कृषि विकासको संस्थागत इतिहास

टेकप्रसाद बास्तोला

‘बिउ अनुसारको बालो’ भन्ने नेपाली उखानै छ त्यहीअनुसार धेरै बाली उब्जाउन राम्रो बिउको छनौट गर्थे । बिउ खानु भनेको जिउ खानु जस्तै हो भनी बिउ छुट्टाएर मात्र अन्य अनाज खान्थे । राम्रोसँग फलेर परिपक्क भइसकेका बालाहरू बल्याई संकलन गर्ने र तीबाट पनि पुष्ट दानाहरूलाई मात्र बिउका लागि राख्थे । बिउ किराबाट जोगाई लामो समयसम्म भण्डारण गर्नका लागि माटाका घैटामा बिउ राखी खुर्सानीको धुलो, खरानी, निमको पात, तितेपाती साथै टिमुर राख्थे र बिर्को बन्द गर्दथे ।

प्रथम विश्व युद्धले थिलथिलो पारेको विश्व साथै त्यसबेला नेपालमा पारेको असरले कृषि क्षेत्रको संस्थागत विकासको प्रयास सुुरु भएको पाइन्छ । त्यो असरको दलदलबाट माथि उक्सन राणा प्रधानमन्त्री चन्द्रशमशेरले कृषि विकासको संभावना देखे । उनले १९७८ सालमा चारखालमा पहिलो कृषिसम्बन्धि काम गर्ने कृषि अड्डाको स्थापना गरे । चन्द्र शमशेरकै पालामा सप्तरी जिल्लाको उत्तर–पश्चिम फत्तेपुरस्थित त्रियुगा नदीमा चन्द्र नहर निर्माण गरिएको थियो । यो नहर नेपालकै पहिलो आधुनिक नहर हो । यसको निर्माण कार्य वि.सं १९७९ मा सुरु भई १९८५ मा कार्य सम्पन्न भएको थियो । उन्नत अन्नपात, फलफूल, उन्नत दूधालु जातका गाई भैसी, धेरै फुल पार्ने पानी हाँस साथै कुखुराहरू सर्वसाधारणको पहुँचमा पु¥याउन १९८२ सालमा सिंहदरबार परिसरमा कृषि प्रदर्शन फार्म खुल्यो । यसै वर्षबाट कृषि अड्डालाई कृषि विभागमा परिवर्तन गरियो । सिंहदरबार परिसरमा स्थापित फार्मद्वारा कृषिका अन्नपात, सागसब्जीका बिउवीजन निकाली परीक्षण गरी कृषकहरूलाई वितरण गर्ने प्रबन्ध मिलाएको थियो । अहिले पनि हाम्रो गाउँघरमा स्थानीय रूपमा पाइने लेकाली मुडुला गहुँ, बासमती धान, कैला भटमास, ग्याठकोबी, बन्दाकोबी, गाजर, चुकुन्दर, बेलायती मटर, ठुला गोलभेँडा इत्यादी यही फार्मका देन हुन भनिन्छ ।

चन्द्र शमशेरका पालामा युवाहरूलाई कृषि पढ्न विदेश पठाउने र तिनीहरूलाई नेपालमा काममा लगाउने जस्ता काम पनि भए । कृषि क्षेत्रमा लगानी गर्ने तेजारथ अड्डाको स्थापना गरी कृषकहरूलाई ऋण लगानी गर्ने काम पनि त्यति बेला भएको थियो । चन्द्र शमशेर राणाकै पालामा मधेसको अन्न काठमाडांै ल्याउन रक्सौलबाट अमलेखगञ्जसम्म रेल्वे, अमलेखगञ्जबाट भीमफेदीसम्म मोटरबाटो, भीमफेदीदेखि मातातीर्थसम्म रोप–वे र मातातीर्थदेखि मोटर ट्रेलवे निर्माण गरी सञ्चालन भएको थियो । कृषि बस्तु निकासी तथा पैठारी गर्न पनि बजार अड्डाको स्थापना यसै समयमा भएको थियो । दासप्रथा, सतिप्रथा जस्ता नेपाली समाजमा वर्षौंदेखि चलिआएका कुप्रथाको पनी अन्त्य चन्द्र शमशेरले गरेका थिय । चन्द्र शमशेरको मृत्यु १९८६ मंसिर ११ गते भयो उनको मृत्युले नेपाली कृषिमा ठूलो क्षति भयो ।

चन्द्र शमशेरको मृत्यु पश्चात लामो समय कृषिको विकासले खासै गति लिन सकेन । पछि कृषिको समग्र विकास गर्ने उद्देश्यले १९९४ सालमा कृषि परिषद्को गठन भयो । परिषद्बाट कृषि विकासका लागि कृषि फार्महरू खोल्ने, सर्भेक्षण कार्यहरू गर्ने जस्ता कार्यहरू भए छाउनी बालाजु र गोदावरीमा फलपूmल नर्सरी स्थापना भयो । १९९७ सालमा तहाचलमा परीक्षणको रूपमा केही तरकारी बिउ उत्पादन गरी जुद्ध सडकस्थित वीज भण्डारबाट बिक्री सुरु गरियो । १९९८ सालमा त्रिपुरेश्वरमा भेटेरिनरी अस्पतालको स्थापना भयो । त्यसै वर्ष नहर शाखाको समेत स्थापना भयो । २००० सालमा मकवानपुरको चित्लाङ र नुवाकोटको ककनीमा भेडा फार्महरू खुले । २००४ सालमा परवानीपुर सेन्ट्रल एक्सपेरिमेन्टल एन्ड रिसर्च फार्म खडा गरी कृषि अनुसन्धानलाई जोड दिन थालियो । यसै वर्षदेखि भारतको मोतिहारी जिल्लाबाट विभिन्न जातका पाँच हजार माछाका भुरा ल्याई सानो टुँडिखेलको पोखरीमा माछा पालनको सुरुआत गरियो यसैलाई नेपालमा आधुनिक मत्स्यपालनको सुरुआत भन्ने गरिन्छ, मोहनशमशेरका पालामा गरिएको सो कार्यका लागि तीन सय रुपैयाँ निकासा भएको थियो भनिन्छ । यसरी १ सय ३ वर्षे राणाकालमा कृषि विकासको संस्थागत प्रयास भएको पाइन्छ ।

राज्य तहबाट कृषिको विकासमा जे जस्तो प्रयास भएता पनि नेपाली किसानको कृषि उत्पादनशैली अवैज्ञानिक थियो भन्न कदापि मिल्दैन, धेरै पहिलादेखि नै किसानहरूले आफ्नो बलबुताले भ्याएसम्म मौलिक तरिकाले खेतीपातीको काम गरेका थिए । पहाडका पाखाहरू ढुंगाका पर्खाल खडा गरी सम्याई तथा अजंगका पहाडहरू फोरी कुलो निकाली खेती गर्ने गर्थे । ‘बिउ अनुसारको बालो’ भन्ने नेपाली उखानै छ त्यहीअनुसार धेरै बाली उब्जाउन राम्रो बिउको छनौट गर्थे । बिउ खानु भनेको जिउ खानु जस्तै हो भनी बिउ छुट्टाएर मात्र अन्य अनाज खान्थे । राम्रोसँग फलेर परिपक्क भइसकेका बालाहरू बल्याई संकलन गर्ने र तीबाट पनि पुष्ट दानाहरूलाई मात्र बिउका लागि राख्थे । बिउ किराबाट जोगाई लामो समयसम्म भण्डारण गर्नका लागि माटाका घैटामा बिउ राखी खुर्सानीको धुलो, खरानी, निमको पात, तितेपाती साथै टिमुर राख्थे र बिर्को बन्द गर्दथे ।

पहाडी क्षेत्रमा वर्षाद्को पानी तथा भेलबाट हुने भू–क्षय रोक्न तथा भू–स्खलनबाट जमिन जोगाउन कान्ला तथा बारिका डिलमा खर, वास, अम्रिसो साथै विभिन्न खाले डाले घाँसका बिरुवाहहरू रोप्थे तथा जैविक छेकेवारको निर्माण गर्दथे । मकै बारीमा उर्वराशक्ती कायम गर्न मकै बालीपछि मास, मस्याङको बाली लगाउनु पर्दछ भन्ने तथा धान लगाएको खेतको आलीमा भटमास लगाउनुपर्दछ भन्ने विषयको ज्ञान नेपाली किसानहरूले धेरे वर्ष अगाडिदेखि पाई प्रयोगमा ल्याएका थिए । किसानहरूले धेरै वर्ष अगाडिदेखि कृषि उपजहरूको प्रशोधनसम्बन्धी प्रविधि तथा उपकरणहरू उत्पादन साथै ढुवानीसँगसम्बन्धी विभिध तेल पेल्ने कोल, उखु पेल्ने कोल, चुक अमिलो बनाउने कोल, ढिकी, जाँतो, ओखल, पानी घट्टहरू, कुटो, कोदालो, हँसिया, खुकुरी, डोकाडाला, थुन्से, भकारी आदि प्रयोग तथा अनेक प्रविधिहरूको विकास त त्यसबेला त भएको थियो जो आजसम्म पनि नेपाली समाजमा विद्यमान छ । समयअनुसार परिवर्तन हुन नसक्दा तथा आजको २१औँ शताब्दीमा भूगोल सुहाउँदो अनुसन्धानमा आधारित विकास गरी किसानसम्म पु¥याउन वर्षौंदेखि राज्य तह चुक्दा आजसम्म नेपाल कृषि इतिहासबाट सन्तोषजनक रूपमा माथि उठ्न नसकिरहेको अवस्था छ ।

प्रतिक्रिया