कोरोनाले बढ्यो आयुर्वेदिक औषधिको माग

गोरखा । जिल्लामा पछिल्लो समय आयुर्वेदिक औषधिको बिक्रीवितरण बढ्न थालेको छ । कोरोना महामारीसँगै आयुर्वेदिक औषधि र औषधिजन्य उत्पादनको प्रयोग गर्ने क्रम बढदै जाँदा यसकोे बिक्री पनि बढ्न थालेको हो । जिल्लामा सञ्चालित पुरानो गोरखा आयुर्वेद कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आव ०७७÷७८ मा झण्डै ६ करोडभन्दा बढी आयुर्वेदिक उत्पादनको बिक्री वितरण गरेको छ ।
महामारीका कारण देशभरका अधिकांश उद्योगधन्दा, पेसा–व्यवसाय प्रभावित भइरहेका बेलामा सो कम्पनी अहिलेसम्मकै धेरै उत्पादन बिक्री गर्न सफल भएको कम्पनीका उत्पादन अधिकृत अर्जुन अर्यालले जानकारी दिए । ‘गत आवमा करिब २१ करोड बराबरको उत्पादन बिक्री भयो’, उनले भने, ‘अघिल्लो आवमा जम्मा १५ करोडको कारोबार कम्पनीले गरेको थियो ।’

कोरोनाका समयमा आयुर्वेद कम्पनीले उत्पादन गरेको विभिन्न प्रकारका औषधि र औषधिजन्य वस्तुको माग बढी भएकाले पनि अघिल्लो वर्षको तुलनामा कारोबार बढी भएको उनको भनाइ छ । कोरोना महामारीसँगै कम्पनीले रोग प्रतिरोधात्मक क्षमता बढाउने विभिन्न औषधि उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले इमुनो केयर सिरप, इमुनो केयर ट्याबलेट, इमुनो केयर किट र इमुनो केयर क्वाथ लगायतका औषधिको उत्पादन गर्दै आएको उनले जानकारी दिए । अहिले ती औषधिको नेपाली बजारमा अत्यधिक माग रहेको कम्पनीले जनाएको छ ।
यसका साथै कम्पनीले उत्पादन गरेको गुडुची चियाको पनि बजारमा अत्यधिक माग छ । तुलसी, लेमन, सिनामन, जिन्जर, पावटी, गोरखा ड्याब टी, मिन्ट र स्लिम चिया कम्पनीले उत्पादन गर्दै आएको उत्पादन अधिकृत अर्यालले जानकारी दिए । त्यसबाहेक पनि अभिपत्तीकर चुर्ण, टेन्सारिन, पिलारीन र च्याबनप्रास र शक्तिप्रास पनि बजारमा माग धेरै रहेको बताइएको छ ।

कम्पनीले उत्पादन गर्दै आएको चियापत्ती, कुरिलो, गुर्जो र त्रिफला युरोपियन देशहरूमा समेत निर्यात गर्दै आएको उनले बताए । ‘विशेषगरी युरोपमा कुरिलो पाउडर, गुर्जो पाउडर र आठै प्रकारको चियापत्ती निर्यात हुने गरेको छ’, अधिकृत अर्यालले भने, ‘कम्पनीले कोरोनाको समयमा पनि आफ्नो उत्पादनलाई जारी राखेका कारण अधिक बिक्री गर्न सफल भएको हो ।’ कम्पनीले अहिले १ सय १० प्रकारका औषधि तथा चिया र शक्तिबद्र्धक सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीको आमती, कान्चनार गुगुल, डिकोरिन, पिलारिन, एमभि लिभ, योग्रास र त्रिफला गुगुलको माग पनि बजारमा अत्यधिक छ । उत्पानका लागि आवश्यक पर्ने ६० प्रतिशतभन्दा बढी कच्चा पदार्थ गोरखा, लमजुङ र तनहुँबाट ल्याउने गरिएको उनको भनाइ छ ।

यसबाहेक आवश्यक अन्य कच्चा पदार्थ झण्डै ३० प्रतिशत कच्चा पदार्थ काठमाडौं, कास्की, विराटनगर, चितवन र मकवानपुरबाट आयात गरिँदै आएको उनले बताए । बाँकी रहेको १० प्रतिशत कच्चा पदार्थ भने भारतबाट आयात गर्दै आएको छ । भारतबाट जेठी मधु, असोका, सिधेनुन, बीरेनुन र जिरा ल्याउने गरिएको कम्पनीले जनाएको छ । सरकारले भारतबाट आयात हुने गुणस्तरहीन त्रिफला र अभिपत्तीकर चुर्णमा मात्र पनि रोक लगाउने हो भने पनि अधिकांश उद्योग नाफामा चल्ने अधिकृत अर्यालले दाबी गरे ।

प्रतिक्रिया