अचममको लास !

देहरादुन । छिमेकी मुलुक भारतको हिमाचल प्रदेशस्थित गयू गाउँमा ५५० वर्ष पुरानो संरक्षित शव अर्थात् ममी छ । उक्त गाउँ स्पिति उपत्यकाको चिसो मरुभूमिमा समुद्र सतहभन्दा १ हजार ४९९ मिटर उचाइमा अवस्थित छ । भारत र चीनको सीमामा रहेको सो गाउँ आफ्नो प्राकृतिक सुन्दरताका लागि चर्चित छ । अझ सो गाउँमा रहेको साढे ५ सय वर्ष पुरानो शव हेर्नका लागि संसारभरका मानिसहरु आउने गरेका छन् ।

स्पिति घाटीको प्राचीन ताबो गुम्बाभन्दा करीब ५० किलोमिटर टाढा भारत–चीन सीमामा रहेको गयू गाउँ वर्षमा ६ देखि ८ महिनासम्म हिउँले ढाकिने हुनाले बाह्य संसारबाट सम्बन्ध टुट्दछ । सो गाउँका मानिसहरुमा उक्त सयौँ वर्ष पुरानो लासप्रति अगाध आस्था र सम्मान छ । मानिसहरु उक्त ममीलाई जिवित भगवान मानेर पूजा गर्दछन् । उक्त लास तिब्बतबाट गयूँ गाउँमा आएर तपस्या गरेका बौद्ध भिक्षु सांग्झा तेन्जिङको भएको जनविश्वास छ ।

ती भिक्षु साधनामा लीन भएकै बेला प्राणत्याग गरेका थिए, जतिबेला उनी ४५ वर्षका थिए । यो दुनियाँको एकमात्र ममी हो, जुन बसेको अवस्थामा छ । उक्त लासको वैज्ञानिक अनुसन्धानका क्रममा यसको उमेर साढे ५ सय वर्ष भएको पुष्टि भएको छ । मृत शरीरलाई ममी बनाउनका लागि लासमा एक विशेष खालको लेप लगाइन्छ । तर यो ममीमा भने कुनै पनि लेप लगाइएको छैन र पनि साढे ५ शताब्दीसम्म सुरक्षित रहेको छ । यो एउटा रहस्य तथा चमत्कारको विषय बनेको छ । अझ सबैलाई अचम्ममा पार्ने कुरा त यो ममीका कपाल र नङ अहिले पनि बढिरहेका छन् । स्थानीय बासिन्दाहरु यसको कपाल र नङ जीवित मानिसमा जस्तै निरन्तर बढिरहने दाबी गर्दछन् ।

प्रतिक्रिया