देउवा सरकार इतिहासकै असफल : कृष्णभक्त पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको जिकिर गरेका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सांसद पोखरेलले नेपालको इतिहासमै नदेखेको असफल सरकार भएको टिप्पणी गरे । अहिलेसम्म ‘बजेट होलिडे’ नभएको स्मरण गराउँदै उनले दुई महिनामा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने देउवा नेतृत्वको सरकार नेपालको इतिहासकै असफल सरकार भएको बताए ।

उनले संविधान संशोधन गर्ने कुरा दलित, महिलाहरूको अधिकारका लागि भन्दा पनि आफ्नो सहभागिता सुनिश्चित गर्नेतर्फ केन्द्रित भएको उनको भनाइ छ । नेपालको संविधान विश्वमै सबैभन्दा राम्रो रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संसद् चले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको राजनीति सकिने भएकोले संसद् चल्न नदिइएको आरोप लगाए । उनले अबको केही दिनमै ‘होलिडे’ खुलेर बजेट पारित हुने पनि बताए ।

सरकार असफल नभएको भन्दै उनले प्रधानमन्त्री देउवाले ओलीलाई हटाएर राम्रो काम गरेको बताए । नेपालको हित हुने गरी एमसीसी पारित गरिने भन्दै उनले एमसीसीलाई संसद्मा ल्याइन नहुनेमा पनि जोड दिए । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले अहिलेको राजनीतिक अस्थिरता केपी शर्मा ओलीका कारण आएको बताए । उनले तत्कालीन प्रधानमन्त्री ओलीले संविधान मिच्ने र संसद् विघटन गर्नेजस्ता देश र जनताको लागि अहित काम गरेको भन्दै अहिलेको सरकारले त्यसलाई निश्चित गन्तव्यमा ल्याउने काम गरिरहेको बताए ।

उनले दुई महिनामै देउवा नेतृत्वको सरकारको मूल्यांकन गर्न नहुने भन्दै गठबन्धनमा आबद्ध दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको स्वीकार गरे ।

नेता प्रधानले सरकारले केही दिनमै पूर्णता पाउने दाबी गर्दै अहिलेको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताए । सरकारले पूर्णता पाएपछि द्रुत गतिमा काम हुने र अहिले कोभिड–१९ को उपचारमा सरकार केन्द्रित रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया