पोस्टरलाई बलि

मुम्बई । भारतीय अभिनेता रजनीकान्तका प्रशंसकले उनको हालै सार्वजनिक चलचित्रको पोस्टरमा बलि दिएका छन् । संसारमा उनी मात्रै यस्ता कलाकार होलान् जसका प्रशंसकले उनका लागि हदसम्म जान सक्छन् । रजनीकान्तका चलचित्र प्रदर्शन भएका बेला कम्पनीले बिदा दिने त सामान्य प्रचलन नै छ । साथै प्रशंसकले ठाउँ ठाउँमा उनको सालिकसमेत बनाएका छन् ।

तर, हालै रजनीकान्त हैन उनको पोस्टरलाई पूजा गरेका छन् । सामाजिक सञ्जालमा बुधबार एउटा भिडियो भाइरल बन्यो । जसमा उनका एक जना प्रशंसकले बोको काटेर रगत पोस्टरमा छापे । केही दिनअघि मात्र रजनीकान्तको नयाँ चलचित्र ‘अनाथे’ को पोस्टर सार्वजनिक भएको थियो । प्रशंसकले यही पोस्टरमा बोको काटेर बलि दिएका हुन् ।

यसैबीच बलि दिने उनको यो कार्यको भने निकै आलोचना भएको छ । रजनीकान्तलाई माया गर्न निर्दोष जनावरको ज्यान लिएको भन्दै तिनको आलोचना गरिएको हो । अझ रजनीकान्तको प्रशंकसको संगठन प्रमुखले प्रशंसकको नाममा यस्ता आचरणको निन्दा गर्न र यस्ता काम नगर्न आग्रहसमेत गरेका छन् । संगठन प्रमुख भिएम सुधाकरले भने, ‘यो काम निन्दा योग्य छ । हामी कसैलाई पनि यस्ता गतिविधि नगर्न आग्रह गर्छौं ।’ ‘अनाथे’ यसै वर्षको तिहारमा प्रदर्शनमा आउँदै छ । यस चलचित्रमा अभिनेता रजनीकान्तसँगै अभिनेत्री नयनतारा, कीर्ति सुरेश लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया