जनगणनामा ‘प्रकृति’ धर्म लेख्दै चेपाङ समुदाय

मुग्लिन । चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् । परापूर्व कालदेखि नै प्रकृतिलाई भगवान्को रूपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् । आदीवासी जनजातीमा सूचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा धर्म, संस्कृति, परम्परा रहेकाले जनगणनामा धर्मका ठाउँमा प्रकृति उल्लेख गर्ने नेपाल चेपाङ संघका केन्द्रीय महासचिव आइतसिं चेपाङले बताए । उनले भने, ‘हाम्रो आफ्नै धर्म छ, त्यो प्रकृति हो, हामी मानव निर्मित मन्दिरमा पूजा गर्दैनौँ, प्रकृतिमा आफैं उत्पत्ति भएका ढुंगा, ठूलो वृक्ष, पहाड, खोला र माटोलाई पुज्ने गर्छौं, त्यसैले हाम्रो धर्म प्रकृति हो, राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति र भाषामा चेपाङ लेख्नेछौँ ।’

नेपाल चेपाङ संघको अगुवाइमा चेपाङ समुदायलाई आफ्नो भाषा, धर्म, संस्कृतिबारे जानकारी गराउन टोलटोलमा कार्यक्रमसमेत सञ्चालन गर्दै आएको उनले बताए । संघ वागमती प्रदेशका सचिवसमेत रहेका चितवनका लक्ष्मण चेपाङले पनि धर्ममा प्रकृति उल्लेख गर्न अभियान नै सञ्चालन गरिएको जानकारी दिए । पछिल्लो समय आफ्नो भाषा, धर्म, संस्कृति लोप हुने स्थितिमा पुगेपछि संगठित रूपमा नै नेपाल चेपाङ संघले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । नेपालको २६ जिल्लामा बसोवास गर्ने चेपाङ समुदायको संख्या राष्ट्रिय जनगणना २०६८ अनुसार ६८ हजार ३ सय ९९ रहेको छ ।

प्रतिक्रिया