बढदो साइबर अपराध : जोखिममा बालबालिका

काठमाडौं । अनलाइन कक्षा लिने क्रममा इन्टरनेटमा पोर्न भिडियो फेला पारेपछि ६ कक्षामा अध्ययनरत काठमाडौंका १२ वर्षे बालक मोबाइलमा लिप्त हुन थाले । उनलाई पोर्न भिडियो हेर्ने बानी यतिसम्म लाग्यो कि कक्षाका दुई केटी साथीलाई समेत उनले उक्त भिडियो पठाएर मनोरञ्जन लिन सुझाए ।  एक जना साथीले त उनलाई फेसबुकमा ब्लक नै गरिदिइन् भने अर्की साथीले तुरुन्तै ती बालकको आमालाई गुनासो गरिन् । छोराको यस्तो अस्वाभाविक हर्कत थाहा पाएपछि आमाले उनलाई गाली गरेर सम्झाउने प्रयास गरिन् । तर, बालक यतिमै रोकिएनन् ।

बरू उनले ती अश्लील भिडियो अरू तीन जना शिक्षिकाहरूलाई नै पठाए । त्यति मात्रै होइन, उनले पोर्न भिडियोमा देखिएजस्तै हाउभाउ र अंगसमेत देखाएर भिडियो पठाउन शिक्षिकाहरूलाई आग्रह गरे । विद्यार्थीको यस्तो हर्कतले शिक्षिकाहरू मात्रै नभएर समग्र विद्यालय प्रशासन नै स्तब्ध भयो । विद्यालयले बैठक डाकेर बालक र अभिभावकलाई सम्झाइबुझाइ गर्यो । तर पनि बालकले टेरेनन् । त्यसपछि पनि उनले भिडियोहरू पठाउन बन्द गरेनन् । केही सीप नलागेपछि ती बालकलाई विद्यालयले गत सातादेखि अनलाइन कक्षाबाटै ‘सस्पेन्ड’ गरिदिएको छ । हाल ती बालक मनोपरामर्श लिइरहेका छन् ।

स–साना जिज्ञासा मेटाउन इन्टरनेटमा उत्तर खोज्ने डिजिटल पुस्ता पछिल्लो समय जानेर वा नजानेर अस्वस्थ एवम् आपराधिक क्रियाकलापमा संलग्न हुने क्रम बढ्न थालेको मनोविद्हरू बताउँछन् ।  डिजिटल र सामाजिक सञ्जाल प्रयोग गरी अश्लील तस्वीर तथा भिडियो आदानप्रदान, सार्वजनिक गर्ने, धम्क्याउने, बदनाम गर्ने, ह्याक गर्नेजस्ता गतिविधिदेखि अपहरणसम्मको सिकार हुने बालबालिकाहरूको संख्या बढिरहेको प्रहरी अभिलेखले पुष्टि गरेको छ । फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, ट्वीटर, टिकटकजस्ता सामाजिक सञ्जालमा यस्ता गतिविधि बढ्दो देखिन्छ ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन्द अर्याल भन्छन्, ‘विगतको भन्दा लकडाउनको समयमा साइबर अपराधका गतिविधि बढेको देखिन्छ ।’ स्मार्टफोन, ल्यापटपलगायत विभिन्न ग्याजेट र डिजिटल माध्यमको सर्वसुलभतामा हुर्किरहेको पुस्ता पछिल्लो समय आपराधिक गतिविधिमा संलग्न हुने क्रम ह्वात्तै बढेको एसएसपी अर्याल बताउँछन् ।

एक वर्षअघि लकडाउनको समययता प्रत्यक्ष भेटघाट बन्द भएपछि कक्षा ११ मा अध्ययनरत धादिङका दुई किशोरकिशोरीबीच फेसबुक म्यासेन्जरमा यौनजन्य तस्वीर आदानप्रदान हुन थाल्यो । मोबाइलको स्क्रिनमा सीमित उनीहरूका यौनजन्य गतिविधिले त्यतिबेला ठूलो होहल्ला मच्चायो, जति बेला केटाले आफ्नो साथी सर्कलमा ‘लकडाउन बोका ग्रुप’ नाममा फेसबुक ग्रुप बनाएर ती तस्वीर सार्वजनिक गरिदिए । आफ्नो गोप्य तस्वीर एकाएक त्यसरी शेयर भएको थाहा पाएपछि ती किशोरीले हतास हुँदै एक नातेदारसँग सहयोग पनि मागिन् । तस्वीर फैलिइसकेकाले किशोरीले भोलिपल्टै आत्महत्या गरिन् । धादिङ जिल्ला अदालतले ती किशोरलाई दोषी ठहर गर्दै साइबर अपराधको मुद्दाअन्तर्गत बालसुधार गृहमा पठाएको छ ।

पछिल्ला साइबर अपराधका घटनाक्रमले सामाजिक सञ्जालमा बालबालिकाका गतिविधि अस्वस्थ देखाएका छन् । यसले उनीहरूको मनोसामाजिक पक्ष मात्रै नभएर बालबालिका स्वयम्को सुरक्षामाथिसमेत प्रश्न उठाएको छ । गत वर्ष ठीक यस्तै भएको थियो । जब काठमाडौं, अनामनगरकी १३ वर्षीया पूजा (नाम परिवर्तन) लाई फेसबुकमार्फत कुराकानी गरेकै भरमा एक आपराधिक समूहले अपहरण गरी भारत लग्ने प्रयास गरेको थियो ।

म्यासेजकर्ताले आफूसँग कुरा गर्न धम्की दिँदै पूजाको बुबा र अंकलको फोटो प्रयोग गरी पूजालाई यौन शोषण गरेजस्तो दृश्य बनाएर फोटो ‘मोर्फ’ गरेर (एउटाको तस्वीरमा अर्काको टाउको जोडेर) पठाएका थिए । म्यासेजकर्ताले धम्क्याउँदै भने, ‘दुई सातापछि आमाको सुन, गरगहना चोरेर आइज, तँलाई हामी भारत लैजाने हो ।’ म्यासेजकर्ताको यस्तो धम्कीले पूजा डराइन् । तर, बाआमालाई भनिनन् ।

अन्ततः केही दिनपछि घरमा भएको केही सुन लिएर बोलाइएको मिति, स्थान र समयमा पुग्दा अन्दाजी २२÷२३ वर्षका युवक पर्खिरहेका हुन्छन् । बाटोभरि ती युवकले पूजालाई छुन, जिस्क्याउन र चुम्बन गर्ने अनेकौँ प्रयास गर्छन् । अनावश्यक रोइकराइ गरेमा मारिदिने धम्की दिएर पूजालाई शान्त बनाउँछन् । युवकको हातमा मोबाइल देखेपछि एकाएक पूजामा मनोबल भरिएर आउँछ । एकपटक मात्रै आमासँग कुरा गर्छु भनेर अनुनयविनय गरेपछि ती युवकले मोबाइल दिन्छन् । त्यतिञ्जेलमा यता पूजाको परिवारमा खोजखबर सुरु भइसकेको थियो । आमालाई फोन गरेर पूजा रुन्छिन् मात्रै । त्यसपछि डराएका युवकले सिम फुटाउँछन् ।

पूजालाई रातारात नै भारत पु¥याउने गिरोहको योजना त्यतिखेर विफल हुन्छ, जब रातको १० बजे प्रहरी लोकेसन ट्याप गर्न सफल हुन्छ र पूजाको सकुशल उद्धार हुन्छ । गत वर्ष पुसमा हाइ प्रोफाइल परिवारमा भएको सो घटनालाई मध्यनजर गर्दै प्रहरीले भर्चुअल माध्यमबाट बालबालिकालाई धम्क्याउने र अपहरण गर्ने गिरोह नै सक्रिय भएको अनुमान गरेको थियो ।

ह्याकिङकै घटनाक्रम हेर्ने हो भने पनि अधिकांश घटनामा कुनै आईटी विज्ञ नभएर २० वर्षमुनिका बालबालिकाको संलग्नता बढी देखिन्छ । चाहे त्यो कलाकार दीपाश्री निरौलाको फेसबुक होस् या इन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटको ग्राहकको विवरण, चाहे त्यो खाना डेलिभरी गर्ने अनलाइन फुडमान्डू कम्पनी होस् या लोकसेवा आयोगको वेबसाइट, यी सबै ह्याकिङका घटनामा बालबालिका अग्र पंक्तिमा देखिएका छन् ।

गत वर्ष साइबर ब्युरोले कलाकार दीपाश्री निरौलाको फेसबुक ह्याक गरी रकम माग गरेको आरोपमा पर्साको बहादुरमाई नगरपालिका– ५ का १४ वर्षीय बालकलाई र भायोनेट इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब १ लाख ५० हजार ग्राहकको विवरण ह्याक गरेकोमा १७ वर्षीय ‘नरपिचास’ (ह्याकिङ नेम) लाई, फुडमान्डूको साइट ह्याक गरेको आरोपमा नवलपरासीका १९ वर्षीय दिनेश तिवारीलाई र लोकसेवाको साइट ह्याक गरेको आरोपमा १७ र १५ वर्षीय बालकसहित तीन जनालाई ब्युरोले पक्राउ गरेको थियो ।

हालै सिविनले गरेको अध्ययनअनुसार २० प्रतिशत बालबालिका साइबर यौन दुव््र्यवहारको सिकार भएका छन् । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) द्वारा प्रकाशित ‘प्रोटेक्सन अफ चिल्ड्रेन एण्ड योङ पिपल अनलाइन’ सर्वेक्षणअनुसार ७१.४ प्रतिशत बालबालिकाहरू अनलाइन दुव््र्यवहारको जोखिममा रहेको उल्लेख गरिएको छ ।

सो अध्ययनमा १ हजार २ सय २८ जना बालबालिकालाई सहभागी गराइएको थियो । त्यसमा पनि पाँच जनामध्ये एक जना बालिका र दस जनामध्ये एक जना बालक अश्लील साइबर सामगीको सिकार हुने गरेको तथ्यांकले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको तथ्यांकअनुसार पनि पछिल्ला वर्षहरुमा बालबालिकामा साइबर अपराध बढेको देखिन्छ । आर्थिक वर्ष ०७६÷७७ मा १६ बालक र ८८ बालिका साइबर अपराधको निशानामा परेका थिए । एक वर्षमै साइबर अपराधको सिकार हुने बालबालिकाका संख्या  भने दोब्बर पुगेको प्रहरी तथ्यांकमा खुल्छ । आर्थिक वर्ष ०७७÷७८ मा ५६ बालक र १५२ बालिका साइबर अपराधको निशानामा परे ।

साइबर अपराधमा बालबालिकाको संलग्नताले हाम्रा बालबालिकाहरू कसरी हुर्किरहेका छन् भन्ने प्रश्नलाई टड्कारो बनाइदिएको छ । बालबालिकालाई कसरी अनलाइन दुव््र्यवहारबाट सुरक्षित बनाउने भन्नेबारे नेपालमा कुनै नीतिगत प्रावधान नै नभएको गुनासो गर्छन्, चाइल्ड सेफ्ट नेटका अनिल रघुवंशी ।

‘बालबालिकालाई आफ्नो सुरक्षा कसरी गर्ने भन्ने पनि थाहा छैन । कसलाई के कुरा पठाउने÷नपठाउने भन्ने थाहा छैन । त्यसैले आफन्ती भित्रबाटै बालबालिकाहरू असुरक्षित छन्’, उनले भने ।

बालबालिका तथा किशोरकिशोरीमा बढेको अपराधिक गतिविधिहरूलाई लक्षित गरेर सरकारले सामाजिक सञ्जाल र डिजिटल माध्यमबारे बेलैमा अभिभावक, शिक्षक र बालबालिकामा सचेतना फैलाउने कार्य गर्नुपर्ने उनको सुझाव छ । उनीहरूका लागि कुनै सपोर्ट सिस्टम नभएको उनको गुनासो छ ।

प्रतिक्रिया