सेप्टेम्बर ११ काे त्याे भयानक हमला

वासिङटन । २० वर्ष पहिले, सेम्पटेम्बर ११, मंगलबारका दिन बिहानको ७ बजेर ५९ मिनेट जाँदा अमेरिकाको बोस्टोनबाट दुईवटा र वाशिङटनबाट उडेका दुईवटा गरि चारैवटा विमान अलकाइदाद्वारा अपहरण गरिएको थियो । यसपछि ८ बजेर ४६ मिनेटमा अपहरणकारीले अमेरिकी एयरलाइनलाई वल्र्ड ट्रेड सेन्टरमा लगेर ठोक्काए । ९ बजेर ३ मिनेट जाँदा युनाइटेड एयरलाइन्स फ्लाइट १७५ वल्र्ड ट्रेड सेन्टरको दक्षिणतर्फको टावरमा दुर्घटनाग्रस्त भयो ।

दोस्रो ठक्करपछि मात्र यो दुर्घटना नभएर जानीजानी योजनाबद्ध हमला रहेको स्पष्ट भयो । त्यसबेला तत्कालीन राष्ट्रपति जर्ज डब्लू बुश फ्लोरिडाको एक प्रारम्भिक विद्यालयमा बालबालिकाहरुलाई किताब पढेर सुनाउँदै थिए । चिफ अफ स्टाफ, एन्ड्रयु कार्डले उनलाई अमेरिकामाथि आतङ्ककारीहरुले हमला गरेको खबर सुनाए ।

यता, ९ बजेर ३७ मिनेट जाँदा अपहरणकारीहरुले अमेरिकी सुरक्षा विभाग, पेन्टागनमा पनि विमान खसाले । त्यसपछि उडान विभागले अमेरिकाभर सबै विमानको उडान रोक्न निर्देशन दियो । ८ बजेर ४५ मिनेट जाँदा ह्वाइटहाउस र अमेरिकी संसद खाली गराइयो ।

(AP Photo/Alexandre Fuchs)

१० बज्नै लाग्दा वल्र्ड ट्रेड सेन्टरको दक्षिणतर्फको टावर पूर्ण भत्कियो । यत्तिकैमा अर्को युनाइटेड एयरलाइन्सको फ्लाइट अपहरणकारी र यात्रुबीचको झडपपछि दक्षिण पेनिसिल्भेनियामा गएर दुर्घटनाग्रस्त भयो । पछि मात्र अलकाइदा समूहले यसको स्पष्टिकरण दिँदै वास्तवमा सो हमला वासिङटन डिसीस्थित संसद भवनलाई लक्षित भएको बतायो । यसपछि १० बजेर २८ मिनेट जाँदा वल्र्ड ट्रेड सेन्टरको उत्तरतर्फको टावर खस्यो ।

वल्र्ड ट्रेड सेन्टर भत्कदा उत्पन्न विषाक्त धुँवाधुलो निलेका कारण हजारौँ मानिसलाई वर्षौँसम्म दीर्घकालीन स्वास्थ्य समस्या भयो । उनीहरुमा स्वास प्रस्वासमा समस्यादेखि क्यान्सरसम्म भयो । त्यसपछि न्युयोर्कका मेयर रुडी गिलानीले म्यानह्याटन नजिकको सबै क्षेत्र खाली गराउन निर्देशन दिए ।

तल्लो म्यानह्याटनमा अमेरिकी सुरक्षाकर्मीले ५ लाख मानिसलाई बाहिर निकाले । यसपछि वल्र्ड ट्रेड सेन्टरमा फसेकाहरुको उद्धारका लागि सयौँ सुरक्षाकर्मी खटाइयो । यसमा न्युयोर्क सिटी दमकल विभागका ३४३ सदस्यहरुको उद्धार गर्ने क्रममै मृत्यु भएको थियो ।
यसरी ५ बजेर २० मिनेट जाँदा वल्र्ड ट्रेड सेन्टर पूर्ण रुपमा ध्वस्त हुन पुग्यो ।

सेप्टेम्बर ११ का दिन भएको सो हमलामा झन्डै ३ हजार मानिसको मृत्यु भयो भने दशौँ हजार घाइते भए । त्यस्तै संरचनामा दश अर्ब बराबरको क्षति पुगेको थियो । रातिको ८ बजेर ३० मिनेटमा मात्र राष्ट्रपति बुशले ह्वाइटहाउसबाट सम्बोधन गर्दै अमेरिकी स्वतन्त्रतामाथि आतङ्ककारीहरुले खतरनाक हमला गरेको बताए ।

यही भयावह दिनपश्चात् अमेरिकाले पछिल्लो दुई दशक सुरक्षा र सैन्य शक्ति विस्तारमा करोडौँ खर्च गरेको हो । यस किसिमको हमला फेरि हुन नदिन अमेरिकी रणनीतिमा एकाएक परिवर्तन ल्याइयो । यसबीच आप्रवासन नीतिलाई नयाँ रुप दिलाइयो जसले नै आजको भेदभाव, जातीयता, घृणात्मक अपराधलगायतलाई बढावा दिएको बताइन्छ ।

यही घटनापछि अमेरिकाले आतङ्कमाथिको लडाईँ भन्दै तालिबानलाई विस्थापित गराउन अफगानिस्तानलाई कब्जा गर्ने निर्णय गर्यो । अफगानिस्तानले अलकाइदाका नेता ओसामा बिन लादेनलाई सुम्पिन सहकार्य नगरेपछि अमेरिकाले अफगानिस्तानलाई नियन्त्रणमा लिएको थियो । बिन लादेनले पहिले यसमा आफ्नो संलग्नता अस्वीकार गरेपनि पछि भने आफू नै जिम्मेवार रहेको बताएका थिए ।


वल्र्ड ट्रेड सेन्टर भत्कदा यसले न्युयोर्कको मात्र नभएर विश्वव्यापी आर्थिक मन्दी निम्त्याएको थियो । सेप्टेम्बर ११ को यो दुर्घटनापछि विश्वभर आतङ्कवाद वरोधी कदम, नीति नियमहरु बलियो पार्ने काम भयो भने खुफिया निकायहरुलाई विस्तार गर्न थालियो ।

वल्र्ड ट्रेड सेन्टरको भग्नावशेश सफा गर्न एक वर्ष लागेको थियो भने २००६ मा पुनःनिर्माण सुरु गरिएको नयाँ भवन २०१४ मा सम्पन्न भएको थियो । अहिलेको नयाँ वल्र्ड ट्रेड सेन्टरमा ९/११ घटना सम्बन्धी संग्राहलय र स्मारक पनि समावेश गरिएको छ ।

प्रतिक्रिया