संक्रमणरहित हवाई उडानको प्रतिबद्धता

काठमाडौं । आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि संक्रमणरहित हवाई उडानको प्रतिबद्धता जनाएका छन् ।

नेपाल वायुसेवा सञ्चालक संघले आज विज्ञप्ति जारी गर्दै संक्रमणरहित उडानको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कोभिड–१० सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य तथा हातेमालोका लागि निरन्तर तयार रहेको जनाएको छ ।

वायुसेवा कम्पनीले स्वास्थ्य मन्त्रालय र नियामक प्राधिकरणले सुझाएको निर्देशिका अनुरुप पूर्ण सावधानीका साथ हवाई सेवा सञ्चालन गरिरहेको संघको भनाइ छ । संक्रमणलाई मध्यनजर गर्दै प्राधिकरण सहज सरल उडानका लागि प्रतिघण्टा आठ वटा उडानको मात्र तालिका सञ्चालन ल्याएको छ ।

त्यसअनुरुप बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म स्लटअनुसार काठमाडौंबाट उडान हुने अवस्था रहेकाले काठमाडौं तथा बाहिरी विमानस्थलमा यात्रुको चाप न्यून देखिएको र विमानस्थलका उच्च अधिकारीबाट हरेक दिन अनुगमन भइरहेको जनाइएको छ ।

विगत केही सातादेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाटोघाटो क्षति पुर्याएको तथा कतिपय डाइभर्सन बगाउनुका साथै पुलमा क्षति पुगेको अहिलेको परिस्थितिमा वायुसेवा कम्पनी सहज भाडा दरमा यात्रु ओसारपसार गरिरहेको विज्ञप्तिमा उल्लेख छ । अहिले दैनिक एक हजार २०० भन्दा बढी यात्रु आवतजावत गरिरहेको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया