्रा संस्कृति तथा परम्पराका सुरुआतका पछाडि निश्चित कारण छन् । कारणविना कर्म हुँदैन । तर, हामीले हाम्रा संस्कारका वैज्ञानिक पक्ष भुल्दै गयौँ कि ? गलत परम्परालाई त्याग्ने नाममा असल संस्कृति धरापमा नपरोस् भन्नेतर्फ सोच्नु जरुरी छ । हाम्रा संस्कृतिमाथि प्रश्न उठ्नुमा जो रक्षक उही भक्षक भएर त होइन ? भन्नेतर्फ पनि समीक्षा गर्नु जरुरी छ । अनुसन्धानद्वारा नयाँ आविष्कार गर्नसक्ने क्षमता भएकालाई हामी ऋषि भन्छौँ, पश्चिमाहरू रिसर्चर भन्छन् । ऋषि शब्दबाट रिसर्चर भएको हो भन्ने बुझ्न गाह्रो छैन ।

यो क्षमता भएकाहरूलाई कालान्तरमा हाम्रो समाजमा ब्राह्मण भन्न थालियो । तर, कालान्तरमा ब्राह्मण शब्द कुनै जात विशेषका रूपमा प्रयोग हुन थाल्यो । ज्ञान नभए पनि वंशको आधारमा ब्राह्मण भन्न थालियो । जातका आधारमा ब्राह्मण हुनेले मात्रै रिसर्चको ठेक्का लिए तर उनीहरूले सकेनन् । यसपछि विकृति सुरु भएको हो । कलियुगमा यो विकृति आउँछ भनेर शिव पुराणमा लेखिएको छ । शिवपुराण लेखिएको कहिले भन्ने ठीक तिथिमिति प्रस्ट छैन । तर, अब चाँडै कलियुग सुरु हुँदै छ भन्ने अर्थ दिने श्लोकहरूको प्रयोग भएको हुनाले यो पुराण आजभन्दा कम्तीमा पनि ५ हजार १ सय ५० वर्षअघि लेखिएको अनुमान गर्न सकिन्छ । शिव पुराणमा भनिएको छ, ‘कलियुगमा ब्राह्मणहरू वेदलाई बेचेर ज्यान पाल्न थाल्नेछन् ।

पैसा कमाउन नै विद्याको अभ्यास गर्नेछन् र मदले मोहित हुनेछन् । आफ्नो कर्मलाई छाड्नेछन् । प्रायःजसो ब्राह्मण ठग हुनेछन् । बिहान, दिउँसो र साँझ गर्नुपर्ने सन्ध्योपासनाबाट पर भाग्नेछन् । ब्रह्मज्ञान तिनलाई थाहा पनि हुनेछैन । जोसँग जति दया कम हुन्छ त्यही चाहिँ ठूलो पण्डित मानिनेछ । ज्ञानको अभावमा सदाचार र व्रतको रहस्य थाहा नपाउने हुनाले तिनको स्वभाव यिनलाई लोप गराउनेतर्फ केन्द्रित हुनेछ । कलियुगका बाह्मण निष्ठुर स्वभावका हुनेछन् र तिनको भित्री मनसाय कहिल्यै शुद्ध हुनेछैन ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय