मेलम्ची खानेपानी फेरि अनिश्चित

काठमाडौं । दुई दशकको प्रयासपछि काठमाडौं उपत्यकामा आएको मेलम्ची खानेपानी फेरि अनिश्चित बनेको छ । गत १५ चैतदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेकोमा बाढीका कारण पुन अनिश्चित बन्न पुगेको हो । मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण समेत गरिए पनि असार पहिलो सातादेखि निरन्तर रुपमा मेलम्ची खोलामा आएको बाढीले खानेपानी आयोजनाको भौतिक संरचनामा क्षति पुर्याएसँगै मेलम्ची आयोजना अनिश्चिन बनेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले असार पहिलो साता र साउन दोस्रो तेस्रो मेलम्चीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पु¥याएको जनाएको थियो । मन्त्रालयले भौतिक संरचनामा पुगेको क्षतिका कारण अब उक्त संरचना निर्माणका लागि कति समय लाग्ने भन्ने समेत सार्वजनिक गर्न सकेको छैन ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले अहिले पनि बाढी पहिरो आउने क्रम नरोकिएकाले तत्काल नै काम थाल्न सकिने अवस्था नरहेको बताएका छन । वर्षा सकिएपछि पुस माघबाट काम थाल्न सकिएमा त्यसको तीन महिनासम्ममा पुनः काठमाडौं उपत्यकामा पानी ल्याउन सकिनेमा आयोजना आशाबादी बनेको छ । मेलम्चीको हेडबक्सभन्दा माथिबाट लेदोसहितको बाढी आउदा आयोजनाको संरचनामा क्षति पुगेको थियो । मेलम्ची खानेपानी समितिका अनुसार बाढीका कारण आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडबक्स’ बाहेक अरू संरचनामा क्षति पुगेको छ । हेडबक्सलाई हिलोले पुरेको आयोजनाले जनाएको छ । वर्षा लागेसँगै लगातार रुपमा आइरहेको लेदो सहितको ठूला साना बाढीका कारण आयोजनाको बाँधस्थल पूर्णरुपमा पुरिएको छ भने पुल, निर्माण उपकरण, निर्माण सामग्री, आयोजनाको क्याम्प बाढीले बगाएको छ । पहिरोका कारण आयोजनाको २१० किलोमिटर डाइभर्सन टनेल र अम्बाथानस्थित टनेल अडिट पोर्टमा लेदो भरिएको आयोजनाले जनाएको छ ।

बाढी र पहिरोबाट १ अर्ब भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान आयोजनाले गरेको छ । मेलम्चीको पानी काठमाडौं उपत्यकासम्म ल्याउनका लागि ३५ अर्ब भन्दा बढी खर्च भएको थियो । त्यसमा ३३ प्रतिशत नेपाल सरकार, ४६ प्रतिशत एसियाली विकास बैंक र अन्य दातृ निकायको सहयोग रहेको छ । कुल रकममध्ये १ अर्ब १२ करोड मुआब्जाका लागि वितरण गरिएको थियो । यसअघि, १५ चैत २०७७ बाट मेलम्चीको पानी वितरण सुरु गरिएकोमा चैत तेस्रो साताबाट औपचारिक रुपमा वितरण सुरु गरिएको थियो । सुरूङ, सुन्दरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा विछ्याइएको थोक वितरण पाइपलाइनहरूको सफल परीक्षणपछि मेलम्चीको पानी काठमाडौंबासीका धारासम्म पुर्याइएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण कार्यक्रमको उदघाटन गरेकी थिइन् ।

गत २२ फागुन २०७७ मा मेलम्चीबाट सुरुङमा खसालिएको पानीको परीक्षण गरिएको थियो । परीक्षणका लागि १० फागुनमा सुरुङमा खसालिएको सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पानी २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको थियो । उक्त पानी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको थियो । पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईले विक्रम संवत् २०५१ को मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने वाचा गरेपछि यसको परिकल्पना अघि बढेको थियो । मेलम्ची आयोजनाको सुरु विस २०५८/५९ मा नै भएको थियो । आयोजना सुरु गर्दा विसं २०६४÷६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

प्रतिक्रिया