सर्लाही । जनता आवास कार्यक्रमअन्तर्गत जिल्ला समन्वय समितिको संयोजकमा नेपाली कांग्रेसका नेता एवं सर्लाही निर्वाचन क्षेत्र नं ४ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद उपेन्द्रप्रसाद कुश्वाहा मनोनीत भएका छन् ।
२ नं प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको १० गते बिहीवारका दिन बसेको मन्त्री स्तरीय बैठकको निर्णय अनुसार नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक समेत रहेका प्रदेश सांसद कुश्वाहालाई जनता आवास कार्यक्रम अन्तर्गत समन्वय समितिको जिल्ला संयोजकमा मनोनित गरेको थियो ।
यस विषयमा प्रतिक्रियाका लागि सांसद कुश्वाहालाई प्रत्यक्ष फोन सम्पर्क गर्दा उनले भने, ‘आफू जनता आवास कार्यक्रमको जिल्ला संयोजकमा मनोनीत भएको खबर जानकारी प्राप्त हुन आएको हो, तर काम विषेशले सोही दिन काठमाडौं हिडेका थियौँ ।’
हालसम्म नियुक्त पत्र र कार्यविधि समेत प्राप्त हुन नसकेको बताउँदै सांसद कुश्वाहाले गत वर्ष जिल्लामा जनता आवास कार्यक्रम अन्तर्गत भएको कार्यमा आफ्नो चित नबुझेको उनले बताए ।
उनले भने, जनता आवास कार्यक्रम अन्तर्गत कार्यविधिमा लाभग्राही हुनेहरुमा मुसहर, डोम, हलखोर लगायतका दलित समुदाय भएपनि उक्त कार्यविधिमा विपन्न परिवार र एकल महिला पनि समेटिनु पर्नेमा जोड बलका साथ आफु पहल गर्ने सांसद कुश्वाहाले जानकारी गराएका छन् ।
कार्यविधिलाई तत्काल संशोधन गर्ने र जनता आवास कार्यक्रमको दायरालाई अझै फराकिलो बनाउने आफ्नो लक्ष्य रहेको सांसद कुश्वाहाले बताए ।
जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि लाभग्राही छान्ने र कार्यक्रम सहज तथा सरल रुपमा सम्पन्न गर्न सहजीकरण गर्ने लगायतका भूमिकामा आफू पारदर्शी रुपले काम गर्ने कुश्वाहाले बताए ।
नियुक्ति पत्र र कार्यविधी प्राप्त भएपछि जनता आवास कार्यक्रमलाई अझै फराकिलो बनाएर कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारे बृहत छलफल तथा बैठक पश्चात् यसबारे विस्तृत रुपमा मिडियालाई जानकारी गराउने सांसद कुश्वाहाले बताए ।
प्रतिक्रिया