तिजको बदलिँदो शैली

विश्वभरी छरिएर रहेका नेपाली महिलाहरूलाई यतिबेला तिजको रौनकले छोपेको छ । भाद्रशुक्ल द्वितीयादेखि पञ्चमी तिथिसम्मको चार दिन नेपाली महिलाहरूले परम्परादेखि नै तिज पर्व मनाउँदै आएका छन् । तिज पर्व मनाउने चलन कहिलेदेखि सुरु भयो भन्ने एकीन छैन । भगवान् शिवलाई पति पाउँ भनी पार्वतीले यही तिथिको अवसर पारेर तपस्या गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । विवाहित चेलिबेटीहरू आफ्नो जन्मघर गएर नाचगान तथा रमाइलो गर्ने प्रचलन तिजको मुख्य विशेषता हो । पहिलो दिन द्वितियाको बेलुका मीठामीठा परिकार खाएर मनोरञ्जनात्मक कार्यक्रम गरिन्छ । जसलाई दर खाने भनिन्छ । दोस्रो दिन तृतियामा निराहर व्रत बस्ने प्रचलन छ । जसलाई तिजको मुख्य दिन भनिन्छ । अविवाहिताहरूले योग्य वर पाउन तिजको व्रत बस्दछन् । विवाहिताहरूले पतिको दीर्घायुका लागि यो व्रत बस्दछन् । तेस्रो दिन चतुर्थीमा अघिल्लो दिनको भोक तथा नाचगानको थकान मेट्न आराम गरिन्छ । चौथो दिन पञ्चमी तिथिमा रजोवती भएको बेलामा अञ्जानवस भएको छुवाछुतको दोष कटाउन ऋषिहरूको विशेष पूजा गर्ने चलन छ । तिजको व्रत बस्नेले पानी पनि खान हुँदैनथ्यो । लगातार तीन दिन भोक–भोकै रहनुपर्ने व्रतालुको बाध्यता बुझेर दर खाने परम्परा चलाइयो । दही, दूध र घिउका गरिष्ठ सात्विक भोजनलाई दर भनियो ।

तिज पर्व हिन्दु महिलासँग सम्बन्धित छ, तर नेपालीमूलबाहेक अन्य मूलका हिन्दूहरूले तिजलाई विशेष पर्वका रुपमा मनाइएको पाइँदैन । त्यसैले तिज पर्वलाई नेपालीको मौलिक पर्व मानिन्छ । नेपालमा गैरहिन्दू महिलाले पनि तिज पर्व मनाउँछन् । संस्कार र संस्कृति परिवर्तनशील हुन्छ । जुन बेला कृषि युग थियो, छोरीको विवाह सानै उमेरमा गरिन्थ्यो, यातायात तथा सञ्चारको सुविधा थिएन, त्यो बेला तिज पर्वको ठूलो महत्व थियो । धान र कोदो रोपाइँको काम सकिए पछिको थोरै फुर्सदिलो समयमा चेलीबेटीहरू माइत जान पाउने अवस्था तिज पर्वले जुराउँथ्यो । बिहे भएर विभिन्न ठाउँमा पुगेका छोरी चेलीहरू माइतमा जाने भएकोले भेटघाट गर्ने, सुखदुःख साटासाट गर्ने अवसर प्राप्त हुन्थ्यो । एउटा ठाउँको संस्कार र चालचलन, लोक संस्कृति, अवस्था अर्को ठाउँमा आदानप्रदान माध्यम थियो । त्यही अनुसारका गीतहरू गाइन्थे, त्यही अनुसारका परिकारहरू खाइन्थे, तर आज सामाजिक परिस्थिति बदलिएको छ ।

चेलीबेटी माइत जान तथा माइतीसँग आफ्ना बालसखीसँग भेटघाट तथा कुराकानी गर्न तिज पर्व कुर्नु पर्दैन । सूचना सञ्चार, यातायात लगायतका विकासका पूर्वाधारले धेरै सहज बनाएको छ । त्यसैले तिज पर्व मानउने शैली पनि परिवर्तन भएको छ । तर, परिवर्तनका नाममा तिजको मौलिकता नै हराउने हो कि ? भन्ने चिन्ता भने बढेको छ । पतिका लागि पत्नी निराहर व्रत बस्नुपर्ने तर पतिले भने व्रत बस्नु नपर्ने किन ? उमेर पुगेपछि रजश्वला हुने स्वभाविक प्रक्रियालाई पापका रूपमा लिएर प्रायश्चितका लागि पूजा गर्नुपर्ने किन ? भन्ने प्रश्न आधुनिक कालमा युवाहरूले उठाउँदै आएका छन् । यो चलन महिलामाथि थोपरिएको विभेद पो हो कि ? भन्ने प्रश्नलाई स्वभाविक रूपमा लिनुपर्छ । युग अनुसारको सामाजिक चेतना तथा सामाजिक आवश्यकतालाई सम्बोधन गर्ने शैली पनि फरकफरक हुन्छ भन्ने वास्तविकतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लगिएको भए यस्ता प्रश्न उठ्ने थिएनन् । आफूले रोजेको पुरुषसँग विवाह गर्न पाउनु महिलाको अधिकार हो भन्ने सन्देश तिजले दिएको छ । रजश्वला हुनु भनेको प्रजनन् उमेर पुग्नु हो ।

प्रजनन् उमेर पुगेपछि मात्रै महिला विवाहका लागि योग्य हुन्छन् । फलानो गाउँमा यति जना चेलीहरूको विवाह गर्ने उमेर भयो भन्ने जानकारी दिनका लागि पनि त्यतिबेला कुनै न कुनै सन्दर्भ आवश्यक थियो । त्यसलाई तिजसँग जोडियो । तर अहिले समाजिक सन्दर्भहरू परिवर्तन भएका छन् । समाजका आवश्यकताहरू पनि परिवर्तन भएका छन्, त्यहीअनुसार तिज पर्व मनाउने शैली पनि परिवर्तन भएको छ । समाज सुहाउँदो हुने गरी परिवर्तन हुन नसक्ने संस्कार तथा संस्कृतिहरू आफैँ लोप हुँदै जान्छन् ।

प्रतिक्रिया